राजधानीको प्रख्यात सेन्टमेरिज स्कुलबाट विद्यालय तहको शिक्षा तथा भारतको इशाबेना थर्वन कलेजबाट उच्च शिक्षा सकेपछि भवानी राणाका अघिल्तिर दुईटा विकल्प थिए। पहिलो बाटो थियो– जागिर खाने र अर्को बाटो थियो– आफ्नै व्यवसाय केही गर्ने।
८० को दशकमा नाम चलेका शिक्षण संस्थामा अध्ययन गर्न पाएका कारणले राणाका लागि जागिर सबभन्दा सजिलो बाटो थियो। त्यतिखेरको समाज अनुसार पढाइमा अब्बल हुनेबित्तिकै विद्यार्थीको चाहना पनि डाक्टर, इन्जिनियर, पाइलट बन्नुपर्छ भन्ने हुन्थ्यो। त्यो समय सेन्टमेरिजमा अध्ययन गर्न पाउने निकै थोरैमध्येको अवसर उनलाई पनि प्राप्त भएको थियो। तत्कालीन अञ्चलाधीशकी छोरी भएका कारण पनि उनका लागि त्यतिखेरको समाजले निकै रुचाएको डाक्टर, इन्जिनियर, पाइलट बन्न खासै कठिनाइ थिएन। अरु जागिर त उनका लागि रोज्जाकै थिए।
जबसम्म महिला आर्थिक रूपले सबल हुँदैनन्, तबसम्म राज्यले जति अधिकार दिए पनि र नियम कानुन बनाए पनि खासै उपलब्धि हुँदैन।
तत्कालीन समाजको पहिलो प्राथमिकता डाक्टर, इन्जिनियर, पाइलट जस्ता पेशा भए पनि राणाको सोच भने नितान्त फरक थियो। त्यसैले उनले सजिलो बाटो रोजिनन्। 'मैले आफ्ना लागि मात्र नभई महिला र देशका लागि पनि केही गर्नुपर्छ भन्ने भावना विद्यार्थी कालमै थियो,' उनले भनिन्, 'समाजको जेजस्तो सोच भए पनि मैले फरक काम गर्नुपर्छ भन्ने सोच सानो उमेरमै थियो।'
राणाको सोचाइमा जबसम्म महिला आर्थिक रूपले सबल हुँदैनन्, तबसम्म राज्यले जति अधिकार दिए पनि र नियम कानुन बनाए पनि खासै उपलब्धि हुँदैन। 'महिलालाई सशक्त बनाउने हो भने सबभन्दा पहिला उनीहरूको आर्थिक अवस्थामा सुधार ल्याउनु पर्छ,' उनले भनिन्, 'त्यसैले मैले पनि अध्ययन सक्नेबित्तिकै सन् १९८८ मा दिदीसँग मिलेर गार्मेन्ट व्यवसाय सुरु गरेकी थिएँ।'
व्यवसाय सुरु गरेको केही समय बित्न नपाउँदै नेपालगन्जका आशितशमशेर राणासँग विवाह गरेपछि उनको ग्रामेन्ट व्यवसाय राम्रोसँग फस्टाउन नपाए पनि अन्य व्यवसाय भने थपिन पुगे। 'विवाहअघि मलाई जसरी बुवा, आमाले अघि बढ्न प्रेरणा र सहयोग गरिरहनुहुन्थ्यो। विवाहपछि पति र सासूआमाले प्रेरणा र सहयोग थप्ने काम गरिरहनु भयो,' हाल नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष रहेकी राणाले भनिन्। हाल उनको नेपालगन्जमा होटल स्नेह सञ्चालनमा छ। जसलाई उनले केही समय अघि मात्र चारतारे बनाइन्।
विवाहपछि नेपालगन्जमै रहेर साथी संस्था र महिला उद्यमी महासंघको मध्यपश्चिम क्षेत्रको जिम्मेवारी सम्हालेपछि मात्र उनको 'बाहिरी' सम्पर्क बढ्न थालेको हो। ११ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघमा केन्द्रीय सदस्य मनोनित भएपछि उनको नेतृत्व र काम गर्ने क्षमता विकास हुँदै गयो र सोही क्षमताले दोस्रो पटक केन्द्रीय सदस्यमा निर्वाचित, अर्कोपटक उपाध्यक्ष हुँदै उनी वरिष्ठ उपाध्यक्षसम्म पुगेकी हुन्। र, उनले महासंघको आउँदो निर्वाचनमा अध्यक्षका प्रत्याशीको रूपमा आफूलाई प्रतिस्पर्धी बनाइरहेकी छन्।
महासंघमा रहँदाको अनुभव सुनाउँदै उनले भनिन्, 'म महासंघमा आउँदा एक्लै जस्तै थिएँ। अहिले बोर्डमै पाँच जना छौं। तैपनि महिलालाई माथिल्लो पदमा पुग्न अझै सहज भने छैन।' विगतका तुलनामा महिलालाई सकारात्मक रूपमा हेर्न थाले पनि जब उनीहरू प्रतिस्पर्धी हुन्छन् त्यस्तो बेला चरित्रमा प्रश्न उठाएर आलोचना गर्ने समाजको कमजोरी बाँकी रहेको उनको अनुभव छ। 'त्यही पुरुषलाई चरित्रको आलोचना गर्दा समस्या नहुने तर महिलालाई चरित्रको प्रश्न उठाएर आलोचना गरिनु समाजको कमजोरी हो,' राणाले भनिन्, 'समाजले यस्ता कमजोरी सुधार गर्ने हो भने नेपाली महिलाले गुनासो गर्ने ठाउँ कमै छन्।'
नेपालमा राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश जस्ता अन्य महŒवपूर्ण ओहदामा महिला पुग्नुलाई निकै सकारात्मक रूपमा लिएको उनले बताइन्। अब केही महिला मात्र माथिल्लो पदमा पुगेर सन्तोष लिन नसकिने उनको भनाइ छ। नेपालमा जसरी निश्चित महिला माथिल्ला तहमा पुगेका छन्। त्यसरी नै समग्र महिलाको अवस्था भने सन्तोषजनक छैन। 'त्यसको एउटै कारण हो– महिलाको आर्थिक अवस्था राम्रो हुन सकेको छैन। आर्थिक क्षेत्रमा पहुँच छैन,' राणाले भनिन्। आर्थिक अवस्थाबाहेक महिलाले सीप विकास तथा 'एक्सपोजर' हुन पाउनुपर्ने उनको बुझाइ छ। आर्थिक रूपमा सक्षम, सीपको विकास तथा 'एक्सपोजर' ले मात्र महिलाको आत्मबल बलियो हुने उनको भनाइ छ।
पछिल्लो लामो समय नेपाल उद्योग वाणिज्य महासंघमा खर्चेकी राणाको राजनीतिमा जम्ने सोच छ। 'मुलुकमा राजनीतिक परिवर्तनपछिको संक्रमण काल अन्त्यका लागि आर्थिक समृद्धि आवश्यक रहेकाले अहिले आर्थिक क्षेत्रमा लागेकी हुँ,' उनले भनिन्, 'केही वर्षपछि मूल धारको राजनीतिमा सरिक हुने चाहना छ।' पहिलो संविधानसभाको निर्वाचनको क्रममा दुईटा राजनीतिक दलले सभासद् बनाउन खोजे पनि आफूले त्यसलाई अस्वीकार गरेको उनले बताइन्। 'सभासद् त्याग गर्नुको एउटै कारण थियो– पहिला आर्थिक क्षेत्रमा योगदान गरौं भन्ने,' राणाले भनिन्।
पछिल्लो समयमा सरकारले ल्याएको सेज, औद्योगिक ऐन आर्थिक विकासका लागि सहयोगी हुने उनको अपेक्षा छ। नेपालका सम्भावना बोकेका कृषि, पर्यटन र जलस्रोतको प्रयोग गरेर देशलाई प्रगतितिर लैजान कुनै समस्या नभएको उनी बताउँछिन्। 'हामीसँग भएका सम्भावना त्यतिकै छाडेर लाखौं कर्मशील युवा विदेश पसेका छन्। त्यस्ता युवालाई देश रोकेर राख्न अब राज्यले गम्भीर रूपमा सोच्नु पर्छ,' उनले भनिन्।
प्रकाशित: २२ आश्विन २०७३ ०३:१४ शनिबार