५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

उद्योग वाणिज्य संघ इटहरीमा तीन समूहबीच मुख्य प्रतिस्पर्धा

समग्र मुलुककै आर्थिक अवस्था धरासायी भएको बेला उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन यही माघ २८ गते हुँदैछ। उद्योग वाणिज्य संघको भूमिका बलियो बनाउन र उद्योग वाणिज्य संघको गरिमा एवम् महत्व अझ बढाउन मुख्य एजेन्डा लिएर यतिबेला अलग–अलग समूह चुनावी मैदानमा उत्रिएका छन्।

चुनावका लागि चार जना अध्यक्ष नेतृत्वको टीम अहिले उद्योगी–व्यवसायीमाँझ मत माग्न व्यस्त छन्। जसमा तीन जना अध्यक्ष नेतृत्वको टीमबाट मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसबाट दुईवटा समूह कडा प्रतिस्पर्धामा उत्रिएका छन्।

कांग्रेसबाट अध्यक्ष गायत्री कटवाल भण्डारी र जीवन पराजुली नेतृत्वको टीम चुनावी मैदानमा सक्रिय छन्। यस्तै, अध्यक्षकै लागि उम्मेदवारी दिएका कांग्रेस पक्षकै पोखरेलले मंगलबार पराजुली टीमलाई समर्थन गर्ने घोषणा गरे। अर्का कांग्रेस पक्षकै मणिन्द्र कट्वाल पनि अध्यक्षका उम्मेदवार छन्। यद्यपी उनको भने पुरै टीम छैन्। अर्कातिर एमालेका तर्फबाट रञ्जु सिग्देल नेतृत्वको टीम चुनाबी प्रतिस्पर्धामा रहेको छ।

अध्यक्ष भण्डारी नेतृत्व टीमलाई इटहरीका मेयर समेत रहेका कांग्रेसका नगर सभापति हेमकर्ण पौडेलले विज्ञप्ति नै जारी गरेर पार्टीको समर्थन रहेको जनाएका छन्। मंगलबार पराजुली नेतृत्व टीमले अलगै भेला गरेर कांग्रेस र एमाले बाहेक अन्य राजनीतिक दल माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र व्यवसायी समूहलगायतको समर्थन रहेको घोषण गरियो।

उद्योगी व्यवसायीका अनुसार अध्यक्षका उम्मेदवार भण्डारी, पराजुली र सिग्देल नेतृत्वको टीमबाट प्रतिस्पर्धा हुने देखिएको छ। चुनावी प्रतिस्पर्धामा उत्रिएका समूहले बैंकहरुले लागु गरेको नीतिका कारण व्यवसाय सञ्चालन गर्न गाह्रो परेको अवस्थामा  उद्योगी व्यवसायीलाई प्रतिफल दिने गरि काम गर्ने प्रतिबद्दता व्यक्त गरेर मतदाता आफ्नो पक्षमा पार्ने रणनीति अप्नाएका छन्। चुनावी अभियान तिब्र भइरहेका बेला अध्यक्षका उम्मेदवारी भण्डारी नेतृत्व टीमलाई महिला नेतृत्व भएको र लामो समयदेखि इटहरीमा दुःख गरेर व्यवसायिक सफलता हासिल गरेकाले अरुको दुःखमा साथ दिने भनी मतदाता आकर्षित गर्ने गरिएको छ।

अहिलेको कार्यसमितिमा रहेका पराजुली नेतृत्व टीमलाई मत दिएमा थप परिणममुखी काम गर्ने तर्क समूहमा रहेका उम्मेदवारको छ। आफूले गरेका प्रतिबद्दता कार्यान्वयन गरि छाड्ने संकल्प लिएर चुनाबी अभियानमा सक्रिय सिग्देल नेतृत्व टीमले आफ्नो पक्षमै मतदान गर्न मतदातालाई यसरी आकर्षित गरि रहेका छन्।

उद्योग वाणिज्य संघ इटहरीमा निर्वाचनमा एक जना अध्यक्ष, दुई जना वस्तुगत संघ तर्फका सदस्य, दुई जना महिला सदस्य, एक जना एशोसिएट सदस्य, चार जना उद्योग सदस्य र नौं जना वाणिज्य सदस्यमा चुनाबी प्रतिस्पर्धा हुँदैछ। जसमा एशोसिएट सदस्यतर्फ राजीव घिमिरे निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। अन्य पदका लागि ५१ जनाले उम्मेदवारी दिएका छन्। उद्योग वाणिज्य संघका लागि चार हजार ८९९ जना मतदाता रहेका छन्।  

यसैबीच, अध्यक्षका उम्मेदवारी जीवन पराजुली नेतृत्व टीमले मंगलबार उम्मेदवारी घोषणा कार्यक्रम गरि २३ बुँदे संकल्प पत्र सार्वजनिक गरेको छ। संकल्प पत्रमा घर बाहाल कर  स्थानीय सरकारसँग समन्वय गरि ऐन ल्याएर व्यवस्थित गर्ने, पार्किङ् व्यवस्थित गर्ने, बैंक तथा वित्तिय संस्थाको मनपरी ब्याज लिने कार्यको बिरुद्दमा निरन्तर खबरदारी र रात्रीकालिन बजार लगाउन पहल गर्ने उल्लेख छ। यस्तै, स्थानीय उद्योग व्यवसाय प्रबद्र्दन गर्ने, उद्यमशीलता विकासका लागि तालिम गर्ने, स्थानीय प्रोडक्टको मार्केटिङ गर्न र त्यसका लागि न्यु मिडिया तथा डिजिटल मार्केटिङ्को व्यवस्था गर्ने, उद्योग वाणिज्य संघको स्थायी आर्थिक स्रोतको खोजी गरिनेलगायतलाई संकल्प पत्रमा उल्लेख गरिएको छ।  

प्रकाशित: २४ माघ २०७९ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App