२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

इलाममा पर्यटकको ओइरो, व्यवसायीलार्इ पाहुना धान्नै मुस्किल

इलामको पर्यटकीयस्थल सन्दकपुर घुम्न आएका पर्यटक

सन्दकपुर (इलाम)– पर्यटकीयस्थलका होटललाई मुख्य सिजनमा आएका पर्यटक धान्न धौधौ परेको छ । जिल्लाका प्रमुख पर्यटकीयस्थलमा होटल नहुँदा र होमस्टे पनि व्यवस्थित नहुँदा पर्यटकले सुविधा पाउन नसकेका हुन् ।

सन्दकपुर, पशुपतिनगर, कन्याम, अन्तु, माइपोखरी, जौबारी र पाथीभरालगायतमा यतिबेला पर्यटकको चाप थामिनसक्नु छ । मुख्य पर्यटकीयस्थल मानिने जिल्लाकै अग्लो डाँडो सन्दकपुर (३ हजार ६ सय ३६ मिटर उचाई)मा अहिले दिनहुँ ३ सयभन्दा बढी पर्यटक आउँदा स्थानीय होटलले थाम्न सकेका छैनन् । भारतीय सीमावर्ती सन्दकपुरमा एउटा अलि ठूलो र अन्य २ साना होटल छन् । स्थानीय शेर्पा च्यालेट होटलमा ५० पर्यटकमात्रै अटाउँछन् । तर, होटलमा अहिले २ सयजति दिनहुँ बास र खानपान माग्दै आउने गरेको होटलले जनाएको छ ।

होटल सञ्चालिका निमाफुटी शेर्पाले पहिल्यै बुक नगरे होटलको कोठा र खाना नै व्यवस्था गर्न नसक्ने बताइन् । ‘यो (कात्तिक–मंसिर) मुख्य सिजन भएकाले पर्यटक खचाखच छन्,’ उनले भनिन्, ‘अरूबेला यस्तो चाप हुँदैन तर अहिले हाम्रो होटलमा आउन २–३ दिनअघि नै होटल बुक गरिसक्नुपर्छ ।’ होटलले यहाँ समूहमा आउने पर्यटकका लागि १ हजारदेखि १ हजार २ सय भारतीय रुपैयाँसम्मको प्याकेजसमेत बनाएको छ । होटलकी पसी शेर्पाका अनुसार पर्यटकले यो रकम तिरेपछि २ छाक सादा खाना, १ दिन ब्रेक फास्ट र चिया तथा १ रात सुत्न पाउँछन् । ‘यीबाहेकका सुविधा चाहने पर्यटकका लागि थप रकम लाग्छ,’ उनले भनिन्, ‘यहाँ सादा खाना प्रतिछाक १ सय ८०, मासु खाए प्रतिप्लेट सय, चिया प्रतिकप २० र कफी प्रतिकप ६० रुपैयाँ पर्छ ।’

सन्दकपुरबाट करिब २ किलोमिटरमा पर्ने आहालटारमा केही कच्ची घर छन् । यहाँ पनि २०–२५ पर्यटक अटाउन सक्छन् । तर, यहाँ पनि पहिल्यै बुक गरेमात्रै खान र बस्न पाइन्छ । यतिबेला पर्यटकीय सिजन भएकाले देश–विदेशबाट आउने पर्यटकको चाप बढेको स्थानीय पिङ्की शेर्पाले बताइन् । सन्दकपुरबाट करिब ३ किलोमिटर तल बिखेभञ्ज्याङ, दोबाटे र कालपोखरीका होटलहरू पनि पर्यटकले भरिभराउ छन् । पर्यटकका लागि तयार गरिएका स्थानीय घरहरूमा ५ देखि ४० सम्म पर्यटक अटाउँछन् ।

तर, यतिबेला यहाँ पनि पर्यटकहरू ओइरो लागिरहेको स्थानीयले बताएका छन् । कालपोखरीस्थित हिमचुली लजका पेम्बा शेर्पाले नेपाली र भारतीय पर्यटकका दर्जनौं समूह आइरहेको बताए । ‘यहाँ आउने पर्यटकले पहिल्यै खाना र बासका लागि अर्डर नगरे आउनेबित्तिकै पाउन समस्या छ,’ उनले भने, ‘यति संख्याका पर्यटक यो दिन आउँदैछन् भन्ने जानकारी भए हामीलाई उनीहरूलाई सेवा दिन पनि सजिलो हुन्छ ।’ सन्दकपुरमा भारतपट्टि दर्जनभन्दा बढी होटल छन् ।

सन्दकपुर आउने नेपाली पर्यटक बासका लागि होटल नपाउँदा महँगा भारतीय होटलमा बास बस्नुपरेको गुनासो गर्छन् । ‘होटल पाइन्छ होला भनेर आइहालियो । कतै नेपाली होटल नपाएर महँगो भारतीय होटलमा बास बस्नुप¥यो,’ सन्दकपुरमै भेटिएका सूर्याेदय नगरपालिकाका डोलेन्द्र भारद्वाजले भने, ‘नेपालतिर होटलहरू भए अलि सस्तो र सहज रूपमा बास बस्न पाइने थियो ।’ उनीजस्तै यहाँ आएका प्रायः नेपाली पर्यटक होटलमा बास नपाएर निकै तलका चौंरी र भेडीगोठतिर बासका लागि झर्ने गरेका छन् । सन्दकपुरबाट सर्वाेच्च शिखर सगरमाथा, कञ्चनजंघा, कुम्भकर्णलगायत नेपाल, भारत र भुटानका विभिन्न हिमाल अवलोकन गर्न सकिन्छ । यहाँबाट सूर्याेदय र सूर्यास्त हेर्न पर्यटकको भीड लाग्छ ।  

सूर्याेदयका लागि प्रख्यात अन्तुडाँडामा पनि यतिबेला पर्यटक खचाखच छन् । समालबुङ गाविस–१ का होमस्टे सञ्चालक धनकुमार आलेले दिनहुँ करिब डेढ सय पर्यटक यहाँ आइरहेको बताए । जिल्लामा लामो समयदेखि होमस्टे व्यवस्थापन गरिएको अन्तुमा व्यवस्थित होमस्टे चाहिँ करिब ३ दर्जन घरमा मात्रै छ । तर, स्थानीयले पेइङ गेस्टका रूपमा २–४ सय पाहुना अटाउन सक्ने आलेले बताए । ‘यतिबेला गाउँभर पर्यटक खचाखच छन्,’ उनले भने, ‘व्यवस्थित होमस्टेले नपुगेपनि पेइङ गेस्टका रूपमा राख्ने गरेका छौं ।’     

कन्याममा पनि दिनहुँ सयौं पर्यटक आइरहेका छन् । यहाँ आउने पर्यटक कन्यामकै कन्याम इनलगायत फिक्कल, हर्कटे र सदरमुकामका होटल पुगेर बास बस्छन् । चियाबारी घुम्न, कञ्चनजंघा हिमाल हेर्न र स्थानीय अर्गानिक उत्पादनको स्वाद चाख्न कन्याममा पर्यटक आउने गरेका छन् ।

होटल एसोसिएसनका जिल्ला अध्यक्षसमेत रहेका स्थानीय ‘कन्याम इन’ होटलका सञ्चालक टीका ओडारीले कन्याम अहिले पर्यटकले भरिएको बताए । ‘कतिपय पर्यटक यतै बस्छन्, कतिपय चाहिँ बासबा लागि सदरमुकामसम्म पुग्छन्,’ उनले भने । अहिले मौसम अत्यन्त सुन्दर हुने बेला भएकाले पर्यटक एकैपटक निकै आएको उनको भनाइ छ । जिल्लाकै माइपोखरी, टोड्के झरना, छिन्टापुलगायत पर्यटकीयस्थलमा पर्यटक धुइरिएका छन् ।

 

प्रकाशित: १८ कार्तिक २०७३ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App