१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

वित्तीय संस्थाको ज्यादतीविरुद्ध पोखरेली व्यवसायीको प्रदर्शन

बैंक तथा वित्तीय संस्थाबिरुद्ध प्रदर्शनमा उत्रिका पोखरेली उद्योगी, व्यवसायीहरु। तस्बिरः सन्देश/नागरिक

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरुद्ध पोखरेली उद्योगी व्यवसायीहरुले प्रदर्शन गरेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रुपमा बैंक ब्याजदर बढाएको तथा ऋण र किस्ता तिर्नका लागि दवाब दिएको विरुद्धमा पोखरेली उद्योगी व्यवसायीहरुले पोखराको चिप्लेढुंगामा प्रदर्शन गरेका हुन्।

पोखरा उद्योग वाणिज्य संघ र लेखनाथ उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा दुबै संघमा आबद्ध उद्योगी तथा व्यवसायीहरुको बाक्लो उपस्थिति थियो। यसअघि दुई चरणको आन्दोलन गरिसकेको संघहरुले तेश्रो चरणको आन्दोलन अन्तर्गत विहीबार ११ बजेदेखि १२ बजेसम्म एकघण्टा प्रदर्शन गरेका हुन्।

यसअघि संघहरुले पहिलो चरणमा अर्थमन्त्री र राष्ट्रबैंकलाई ज्ञापनपत्र बुझाएका थिए भने दोश्रो चरण अन्तर्गत प्रदेश उद्योग वाणिज्य संघहरुको नेतृत्वमा जिल्ला संघहरुले राष्ट्रबैंकलाई चेतावनी पत्र बुझाएको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले जानकारी दिए।

बिहीबारको प्रदर्शनमा संघमा आवद्ध एशोसिएट तथा प्रतिष्ठानहरुको संस्थागत सहभागिता थियो। प्रदर्शनमा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघसँगै थोक व्यवसायी संघ कास्की, गण्डकी ट्याक्सी व्यवसाय पव्लिक लिमिटेड, मदिरा व्यवसायी समिति कास्की, फ्लोरिङ फर्निसिङ व्यवसायी संघ कास्की, कम्प्युटर एशोसिएसन नेपाल महासंघ कास्की, स्टिल फेब्रिकेसन एशोसियसन कास्की, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासंघलगायतको सहभागिता थियो।

त्यस्तै, नेपाल पर्यटक यातायात व्यवसायी संघ कास्की, नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स गण्डकी, सर्वेश्वर व्यवसायी समिति, पोखरा ईलेक्ट्रिक व्यवसायी संघ, रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा, कस्मेटिक व्यवसायी संघ कास्की, अधिकृत विक्रेता संघ कास्की, सुनचाँदी व्यवसायी संघ कास्कीलगायतका औद्योगिक, व्यापारिक संघसंस्थाहरुको संस्थागत सहभागिता थियो।

सहभागिहरुले ‘व्याजदर चर्को भो, गरिखान गाह्रो भो’, ‘तरलता समाधान गर’, ‘उद्योग व्यापार नबाँचे अर्थतन्त्र बाँच्दैन’, ‘व्याजदर एक अंकमा कायम गर’, ‘उद्योग व्यापार बचाऔं, राष्ट्रिय अर्थतन्त्र जोगाऔं’, ‘उच्च सेवा शुल्क खारेज गर’, गरिखाने मर्दैछ, सरकारको राजश्व घट्दैछ’लगायतका नाराहरु लेखिएको व्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रदर्शन कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले बैंक तथा वित्तीय संस्थाहरुले मनपरी रुपमा बढाएको व्याजदर नतिर्ने घोषणा गरे। सरकारले नीति नियम बनाएर व्याजदर बढाउनुपर्ने भन्दै उनले भने,‘तिर्छु भनेको व्याज जति छ त्यो अनुसार तिर्न पाउनु प¥यो। त्यो हामी तिर्न तयार छौं तर बढेको ब्याज तिर्दैनौं।’ उनले व्याजदर घटाउनुपर्ने भन्दै अन्यथा आन्दोलन थप चर्काउने चेतावनी दिए। ‘एक अंकमा व्याजदर झार्नुपर्छ। अन्यथा आन्दोलन थप सशक्त बनाउँछौं।’

प्रकाशित: ११ फाल्गुन २०७९ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App