मधेस प्रदेशमा मलको माग उच्च भइरहेका बेला वीरगन्ज नाकाबाट साउन महिनामा ११ हजार ७१५ टन युरिया र डिएपी मल भित्रिएको पाइएको छ।
कृषि सामग्री कम्पनी लिमिटेडको वीरगन्ज प्रादेशिक कार्यालयका अनुसार कन्साइन्मेन्ट नम्बर १५४ अन्तर्गत ५ हजार ४३१ टन डिएपी मल वीरगन्जस्थित कम्पनीको गोदाममा आइपुगेको छ।
कृषि सामग्री कम्पनी लिमिटेड, वीरगन्ज प्रादेशिक कार्यालयका सूचना अधिकारी दिनेश शर्माका अनुसार भारतको इन्डियन पोटास लिमिटेड (आईपीएल) ले तेस्रो मुलुकबाट आयात गरेको उक्त मल वीरगन्ज नाका हुँदै नेपाल भित्रिएको हो।
त्यस्तै, कन्साइन्मेन्ट नम्बर १५५ अन्तर्गत ५ हजार १११ टन युरिया मल पनि वीरगन्जस्थित गोदाममा भित्रिएको छ। उक्त मल आदित्य बिर्ला कम्पनीले ग्लोबल टेन्डरमार्फत ल्याएको हो।
यसैगरी, कन्साइन्मेन्ट नम्बर १५३ अन्तर्गत सन इन्टरनेसनल कम्पनीले ल्याएको थप १ हजार १७३ टन युरिया मलसमेत वीरगन्जस्थित कृषि सामग्री कम्पनीको गोदाममा भण्डारण गरिएको छ। तीनवटै कन्साइन्मेन्टमार्फत हालसम्म ११ हजार ७१५ टन मल वीरगन्ज आइपुगेको हो।
मल बोकेका रेल्वे र्याकहरू क्रमशः सीमावर्ती भारतीय सहर रक्सौलको रेल्वे स्टेसन तथा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा आइरहेका छन्। सूचना अधिकारी शर्माका अनुसार तीनवटै कन्साइन्मेन्टबाट ३०/३० हजार टन मल ल्याउने तयारी भइरहेको छ।
वीरगन्ज नाकाबाट भित्रिने मल कृषि सामग्री कम्पनीका वीरगन्ज, भैरहवा र विराटनगरस्थित प्रादेशिक कार्यालयमा वितरण गरिनेछ। भैरहवा प्रादेशिक कार्यालयले प्राप्त गर्ने अधिकांश मलसमेत वीरगन्ज नाकाबाटै भित्रिने गरेको कम्पनीले जनाएको छ।
धान रोपाइँको मुख्य समयमा नै मलको अभाव झेलिरहेका किसानका लागि ठूलो परिमाणमा युरिया र डिएपी मल भित्रिन थालेपछि केही राहत पुग्ने अपेक्षा गरिएको छ। मागअनुसार मल उपलब्ध हुन नसकेको गुनासो किसानबाट आइरहेका बेला नयाँ खेप भित्रिन थालेको हो।
धानको उत्पादन र उत्पादकत्व कायम राख्न रोपाइँपछि आवश्यक समयमा युरिया तथा अन्य मलको सहज उपलब्धता महत्वपूर्ण हुन्छ। त्यसैले वीरगन्ज नाकाबाट भित्रिएको मल समयमै प्रदेश तथा स्थानीय तह हुँदै किसानसम्म पुर्याउन सके धानबालीमा देखिएको मल अभाव केही हदसम्म न्यूनीकरण गर्न सकिने अपेक्षा गरिएको छ।
प्रकाशित: ३१ श्रावण २०८३ २१:५३ आइतबार





