२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

ताप्लेजुङ हुलाक कार्यालयले कमायो करिब ३६ लाख नाफा

जिल्ला हुलाक कार्यालय ताप्लेजुङले हुलाक बचत बैंकमार्फत करिब ३६ लाख रुपैंया नाफा आर्जन गरेको जनाएको छ। हुलाक बचत बैंकले बचत लगानीमार्फत ३५ लाख ९५ हजार ९ सय २६ रुपैयाँ नाफा आर्जन गरेको जिल्ला हुलाक कार्यालय ताप्लेजुङका निमित्त प्रमुख नवराज गिरीले जानकारी दिए । गिरीका अनुसार अहिले जिल्ला हुलाक कार्यालयमा ८ सय ४ जना बचतकर्ता रहेका छन्।

 हुलाक बचत बैंकमा १ करोड २३ लाख ३० हजार ७ सय ६९ रुपैयाँ बचत रहेको छ। बैंकको कूल बचत मध्ये ३२ लाख २९ हजार ६ सय ८८ रुपैयाँ लगानीमा रहेको गिरीले जानकारी दिए। ब्याजमा कर नलाग्ने भएकोले अरु बैंक भन्दा सेवाग्राहीलाई लाभ हुने हुलाक कार्यालयको दाबी रहेको छ। हुलाक बचत बैंकको लगानी सुरक्षित हुन्छ। ऋण लिन स्थायी सरकारी कर्मचारी हुनुपर्ने र त्यहीँ स्थायी नियुक्ति पत्रको प्रतिलिपि धितो राखेर ऋण लिन पाउने भएकोले लगानी जोखिममा नपर्ने कार्यालयले बताएको छ। बचत गर्न भने आम सर्वसाधारणले पाउँछन्। हुलाक बैंक बचतकर्ताका लागि दुई बेग्ला–बेग्लै किसिमको ब्याजदर निर्धारण गरिएको छ। ७० बर्षभन्दा कम उमेरका बचतकर्ताका लागि ६ प्रतिशत र ७० बर्ष उमेर पूरा गरेका बचतकर्तालाई ७ प्रतिशत ब्याजदर निर्धारण गरिएको गिरीले जानकारी दिए। बचतकर्तालाई न्यूनतम ६ र अधिकतम ७ प्रतिशत ब्याजदर निर्धारण गरेको हुलाकले लगानी बापत भने ८ प्रतिशतका दरले ब्याज असुल गर्ने गरेको छ। गिरीका अनुसार नाबालक बचतकर्ताका लागि उसको जन्मदर्ता र संरक्षक खुल्ने विवरणका आधारमा न्यूनतम एक सय रुपैंयामा बचत खाता खोल्न सकिन्छ।

वालिग बचतकर्ताका लागि नागरिकता वा सरकारद्धारा जारी उसको प्रमाण खुल्ने कुनै एक प्रमाण–पत्र,दुईप्रति पासपोर्ट साईजको फोटो र न्यूनतम एक सय रुपैंया भएमा खाता खोल्न बाधा मानिने छैन। बढीमा १० लाख रुपैंया सम्मका बचतकर्ता समेत रहेको गिरीले जानकारी दिए। जिल्ला हुलाक कार्यालयले आफू र माताहातका सबै हुलाक कर्मचारीको खाता हुलाक बचत बैंकमा खोलेर त्यसैमार्फत उसको तलब/भत्ता भुक्तानी गर्दै आएको छ। गिरीका अनुसार जनस्वास्थ्य,स्वास्थ्य चौकीका कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविका हुलाक बचत बैंकका प्रमुख खाता सञ्चालक हुन्। संस्थागत रुपमै पनि खाता सञ्चालन गर्ने गरिएको कार्यालयले जनाएको छ। 

प्रकाशित: ८ फाल्गुन २०७९ ०७:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App