१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

किसानलाई किवी भण्डारणको समस्या

फाइल तस्वीर

डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन्। किवीबाट किसानले वार्षिक लाखौं रकम आम्दानी गर्न सफल भएका छन्।

जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिक रुपमा किवीखेती गर्न थालिएको छ। किवी फल मुटुरोग, उच्च रक्तचाप घटाउन, पाचन प्रक्रिया सहज बनाउन, शारीरिक तौल घटाउन, छालाको रोग हटाउन, दृष्टि बढाउन, क्यान्सर रोग निको पार्न लगायतमा उपभोगी मानिएको छ।

अमरगढी नगरपालिका-१ दहका गणेशबहादुर ऐरले ३० लाख रुपैयाँको लगानीमा १० रोपनीमा किवी खेती गर्दै आएका छन्। वार्षिक ४० क्विन्टल किवी उत्पादन गरी पर्याप्त आम्दानी गरिरहेको उनी बताउँछन्। पहाडी भूगोलको किवी बढी गुणस्तरीय हुने भएकाले डडेल्धुराको किवी तराई र काठमाडौँसम्म बिक्री भइरहेको छ। तर, किसानलाई उत्पादन भएको किवी भण्डारण गर्न समस्या भएको छ। भण्डार समस्याबाट जिल्लाका करीब ६० किसान मर्कामा परेका छन्।

जिल्लामा एउटा मात्र शीतभण्डार छ। त्यसमा पनि आलु भण्डारण गर्ने गरिएको छ। शीतभण्डारका लागि कृषि ज्ञान केन्द्र डडेल्धुराले सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयसित छलफल गरिरहेको छ। डडेल्धुरामा किवी भण्डारणका लागि शीतभण्डार निर्माणको पहल भइरहेको  कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए।

डडेल्धुराबाट उत्पादन हुने किवी फलको बजार खुद्रा मूल्य प्रतिकिलो पाँच सय रुपैयाँ रहेको छ। अहिले दुई सय ५० देखि तीन सय रुपैयाँसम्ममा बिक्री भइरहेको किसान वेदप्रकाश भट्टले बताए। ‘किवीका उपभोक्ता बढेका छन्, घरमै किन्न आउने भएकाले यसको उत्पादनतर्फ अरू किसान आकर्षित भएका छन्’, उनले भने। रासस

प्रकाशित: १७ फाल्गुन २०७९ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App