२१ कार्तिक २०८१ बुधबार
image/svg+xml
अर्थ

आर्थिक सुशासन र खर्च प्रभावकारीताको हिसावले मुलुकको अर्थतन्त्र जोखिमपूर्ण छः प्रा.डा.वाग्ले

अर्थविद् तथा प्रा.डा. अच्युत वाग्लेले सरकारले क्षमतावान अर्थमन्त्री बनाएर तत्काल वित्त र मौद्रिक नीति पुनरावलोकन गर्नुपर्ने बताएका छन्।  

अर्थविद् डा. वाग्लेले सरकारले अर्थतन्त्रको वर्तमान समस्या समाधान गर्न अर्थतन्त्र बुझेको क्षमतावान अर्थमन्त्री बनाएर तत्काल सरकारको वर्तमान वित्त र मौद्रिक नीति पुनारावलोकन गर्नुपर्ने बताएका। उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या आगामी वर्षको बजेटमार्फत सम्बोधन गर्नुपर्ने बताए। 

प्रा.डा. वाग्लले मुलुकको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारीताको हिसावले असाध्यै जोखिमपूर्ण अवस्था रहेको बताए। उनले चालु आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको भन्दै यसमा राज्यको खर्च गर्ने क्षमताको गम्भिर प्रश्न उठेको बताए। उनले सरकारले समयमा नै पुँजीगत खर्च बढाउन नसक्दा अर्थतन्त्रमा एकपछि अर्को बहुआयामिक खालका समस्याहरु आइरहेको दाबी गरे। उनले पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण ठप्प, उत्पादकत्वमा कमी जस्ता समस्या विद्यमान रहेको बताए। उनले न्युन आय भएका मानिसहरुको क्रय शक्ति र आय दुवै कम भएको कारण आर्थिक चक्र नै खण्डित हुने अवस्थामा आइपुगेको उल्लेख गरे। उनले लघुवित्तको समस्या नयाँ नभएर पुरानै भएको भन्दै २५ देखि ३० प्रतिशत लागतमा सानो–सानो ऋण प्रवाह गरेर ऋणीलाई थप ऋणीमा ऋण थप्ने भन्दा बाहेक केही नभएको बताए।  

उनले भने,‘ मुलुकको अर्थतन्त्र आर्थिक सुशासन र खर्च प्रभावकारीताको हिसावले असाध्यै जोखिमपूर्ण अवस्था रहेको छ। चालु आर्थिक वर्षको ८ महिना सकिन लाग्दा समेत सरकारको पुँजीगत खर्च २० प्रतिशत मात्रै भएको छ। यसमा राज्यको पुँजीगत खर्च गर्ने क्षमताको गम्भिर प्रश्न हो। बहुआयामिक खालका समस्याहरु आएका छन्। बैंकिङ प्रणालीमा तरलता अभावदेखि विकास निर्माण कम भएर आर्थिक उन्नतिलाई सघाउ नहुने र उत्पादकत्व कम हुने जस्ता समस्या भएको कारण सबै खालका समस्या देखा परेका छन्। उपभोक्ताको क्रय शक्ती कम भएको छ।‘

अर्थविद वाग्लेले लघुवित्तले ऋणीलाई थप ऋणी बनाउने काम गरेको बताए। उनले भने, 'लघुवित्तहरुलाई खारेज गर्नुपर्छ भनेर २०१३ सालमा नै भनेको हो। २५ देखि ३० प्रतिशत लागत पर्ने गरेर १६ प्रतिशत ब्याज लघुवित्तलाई बुझाउनु पर्यो। १५ प्रतिशतका दरमा सानो–सानो ऋण प्रवाह गरेर ऋणीलाई थप ऋणी बनाउने काम बाहेक केही भएको छैन।’

अर्थविद् वाग्लेले बैंक तथा वित्तसंस्थाहरुले प्राथमिक र निर्देशित क्षेत्र कर्जा प्रवाह नगर्दा समस्या आइरहेको बताए। उनले बैंकिङ प्रणालीमा तरलता सहज हुँदा घरजग्गा कारोबारमा बैंकहरुले कर्जा लगाउने गरेको भन्दै नियमन गर्ने निकाय राष्ट्र बैंकको कमजोरी भएको बताए। उनले राष्ट्रिय आर्थिक नीतिको पनि कमजोरी रहेको भन्दै हरेक बजेटमा लाइसेन्स लिएर घर जग्गा कारोबार गर्नुपर्छ भनिन्छ तर अहिलेसम्म त्यो प्रक्रियामा अगाडि बढ्न नसकेको टिप्पणी गरे। उनले राज्य बिहीनताको अवस्था बढ्दै गएको कारण बैंक तथा वित्तीय क्षेत्रमा समस्या अत्याधिक चर्किंदै गएको दाबी गरे। उनले अर्थशास्त्रका बारेमा जानकार, मन्त्रालय चलाउने योग्य र समाजको संरचना कृषि लगायतका समस्या बुझेको मान्छे अर्थमन्त्री भएर नीति बनाए मात्रै समस्याको समाधान हुनसक्ने उल्लेख गरे। 

प्रकाशित: २५ फाल्गुन २०७९ ०७:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App