शनिबार दिउँसो नेपालगन्ज धम्बोझीस्थित भेरी ग्यासको एक बिक्रेताले बजारमा पठाउन लागेको एक सिलिण्डरमा म्याद लेखिएको थियो, बी २३। यसको अर्थ हुन्छ, उक्त सिलिण्डरको अवस्था परीक्षण गर्न अब डेढ महिना मात्रै बाँकी छ।
नेपाल आयल निगम एलपीजी विभागका प्रमुख नेत्र काफ्लेका अनुसार फलामबाट बनेको सिलिन्डर पहिलो पटक १० वर्षमा परीक्षण ‘हाइड्रोलिक टेष्ट’ गरिन्छ। त्यो परीक्षणमा उपयुक्त ठहरियो भने थप ५ वर्ष प्रयोग गर्न मिल्छ भन्ने मान्यता छ। यस बेला गरिने परीक्षणमा पनि सही ठहरिए थप ३ वर्षसम्म सिलिन्डर प्रयोग गर्न सकिन्छ। ‘ग्यासको सिलिन्डरमा संकेत गरिएको मितिले सिलिन्डरको म्याद गुज्रिएको जनाउँदैन,’ प्रमुख काफ्लेले भने, ‘त्यस मितिले ‘हाइड्रोलिक टेष्ट’ गर्ने बेला भयो भन्ने जनाउँछ।’
नेपालगन्जकै पुष्पलाल चोकस्थित एक ग्यास बिक्रेताले ए २३ लेखिएको सिलिण्डर भर्खरै ग्राहकबाट ल्याएका थिए। उक्त सिलिण्डरको परीक्षण गर्नुपर्ने अवधि सुरु भएको डेढ महिना बितिसकेको छ।
पछिल्लो समय ग्यास सिलिण्डर विष्फोटका घटनाले भान्सामा रहेका ग्यास सिलिण्डरको सुरक्षामा प्रश्न चिह्न खडा गरिदिएको छ। साधारणतः ग्यास सिलिण्डर विष्फोटका घटना बिरलै हुने भए पनि विष्फोट हुनुको मुख्य कारणमध्ये म्याद गुज्रिएका, कुच्चिएका वा लिकेज भएका सिलिण्डर प्रयोग गरिनुलाई मानिन्छ।
कालान्तरमा सिलिण्डरहरू खिइएर वा विविध कारणले लिकेज हुने अवस्थामा पुगे भने खतरा हुने भएकैले हरेक ग्यास सिलिण्डरमा उक्त सिलिण्डरको परीक्षण गर्नुपर्ने म्याद लेखिएको हुन्छ। त्यस्ता सिलिन्डर ग्यास उत्पादक कम्पनीहरूले बजारमा पठाइदिने र बिक्रेताले पनि ध्यानै नदिएर ग्राहकसम्म पुर्याइदिने गरेका पाइएको छ।
नेपालगन्जमा परीक्षण गर्नुपर्ने म्याद गुज्रेका र गुज्रिन लागेका खाना पकाउने ग्यासका सिलिण्डरहरू बजारमा पठाइँदा दुर्घटनाको जोखिम बढेको छ। यसमा ग्यास उत्पादक कम्पनीदेखि बिक्रेतासम्मले यसमा लापरबाही गर्दै आएका पाइएको छ।
सिलिण्डर प्रयोगमा रोक
बजारमा परीक्षण गर्नुपर्ने म्याद गुज्रिएका र विविध कारणले जोखिमयुक्त अवस्थामा रहेका ग्यास सिलिण्डर पठाइने गरिएको छ भन्ने तथ्य शुक्रबार बाँकेस्थित सरोकारवाला सरकारी निकायहरूले गरेको संयुक्त बजार अनुगमनका क्रममा पनि पुष्टि भएको थियो। नेपालगन्जस्थित दुई ठूला ग्यास उद्योगमा गरिएको संयुक्त अनुगमनका क्रममा पाँच हजार नौ सय बढी सिलिण्डर प्रयोग गर्ने अवस्थामा नरहेको भन्दै बिक्रीवितरणमा रोक लगाइएको छ।
अनुगमन टोलीले मनकामना ग्यास उद्योग र भेरी ग्यास उद्योगमा अनुगमन गरेको थियो। मनकामनामा म्याद समाप्त भएका एक सय ६० ग्यास सिलिन्डर, लिकेज, बिग्रेका, कुच्चिएका, जोखिमयुक्त ५० र तत्काल म्याद सकिन लागेका करिब ५० वटा ग्यास सिलिन्डर गरी जम्मा दुई सय १० ग्यास सिलिन्डरहरू बिक्री नगर्न निर्देशन दिइएको वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका सूचना अधिकारी देवीचाल चौलागाईंले जानकारी दिए।
यति मात्रै नभई मनकामना ग्यास उद्योगले हाइड्रोलिक टेष्ट नै नगरी ग्यास सिलिण्डर बजारमा पठाउने गरेको पाइएको छ। अनुगमन टोलीले उद्योगलाई ग्यास लिकेज जाँच्ने मेसिन तुरुन्त प्रयोगमा ल्याउनसमेत निर्देशन दिएको चौलागाईंले बताए। यस्तै भेरी ग्यास उद्योगमा करिब तीन हजार ग्यास सिलिन्डरको परीक्षण गर्नुपर्ने म्याद गुज्रिएको र दुई सय वटाको म्याद सकिन लागेको अवस्थामा फेला परेका छन्।
यसैगरी लिकेज भएका, कुच्चिएका र बिग्रेका करिब दुई हजार पाँच सय ग्यास सिलिण्डरलाई पनि बिक्री वितरणमा रोक लगाइएको छ। अनुगमनका क्रममा भेटिएका यी जोखिमयुक्त सिलिण्डरहरू उपभोक्ताको भान्सा सिलिण्डर बम भण्डारण केन्द्र बन्न सक्नेतर्फ हरेक उपभोक्ताले ध्यान दिनुपर्ने र नियामक निकायले पनि अनुगमनलाई थप प्रभावकारी र लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने आवश्यकता देखिएको छ।
कसरी हेर्ने सिलिण्डरको म्याद?
ग्यास सिलिण्डरको माथिको गोलो ह्याण्डललाई जोड्ने तीनवटा सीधा चेप्टो डण्डीमध्ये एउटा डण्डीमा यसको सिलिण्डरको म्याद सकिने मिति लेखिएको हुन्छ। उक्त मितिमा अगाडि अंग्रेजी अक्षरमा ए, बी, सी वा डीमध्ये एक अक्षर लेखिएको हुन्छ भने पछाडि दुई अंकमा वर्ष लेखिएको हुन्छ। अक्षरले सिलिन्डर परीक्षण गर्नुपर्ने म्याद गुज्रिने अंग्रेजी महिनालाई र अंकले म्याद गुज्रिने इस्वी संबत् अनुसारको वर्षलाई जनाउँछ। अक्षरले निम्नानुसार महिनालाई जनाउँछ।
ए-लेखिएको छ भने जनवरीदेखि मार्च
बी-लेखिएको छ भने अप्रिलदेखि जुन
सी-लेखिएको छ भने जुलाईदेखि सेप्टेम्बर
डी-लेखिएको छ भने अक्टोबरदेखि डिसेम्बर
उदाहरणका लागि कुनै सिलिण्डरमा ए २३ लेखिएको छ भने चालु वर्ष सन् २०२३ को जनवरी महिनापछि उक्त सिलिण्डरको हाइड्रोलिक टेष्ट गर्नुपर्छ। मार्चपछि हाइड्रोलिक टेष्ट नभएका सिलिण्डर प्रयोग गर्नु हुँदैन।
ग्यास किन्दा सिलिण्डरको म्याद अनिवार्य हेरेर मात्रै किन्ने गर्नुहोस्। साथै ग्यास प्रयोग गर्दा खाना पकाइसकेपछि अनिवार्य रेगुलेटर बन्द गर्ने, समय समयमा रेगुलेटर चेक गराउने, पाइप गुणस्तरको प्रयोग गर्ने र लिकेज भइहालेको छ भने चनाखो हुने गर्नुपर्ने अग्नि नियन्त्रकहरू बताउँछन्। लिकेज भएर कोठामा ग्यास फैलिएको अवस्थामा आगो बाल्ने वा बत्तीको स्वीच अन अफ गर्ने गर्नु हुँदैन।
प्रकाशित: ९ फाल्गुन २०७९ ०१:३० मंगलबार