५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

चोभारको बन्दरगाह सञ्चालनमा आउने

नेपाल इन्टरमोडल यातायात विकास समितिले चोभार सुक्खा बन्दरगाहमा आन्तरिक टर्मिनल सञ्चालनमा ल्याउने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा बुधबार बसेको नेपाल इन्टरमोडल यातायात विकास समितिको सञ्चालक समितिकोे बैंठकले आन्तरिक टर्मिनल सञ्चालनको लागि दररेट स्वीकृत गरी सो टर्मिनल सञ्चालनको जिम्मेवारी समितिलाई दिएको छ।

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले यसअघि सुक्खा बन्दरगाहमा भन्सारको मात्रै काम हुने गरेकोमा अबदेखि आन्तरिक टर्मिनल समेत सञ्चालनमा ल्याइने बताए। ‘बन्दरगाहको परिसरमा यसअघि भन्सारको काम मात्रै हुने गर्थ्यो,’ उनले भने, ‘अब आन्तरिक टर्मिनलमा व्यावसायिक मालसामान राख्नेदेखि, प्याकेजिङसम्मको काम गर्न सकिनेछ।’ समितिका कार्यकारी निर्देशक गजुरेलले टर्मिनल सञ्चालनको लागि तयारी अवस्थामा रहेकाले सम्बन्धित सरोकारवाला निकायहरूमा पत्राचार गरी एक/दुई दिन भित्रै सञ्चालन गरिने बताए।

‘आवश्यक केही तयारी गरेर केही दिनभित्रै सञ्चालनमा ल्याइनेछ,’ उनले भने। समितिले व्यापार सहजीकरणको लागि नेपाल सरकारद्वारा निर्माण गरिएको सुक्खा बन्दरगाहमा रहेको आन्तरिक टर्मिनलमा १५० वटा पर्किङ क्षमता, ५४×२४ वर्ग मि. क्षमताको गोदामघर १ वटा, ८० मे. टन क्षमताको सवारी नापतौल, लोड/अनलोड सेड, चालक तथा कामदारहरूको लागि शौचालय आदिको व्यवस्था रहेको छ। समितिले सो टर्मिनल प्रयोगको लागि प्रवेश शुल्क निःशुल्क गर्नुको साथै सकेसम्म न्यूनतम शुल्कमा सवारी साधनहरूको पार्किङ, मालसामानको लोडिङ/अनलोडिङ, सामान राख्ने गोदामघर, लगायतका सुविधाहङ उपलब्ध हुने भएकाले टर्मिनल सञ्चालनमा आएपछि हाल उपत्यकामा भैरहेको अव्यवस्थित मालवाहक सवारी पार्किङबाट हुने दुर्घटना लगायतको जोखिम न्यूनिकरण हुने जनाएको छ।

कार्यकारी निर्देशक गजुरेलले अर्कोतिर आयात/निर्यातकर्ताहरूलाई सडक किनारामा सवारी साधन रोकी मालसामान पल्टी गर्नुपर्ने चर्को मूल्यमा गोदाम शुल्क तिर्नुपर्ने अवस्थाको अन्त्य भई सहज रूपमा पार्किङ, लोड/अनलोड, गोदामघर आदिको सुविधा उपलब्ध हुने बताए। ‘मालसामान आयात निर्यातकर्ताहरूलाई चोभार सुक्खा बन्दरगाह प्रयोग गरी लाभ लिन सक्नेछन्,’ उनले भने।

काठमाडौंमा व्यापार सम्बद्ध भौतिक पूर्वाधारको अभावमा लजिष्टिक व्यवस्थापनमा समस्या भएकोले व्यापार सहजीकरणका लागि एकद्वार प्रणालीबाट आयात/निर्यातकर्ताहरूलाई सेवा प्रदान गर्न निर्माण गरिएको थियो। काठमाडौं प्रवेश गर्ने ढुवानी साधनहरूलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल सरकारबाट निर्माण भएको चोभार सुक्खा बन्दरगाह परिसरभित्र (आयात/निर्यात क्षेत्र) र भारत लगायत अन्य मुलुकबाट आयात/निर्यात हुने सामान लिएर आउने/जाने मालवाहक सवारी साधनको लागि) र (आन्तरिक टर्मिनल) (मुलुकभरबाट काठमाडौं आउने मालवाहक सवारी साधनहरूको लागि लोडिङ/अनलोडिङ, पार्किङ, गोदाम लगायतका सुविधाको लागि) गरी दुई भागमा विभाजन गरी संरचनाहरू निर्माण भएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो सुक्खा बन्दरगाहको २०७५ साल माघ ३ गते शिलान्यास गरेका थिए। यो सुक्खा बन्दरगाहको उद्घाटन भने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ चैत २२ गते गरेका थिए । यो बन्दरगाहको सञ्चालन गत वर्षको चैत २२ गतेदेखि भएको थियो।

उक्त सुक्खा बन्दरगाहभित्र रहेको एक्जिम टर्मिनल सञ्चालनमा आए पनि आन्तरिक टर्मिनल सञ्चालनमा आएको थिएन।  

प्रकाशित: २७ माघ २०७९ ००:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App