१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

वैशाखदेखि नेपालमा युरो ४ मापदण्डको पेट्रोलियम

काठमाडौं– नेपाल आयल निगम(एनओसी)ले अागामी वैशाखदेखि युरो–४ मापदण्डको इन्धन (डिजेल र पेट्रोल) प्रयोगमा ल्याउने भएको छ। इन्डियन आयल कर्पोरेशन (आईओसी)ले आउँदो अप्रिलदेखि युरो–४ मापदण्डको तेल उत्पादन, बिक्री वितरण गर्ने भएपछि नेपालमा त्यसको प्रभावस्वरुप युरो ४ इन्धन अाउने भएको हो।

निगमले नेपालमा बिक्री वितरण गर्ने पेट्रोलिमय पदार्थका लागि भारत सरकार स्वामित्वको अाइओसी एकाधिकार प्राप्त बिक्रेता हो।  ‘सकेसम्म आउँदो अप्रिल महिनादेखि युरो–४ मापदण्डकै तेल बिक्री वितरण गर्ने निगमको योजना छ,’ एनओसीका प्रवक्ता भानुभक्त खनालले भने, ‘आईओसीले नेपाललाई त्यही मापदण्डको तेल पठाउने बताएको छ।’

युरो–४ मापदण्डको तेलमा युरो–३ मापदण्डको तेलमा भन्दा सल्फरको मात्रा कम हुने र त्यसले वातावरणलाई वायु मण्डललाई स्वच्छ राख्न थप मद्दत मिल्ने निगमको विश्वास छ। कार्वन उत्सर्जनका हिसाबले उत्पादित तेलको गुणस्तरलाई युरोपेली उत्सर्जन मापदण्ड(युरोपियन इमिशन स्ट्याण्डर्ड)अनुसार वर्गीकरण गरिएको हो। युरो–१ देखि युरो–६ मापदण्डसम्मको तेल विश्वमा उत्पादन र प्रयोग हुँदै आएको छ।   

केही वर्षअघि युरो–२ मापदण्डको तेल छोडेर युरो–३ मापदण्डको तेल बिक्री वितरण गरिरहेको एनओसीले अब आईओसीले उत्पादन गरी पढाउने युरो–४ मापदण्डको तेल बिक्री वितरण गर्न लागेको हो।

भारतले भने सन् २०१६ को अप्रिलदेखि नै उत्तर भारतका जम्मू–कस्मीर, हिमाचल प्रदेश, पञ्जाब, हरियाणा, दिल्ली, कोलकाता, गोवालगायत मुख्य शहरहरुमा युरो–४ मापदण्डको तेल प्रयोगमा ल्याइसकेको छ। र, भारत अब युरो–५ मापदण्डमा नगई सन् २०२० देखि एकैचोटी युरो–६ मापदण्डमा जाने तयारीमा रहेको त्यहाँका प्रट्रोलियम मन्त्री धर्मेन्द्र प्रधानले घोषणा गरेका छन्। युरो–५ मापदण्डभन्दा केही मात्रामा मात्र सल्फरको मात्रा कम हुने भएकोले भारत युरो–४ बाट एकैचोटी युरो–६ मा जाने उनको घोषणा छ।

सल्फरको मात्राको हिसाबले हेर्ने हो भने युरो–४ मापदण्डको तेलमा ५० पार्टस् पर मिलियन(पीपीएम) सल्फर हुन्छ । तर, युरो–६ मापदण्डको तेलमा १० पीपीएम सल्फर रहन्छ। कार्वन उत्सर्जनको मात्रा घटाई वायु प्रदुषण कम गर्न युरो–४ मापदण्डको तेल हाल नेपालमा बिक्री वितरण गर्न लागिएको हो।

युरो मापदण्ड उकास्न भारतका रिफाइनरी उद्योगहरुले थप पूँजी लगानी गर्नुपर्ने हुँदा युरो–४ तेलको मूल्य वृद्धि हुने निश्चित छ। तर, नगन्य दरमा मात्रै मूल्य वृद्धि हुने एनओसीका प्रवक्ता खनाल बताउँछन्।

‘हालको तेलको तुलनामा प्रतिलिटर १० देखि २५ पैसासम्म युरो–४ मापदण्डको तेलको मूल्य बढ्ला,’ उनले भने, ‘तर, आईओसीले नपठाई केही भन्न सकिने अवस्था छैन।’

उनका अनुसार पुराना इन्जिनका गाडीहरु विस्थापित हुँदै हाल सञ्चालनमा रहेका सबैजसो गाडीहरु युरो–३ मापदण्डभन्दा माथिकै भएकोले युरो–३ मापदण्डको तेल खपत गरिरहेका गाडीहरुमा सजिलै युरो–४ तेलको प्रयोग गर्न सकिने छ।

युरो–४ मापदण्डको तेल ल्याउन निगमले वर्तमान पूर्वाधारमा खासै परिमार्जन गर्नुपर्ने आवश्यकता छैन । भएकै पूर्वाधारमै पनि युरो–४ तेल आयात, भण्डारण र बिक्री वितरण गर्न सकिने छ।

 

प्रकाशित: १ मंसिर २०७३ ०८:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App