प्रधानमन्त्री पुष्पकमल दाहालले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरताका साथ लिएको र त्यसलाई समाधान गर्ने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धी बैठकमा प्रधानमन्त्री प्रचण्डले बैंक तथा वित्तीय संस्थाको ब्याज, लघुवित्तका समस्या, व्यवसायीको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्तिलगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन्।
प्रधानमन्त्रीले भने, 'बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासा देखिएका छन्। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्। व्यवसायीले विभिन्न ढङ्गले चासो र चिन्ता राखेका छन्। यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोसिस गरिरहेका छन्। यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु।'
मुलुकको अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गर्दै प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषद्को पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको स्मरण गरे।
'आजको छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानमा केन्द्रित भयो। सरकार अर्थतन्त्रका समस्या समाधान गर्न तल्लीन छ', उनले भने, 'बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति म जानकार र सचेत छु।'
उनले वर्तमान समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा निजी क्षेत्रबाट सुझावको अपेक्षा गरेको बताए। 'सरकार समस्या समाधानमा गम्भीर छ, आवश्यक भए यसका लागि उच्चस्तरीय आयोग बनाउन सकिन्छ', उनले भने।
प्रकाशित: २१ फाल्गुन २०७९ ११:०१ आइतबार