२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अबको पदयात्रा ‘समूह’ मा मात्रै, एक्लै जान नपाइने

पदयात्रामा रहेका पदयात्री। फाइल तस्बिरः नागरिक

पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकी अध्यक्ष धर्मराज पन्थीले प्रदेशका मुख्यमन्त्री सहित प्रदेश र संघीय सरकारका पर्यटन मन्त्रीसँगको लगातारजसोको भेटमा लिखित रुपमा एउटै माग राख्दै आएका थिए। उनको माग थियो–पदयात्रामा गाइड अनिवार्य गर्नुपर्छ। एकल पदयात्रा रोकिनुपर्छ।

एकल रुपमा पदयात्रामा जाँदा विभिन्न झन्झट र जोखिम हुने भन्दै पन्थीले यो माग जोडतोडका साथ उठाउँदै आएका थिए। टानका अध्यक्षको रुपमा उनले उठान गरेको यो माग पहिलोपटक भने थिएन। झन्डै दशकदेखि पदयात्रा व्यवसायीले यो माग उठाउँदै आएका थिए। पदयात्रामा एक्लै जाँदा बेलाबेला घटना हुने र मानवीय क्षति समेत पुग्ने गरेको भन्दै व्यवसायीले एकल पदयात्रा रोक्नुपर्ने बताउँदै आएका थिए। पदयात्रामा गाइड अनिवार्य गर्नुपर्ने उनीहरुले माग राख्दै आएका थिए। गाइड अनिवार्य गर्दा पदयात्रा कम्पनिमार्फत जानुपर्छ।

व्यवसायीले भने जस्तै साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको लागि भन्दै पर्यटन बोर्डले बिनागाइड विदेशी पर्यटकलाई पदयात्रामा जान रोक लगाएको छ। पर्यटन बोर्डले आगामि अप्रिल १ देखि लागु हुने गरी ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ बन्द गरेको हो। यो व्यवस्थासँगै नेपालमा विदेशी पर्यटकले अब अनिवार्य रुपमा ट्रेकिङ कम्पनीमार्फत गाइड लिएर मात्र पदयात्रामा निस्कनु पर्ने हुन्छ।  

‘एफआईटी बन्द हुनु भनेको विदेशी पर्यटकले अनिवार्य रुपमा गाइड लिएर जानुपर्ने र पदयात्रा कम्पनिमार्फत जानुपर्छ भनिएको हो,’ टान गण्डकीका अध्यक्ष पन्थी भन्छन्, ‘अब एकल पदयात्रा हुँदैन, समूहमा मात्र हुन्छ। त्यो समूह २ जना (एकजना पर्यटक र उनका एकजना गाइड) को पनि हुनसक्छ।’ व्यावसायीले लामो समयदेखि यो माग राख्दै आएको भएपनि बल्ल मात्र व्यवस्था गरिएको उनले बताए। कम्तिमा पर्यटकको पदयात्रा सुरक्षित हुनुपर्छ भन्ने व्यवसायीको भनाई रही आएको उनले बताए।

पन्थीका अनुसार एकल रुपमा पदयात्रामा जाँदा पर्यटकले बेलाबेला समस्या भोग्ने गरेका थिए। कहिलेकाँही त पर्यटकले ज्यानै पनि गुमाउने गरेका थिए। ‘एक्लै पदयात्रामा हिड्नु भनेको जोखिम मोल्नु हो। कुनैपनि बेला समस्या थपिन आउन सक्छ, त्यसैले यो व्यवस्थाले पदयात्रालाई व्यवस्थित बनाउने अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘पदयात्रा सुरक्षित बनाउनुपर्छ भन्ने हाम्रो पहिल्यै देखिको माग हो।’

बोर्डका अनुसार नेपालमा कोभिड–१९ संक्रमण सुरु हुन भन्दा अगाडि सन् २०१९ मा ४६ हजार १४२ जना पर्यटक ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’ आएको तथ्यांक छ। पन्थीका अनुसार जति संख्यामा एफआईटी भित्रिन्छन, त्यत्तिनै संख्यामा रोजगारी सिर्जना हुन्छ। ‘कोभिड संक्रमण अघिकै आकारमा पर्यटक भित्रिने हो र मिलिजुली तरिकाले पदयात्रामा जाँँदा पनि कम्तिमा वर्षमा २२–२३ हजार नयाँ रोजगारी सिर्जना हुन्छ,’ उनले भने, ‘रोजगारी सिर्जना हुनु भनेको आर्थिक गतिविधि बढ्नु हो।’  

व्यवसायीका अनुसार एफआइटीको यो व्यवस्था अनुसार पदयात्रामा जाँदा जति पदयात्री आउँछन, त्यत्ति नै संख्यामा रोजगारी सिर्जना हुन्छ, तर, कहिलेकाँही चार–पाँचजना पदयात्री मिलेर सामुहिक रुपमा एकजना गाइड लिएर पनि जान सक्छन। त्यही भएर भित्रिएका एफआईटी मध्ये कम्तिमा आधा संख्यामा रोजगारी सिर्जना हुने अनुमान रहेको उनले बताए। ‘एक्लाएक्लै पदयात्रामा जाने हो भने त जति संख्यामा पदयात्री आउँछन, त्यत्ति नै संख्यामा रोजगारी सिर्जना हुन्छ,’ उनले भने, ‘तर, मिलिजुली जान पनि सक्ने हुँदा सतप्रतिशत नहुन सक्छ।’

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पदयात्रा व्यवसायलाई अझ भरपर्दाे र सुरक्षित बनाउन यो व्यवस्थाले सघाउँछ। ‘पदयात्रा सुरक्षित हुनु भनेको नेपालको पर्यटनप्रति अन्तर्राष्ट्रिय बजारमा सकारात्मक सन्देश फैलाउनु पनि हो। बेलाबेलाका घटनाले पदयात्राको सुरक्षा प्रणालिप्रति प्रश्न उठ्ने गरेको थियो। व्यवसायीले लामो समयदेखि यो व्यवस्थाका लागि माग समेत राख्दै आएका थिए,’ लामिछानेले भने, ‘पदयात्रामा जाँदा पदयात्रीले कम्पनिमार्फत जानुपर्ने र साथमा गाइड अनिवार्य लैजानुपर्ने भनिएको हो। एफआईटीहरु एक्लै पनि पदयात्रामा जाने गरेका थिए। समूहमा समस्या थिएन, एकलमा मात्र समस्या थियो।’

उनका अनुसार बोर्डले नेपाल पर्यटन ऐन २०५३ को दफा ७ र पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) संचालन (पहिलो संशोधन) निर्देशिका, २०६६ को दफा १० ‘क’ बमोजिम यो निर्णय गरेको हो। नेपालको साहसिक गन्तव्यमा गरिने पदयात्रामा पर्यटकको सुरक्षाको सुनिश्चितता गर्न यो व्यवस्था गरेको उनले बताए। उनका अनुसार यसरी जाने पर्यटक तथा गाइड दुवैको बीमा समेत गरिनेछ। ‘एक्लाएक्लै भ्रमणमा जाँदा पदयात्राका क्रममा पर्यटक हराउने, असुरक्षित हुने जस्ता समस्या आउने गरेको थियो,’ उनले भने।

पर्यटन बोर्ड तथा पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड बिक्रीको अनुमति पाएका निकायबाट टिम्स कार्ड लिएर पदयात्री एक्लाएक्लै पदयात्रामा जाने गरेका थिए। बोर्डका अनुसार नेपालमा पदयात्रा गर्न आउने पर्यटक मध्ये ३० प्रतिशत एफआइटी हुने गरेको अनुमान छ। नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार बढी पर्यटक ‘फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएको र अबदेखि बोर्डले एफआईटीका लागि जारी हुने टिम्स कार्ड बन्द गरेसँगै सबै पर्यटकलाई एकै प्रकारको टिम्सकार्ड वितरण गर्ने समेत लामिछानेले बताए।  

‘एक्लै जाँदा त बेलाबेला हराउने घटना हुने र त्यसपछि उद्धारमा पनि समस्या निम्तने गरेको थियो,’ उनले भने, ‘पदयात्रालाई सुरक्षित बनाउनका लागि यो कदम चालिएको हो। यसले नेपालको पर्यटन क्षेत्रप्रति अन्तर्राष्ट्रिय पाहुनाको विश्वास जगाउँछ।’ अब पदयात्रामा जाँदा जो सुकै पर्यटकले कुनैपनि पदयात्रा कम्पनि मार्फत नेपाल भित्रिएपछि गाइड लिएर मात्र पदयात्रामा जानुपर्ने उनले बताए।  

टिम्सकार्डको मुल्य बढ्यो

एफआईटी बन्द हुने भएपछि अब बोर्डले सबै पर्यटकका लागि एकैखालको टिम्सकार्ड जारी गर्नेछ। यसअघि समूह (गाइडसहित) मा भ्रमणमा जानेले प्रतिव्यक्ति १ हजार रुपैयाँ र एकल भ्रमणमा जानेले प्रतिव्यक्ति २ हजार रुपैयाँ तिरेर टिम्सकार्ड पाउने गरेका थिए। तर अबभने सबैखाले पर्यटकका लागि टिम्स कार्डको मूल्य प्रतिव्यक्ति २ हजार रुपैयाँ लाग्ने गरि मुल्य बढाइएको छ।  

सार्क देशका नागरिकको हकमा यसअघि २ सय रुपैयाँ लाग्ने गरेकोमा अब भने १ हजार रुपैयाँ लाग्ने निर्देशक लामिछानेले जानकारी दिए। कोरोना भाइरस संक्रमण सुरु हुनअघि नेपालमा झन्डै ३ लाख पदयात्री आएको सरकारी अनुमान छ। त्यसमध्ये एकलाख ८० हजार अन्नपूर्ण, झन्डै ६० हजार एभरेष्ट र बाँकी अन्य रुटको पदयात्रामा गएको सरकारी अनुमान छ।  

प्रकाशित: २३ फाल्गुन २०७९ ०९:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App