१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

तनहुँको सराङघाट सबस्टेसन सञ्चालनमा

तनहुँको बन्दिपुर गाउँपालिका वडा नं ६ मा ३३/११ केभीको सराङघाट सबस्टेसन निर्माण सम्पन्न भएको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावर लिले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको हो।

यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिकास्थिति मार्कीचोक सबस्टेसनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ। प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका वडा नं ५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्‍याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ। यसमध्ये एक हजार एक सय ३० मिटर प्रसारण लाइन भूमिगत गरिएको छ।  

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’ मार्फत निर्माण गरिएको प्रसारण लाइन शुक्रबार र सबस्टेसन सोमबार चार्ज गरिएको छ।

तनहुँ जलविद्युत् आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत आयोजना प्रभावित तनहुँ जिल्लामा विद्युतीकरण गर्न र विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन सबस्टेसन र प्रसारण लाइन निर्माण गरिएको हो। आयोजना अन्तर्गतकै तनहुँको शुक्लागण्डकी नगरपालिका-५ स्थिति खैरेनीटार सबस्टेसनबाट घिरिङसम्म १९ किलोमिटर ३३ केभी प्रसारण लाइन र ३३/११ केभीको घिरिङ सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छन्।

सराङघाट सबस्टेसनमा ६/८ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ। स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ। सबस्टेसन मार्फत तनहुँको आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति हुने छ। यसबाट त्यस क्षेत्रका उपभोक्ताहरूले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाउने छन्।

दुई वटा सबस्टेसन निर्माण तथा तनहुँको विद्युतीकरणका लागि इष्ट इन्डिया उद्योग/वाइवा इन्फ्राटेक जेभीसँग २०७५ को मंसिरमा ठेक्का सम्झौता भएको थियो। ग्रामीण विद्युतीकरण अन्तर्गतका सम्पूर्ण कार्य चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलितपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो।

प्रकाशित: ३ फाल्गुन २०७९ ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App