६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट

फाइल तस्बिर

अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड विजेता भएको छ।

चीनको चीन मार्केटिङ संघले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिस्पर्धामा नेपाली १० उत्पादक संस्थाले अवार्ड विजेता भएको बिहीबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

बोर्डले नेपालमा उत्पादित १६ वटा चियाको नमूना परीक्षणमा पठाएकोमा १० प्रकारका चियाले विश्व गुणस्तरमा उच्च रहेको प्रमाणित भएको बताएको छ। बोर्डका कार्यकारी निर्देशक डा.विष्णुप्रसाद भट्टराईले नेपालको चियाको चिनियाँ बजार राम्रो रहेको बताए। उनले बोर्डले नेपालमा उत्पादित चियाको बजार व्यवस्थापनको लागि पहल गरिरहेको बताए। चीनमा नेपाली चियाको अनलाइन विज्ञापन शुरु भइसकेको उनको भनाइ छ।

भट्टराईले अवार्ड विजेता भएसँगै नेपाली चिया अन्तर्राष्ट्रिय बजारमा अब्बल दर्जाको रहेको र आर्थिक उन्नतिको लागि महत्वपूर्ण मानिने उल्लेख गरे। उनले गत वर्षको तुलनामा नेपाली चियाको अन्तर्राष्ट्रिय बजारमा निर्यात ३६ प्रतिशतले बढेको बताए। उनले नेपाली चियाको निर्यात वृद्धिले नेपाली चियाको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएको बताए। 

त्यस्तै,पर्ल गोल्डेन चियाका सञ्चालक रितुकान्त खनालले रासायनिक मल तथा विषादी प्रयोग विना अग्र्यानिक रुपमा चिया उत्पादन गर्नुको प्रतिफल गोल्डेन अवार्ड भएको बताए। उनले आफूहरुले किसानको आयमा वृद्धि गरी मुलुकमा विदेशी मुद्रा आर्जनको लागि महत्वपूर्ण भुमिका खेल्न मद्त गर्ने गरी चिया उत्पादनमा लागेको बताए। नेपाली चिया उत्पादनलाइ सरकारले उद्योगको रुपमा विकास गर्ने गरी नीति नियमन बनाउन आवश्यक रहेको उनको भनाइ छ।  

विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरु चीन,भारत,केन्या,श्रीलंका जस्ता देशहरुसँग नेपाली चियाको प्रतिष्पर्धा गराइएको थियो। अवार्ड परिणामस्वरुप आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाकाको निर्यात व्यापार बढाउन सहज हुने विश्वास लिइएको छ। तीनजुरे चिया कृषक सहकारी संस्थाद्वारा उत्पादित पर्ल गोल्डेन चियाले गोल्डेन अवार्ड पाएको छ भने फार्मर चिया प्रशोधन उद्योगले उत्पादन गरेको एफ्टी हिमालयन गोल्डेन, साग्रिला गोल्डेन,जीटीई–गोल्डेन चिया, सिल्भर वीङ्गस, गोल्डेन टिप्स चियाले गोल्डेन मेडल अवार्ड विजेता भएका हुन्।  

त्यस्तै, नेपालका झापा, इलाम,पाँचथर,धनकुटा र तेह्रथुम जिल्लाहरुलाई चिया क्षेत्रको रुपमा २०३९ सालमा तत्कालिन राजा वीरेन्द्रले घोषणा गरेका थिए। आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क अनुसार नेपालमा १६ हजार ९१७ हेक्टर क्षेत्रमा खेती भएर त्यसबाट २३,७४५ मेट्रिकटन उत्पादन भइरहेको छ। नेपालमा १७ हजार चिया कृषक र ६० हजार भन्दा बढी श्रमिक आवद्ध रहेको बोर्डले जनाएको छ। आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको ११ हजार ९२० मेट्रिक टन चिया निर्यात भएको छ।  

प्रकाशित: १८ फाल्गुन २०७९ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App