नेपालकै पुरानो कारखाना रहेको इलाम चिया उद्योगको उचित संरक्षण र प्रचार हुन सकेको छैन। देशकै ऐतिहासिक र पुरातात्विक सम्पदा रहेको यो उद्योगको इतिहाससमेत नामेट हुँदा संरक्षणमा चिन्ता थपिएको छ।
नेपालमै पहिलोपटक इलाममा १९२० सालमा चिया रोपिएको हो। चियाखेती सुरु भएको १५ वर्षपछि १९३५ सालमा यही चियाबारीभित्र चिया प्रशोधन उद्योग स्थापना भएको इतिहास छ। तर यो ऐतिहासिक तथ्य अहिलेसम्म ओझेलमै छ भने चिया कारखाना संरक्षणका लागि पटक–पटक भएका प्रयास सफल हुन सकेका छैनन्। सामान्यज्ञान र विभिन्न पुस्तकमा समेत विराटनगर जुट मिललाई नेपालको पहिलो उद्योगका रूपमा चिनाइएको भेटिन्छ।
इतिहासकार युद्धप्रसाद वैद्य इलाममा चिया उद्योग स्थापना हुनुअघि देशमा कुनै उद्योग नभएको बताउँछन्। ‘मैले र इलामका विभिन्न निकायले यो इतिहास सच्याउन पटक–पटक प्रयास गरेका छौं तर कसैको कानमा बतास लागेन,’उनी भन्छन्, ‘यो चिया कारखाना नै नेपालको पहिलो उद्योग हो तर इतिहास बंग्याइएको छ।’ देशमा उद्योग दर्ताको प्रचलन सुरु भएपछि चियालाई उद्योगअन्तर्गत नभई कृषि क्षेत्रमा राखिएकाले महत्वपूर्ण इतिहास नामेट भएको उनी बताउँछन्।
तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीनबाट कोसेलीका रूपमा आएको चिया इलाममा रोपिएपछि देशमा चियाखेती सुरु भएको इतिहासमा भेटिन्छ। इतिहासकार वैद्यका अनुसार १९१९ सालमा गजराजसिंह थापा इलामको बडाहाकिमका रूपमा आएको एक वर्षमै चियाखेती सुरु भएको बताउँछन्। यो निकै महत्वपूर्ण इतिहास भए पनि यसलाई आधिकारिकता नदिनुले इलामवासीको भावनामा चोट पुगिरहेको उनको भनाइ छ।
इतिहासकार वैद्यका अनुसार नेपाल–चीन युद्धपछि १८४९ भदौ ६ गते वेत्रावती सन्धिमा हस्ताक्षर भएको थियो। पाँचबुँदे सन्धिको एउटा बुँदामा नेपालले चिनियाँ सम्राटलाई पाँचपाँच वर्षमा उपहारका लागि मिसन पठाउने, चिनियाँ सरकारले नेपाली मिसनको खर्च बेहोर्ने, यातायातको सुविधा दिलाउने र उपहार फिर्ता पठाउने उल्लेख छ। वैद्यका अनुसार त्यही सहमतिअनुसार चीनका सम्राटले प्रधानमन्त्री राणालाई उपहारका रूपमा चिया पठाएका थिए। सोही चिया
दाना राणाले आफ्ना ज्वाइँ तथा इलाम गौंडाका बडाहाकिम थापालाई यहाँ लगाउन लगाएका थिए।
२०७६ असोजमा नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई सरकारले दुई देशबीचको महत्वपूर्ण इतिहास स्मरण गराउँदै रात्रिभोज ‘मेन्यु’मा इलामको चिया समावेश गरेको थियो। यी सन्दर्भले इलामको चिया बगान र कारखाना देशकै ऐतिहासिक र पुरातात्विक सम्पदाका रूपमा रहेको देखिए पनि इतिहासमा उल्लेख नहुनु दुःखद रहेको अर्का इतिहासकार डा. देवी क्षेत्री दुलाल बताउँछन्। उनी भन्छन्, ‘इलाम चिया कारखाना र चिया बगान इलामको मात्रै होइन, देशको सम्पत्ति हो तर यसको महत्व ओझेलमा छ। अब सिंगो इलामले आफ्नो राष्ट्रिय सम्पदा जोगाउन पहल गर्नुपर्छ।’
यो उद्योगको बनावट प्राविधिक हिसाबले पनि अरूभन्दा फरक छ। भवनमा ढुंगा र काँचो इँटा प्रयोग गरिएको छ भने २४ इन्च चौडाइको मजबुत पर्खाल छ। जिल्लाकै चुरे क्षेत्रबाट ल्याइएका सखुवाका काठको टाँढ बनाइएको छ। बाक्लो र बलियो जस्ताले बनेको छानो अहिले पनि सामान्य खिया लाग्नेबाहेक बिग्रेको छैन। स्थापना भएको करिब डेढ सय वर्षको अवधिमा आएका भूकम्पले पनि यसलाई खासै असर गर्न सकेका देखिन्न। ‘यो उद्योगको छानो अहिलेसम्म मर्मत गरिएको हामीलाई याद छैन,’ कार्यरत श्रमिक भन्छन्, ‘पानी पनि चुहिएको थाहा छैन।’ भवनमा केही कोठा भने थपिएका छन्।
यो उद्योगमा बेलायतबाट ल्याइएका पित्तलका महँगा मेसिन जडान गरिएका थिए। हातले घुमाएर चलाइने मेसिनमा चिया प्रशोधन गरिन्थ्यो। निजीकरणपछि उद्योगमा रहेका महत्वपूर्ण मेसिन, उपकरण अन्यत्र लगिए। ड्रायर, रोलिङ मेसिन, चिम्नीलगायत महत्वपूर्ण सामान यहाँबाट सारिए। पुरानो मेसिनका नाममा अहिले उद्योगमा एउटा रोलर छ तर थन्किएको अवस्थामा।
एक श्रमिकका अनुसार बगान लिजमा दिइएपछि उद्योगका महत्वपूर्ण र महँगा मेसिन कता लगिए थाहा छैन। ‘उद्योगमा पहेंला र निकै आकर्षक धातुका मेसिन थिए तर अहिले ती कहाँ छन् थाहा छैन,’४ दशकदेखि कार्यरत ती श्रमिकले भने, ‘उद्योग लिजमा दिइएको करिब ६ महिनापछि ती मेसिन यहाँबाट उठाइएका हुन्। कता लगियो हामीलाई भनिएन।’
जिल्लामै सडक सुविधा, सवारीसाधन केही नभएका बेला स्थानीयले काँधमै आवश्यक सामग्री बोकेर यो उद्योगको भवन बनाएको इतिहासकार वैद्य स्मरण गर्छन्। २०२३ सालमा नेपाल चिया विकास निगम स्थापना भएपछि यसलाई निगमअन्तर्गत राखिएको हो। १९२० सालमा रोपिएको चिया प्रशोधन गर्न १९३५ सालमा यो उद्योग स्थापना भए पनि त्यसबीचमा यहाँको हरियो चिया प्रशोधनका लागि सीमावर्ती भारतीय क्षेत्रका कारखानामा लगिएको हुनसक्ने अनुमान छ। १९२२ सालमा चियाखेती सुरु भएको इलामकै सोक्तिममा १९४० सालतिर चिया उद्योग स्थापना भयो। कन्याममा २०२८ सालमा तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्यले चिया रोपेर यसको खेती सुरु गरेका थिए। उनीहरूले रोपेका बिरुवा अहिले पनि संरक्षित छन्। २०४१ सालमा कन्याम चिया उद्योग स्थापना भयो।
इलाम उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ईश्वर चिपालु इतिहासका रूपमा रहेको इलाम चिया बगान र कारखाना संरक्षण हुन नसकेको बताउँछन्। सरकारले इलाम र झापाका ७ चिया बगान निजी क्षेत्रलाई लिजमा दिएपछि इतिहास मेटिनेक्रममा रहेको उनको भनाइ छ। लिजमा दिइएपछि ऐतिहासिक र पुरातात्विक सम्पदाका रूपमा रहनुपर्ने उद्योगमा चिया प्रशोधन बन्द भयो। चियाका पात कन्याममा लगेर प्रशोधन गर्न थालियो। चियाबारीको संरक्षण हुन छाड्यो।
‘व्यापारीले नाफा कमाउने नाममा इतिहास नै नामेट पारिसक्दा पनि कसैको ध्यान जान नसक्नु दुखद छ,’चिपालु भन्छन्, ‘जिल्लाबाट निर्वाचित भएर देशकै ठूलो ओहोदामा पुगिसकेका नेतादेखि मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधिलेसमेत यो इतिहास संरक्षण गर्न नसक्नु विडम्बना भएको छ।’महत्वपूर्ण मेसिन उठाइएपछि बन्द रहेको उद्योग पुरानै अवस्थामा सञ्चालन गर्न इलामवासीले व्यवस्थापन पक्षलाई पटक–पटक आग्रह गरे। देशकै ऐतिहासिक सम्पदाका रूपमा रहेको उद्योग सञ्चालन, संरक्षण गर्न र उठाइएका महत्वपूर्ण मेसिन फिर्ता ल्याउन स्थानीयले दर्जनौंपटक दबाब दिए। स्थानीयको दबाबपछि व्यवस्थापनले २०६९ सालमा उद्योग त सञ्चालन गर्यो तर पुराना मेसिन ल्याइएन।
यो चिया बगान र कारखानाले बर्सेनि हजारौं पर्यटक आकर्षित गरिरहेको छ। इतिहास अध्ययन गर्नेका लागि पनि यो कारखाना र बगान उपयुक्त रहेको इतिहासकार दुलालको भनाइ छ। इलाम नगरपालिकाले ऐतिहासिक चिया उद्योगलाई देशकै सम्पदाका रूपमा संरक्षण गर्न संघीय सरकारसँग पटकपटक आग्रह गरेको छ। निजीकरणपछि यो पुरातात्विक उद्योग-बगान उजाड र खण्डहर बनेको ठहर गर्दै नगरपालिकले पटकपटक नेपाल सरकारले निजीकरण गर्ने सन्दर्भमा यी ऐतिहासिक र पुरातात्विक सम्पदा निजी कम्पनीलाई लिजमा दिएको, निजी कम्पनीले उद्योगका सय वर्षभन्दा पुराना पुरातात्विक महत्वका मेसिन–उपकरण अन्यत्र लगी बेपत्ता बनाएकाले खोजी गर्न पनि माग गर्यो। तर यसबारे संघीय सरकारको ध्यान पुग्न सकेको छैन। नगरपालिकाले यी सम्पदालाई चिया संग्रहालय र बगानलाई अध्ययन-अन्वेषण केन्द्र बनाउनसमेत माग गर्दै आएको छ।
प्रकाशित: २० फाल्गुन २०७९ ००:३३ शनिबार