२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

खुदोबाट आर्थिक समृद्धिको प्रयासमा मालेपाटन ढोडबेंसीवासी

पुसे पन्ध्र होस् वा माघे संक्रान्ति। पोखरा र यस आसपासका गाउँमा ‘लौ है मालेपाटन ढोडबेंसीको खुदो आयो’ भन्दै टिनका टिन खुदो बोकेर बेच्दै हिंड्ने चलन हराइसकेको छ। यातायातको सुविधासँगै बढ्दो बजारीकरणले बोकेर घरघरमा पुगी खुदो बेच्ने चलन हराए पनि खुदोका लागि आफ्नो विशिष्ट पहिचान बनाएको पोखरा महानगरपालिका-३२ स्थित मालेपाटन र ढोडबेंसीमा अहिले पनि उत्तिकै उखुखेती गरी खुदो उत्पादन गरिन्छ।

मालेपाटन ढोडबेंसी क्षेत्रमा उखु खेती कहिलेबाट गर्न थालियो भन्ने यकिन तिथिमिति नभए पनि करिब दुई सय वर्षअघिदेखि नै यहाँ उखु लगाउने र खुदो उत्पादन गर्ने चलन रहेको पाइएको मालेपाटन कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर पौडेलले बताए।

खुदो यस क्षेत्रको विशिष्ट पहिचान हो, यसको व्यावसायिक खेतीतर्फ स्थानीयवासी आकर्षित छन्’, उनले भने,‘दुई सय वर्षदेखिको उखु लगाउने र खुदो उत्पादन गर्ने ऐतिहासिक परम्परा जोगाउँदै यसलाई अझै व्यावसायिक बनाउनेतर्फ हामीले जोड दिएका छौं।’

सामान्यतः पुसको दोस्रो हप्तादेखि माघको पहिलो हप्तासम्म पोखरा र आसपासका क्षेत्रमा खुदोको कारोबार हुने गर्दछ। नेपाली संस्कृति अनुसार पुसे पन्ध्रमा लटे (अनदीको चामललाई घ्यू खुदोसहित राखेर बनाइने परिकार) खाने र माघे संक्रान्तिमा खुदो चिउरा खाने चलनले पनि यस अवधिमा यसको खोजी हुने गर्दछ।

उखु लगाएको वर्ष दिनमा पेल्न तयार भएको उखु कोलमा पेल्ने, रस निकाल्ने र पकाएर खुदो बनाउने गरिन्छ। समयको गतिसँगै विगतमा काठे कोलमा पेल्ने गरिएको उखु एक दशक अघिसम्म गोरुका माध्यमबाट कोल घुमाएर पेल्ने गरिन्थ्यो। पछिल्ला वर्षमा भने विद्युतीय कोलको प्रयोग गरी उखु पेल्ने गरिएको पौडेलले बताए।

कास्की र आसपासका धेरै स्थानमा विगतमा गर्ने गरिएको उखुखेती लोप हुन लागेको वास्तविकतामा यहाँका स्थानीय यसको व्यावसायिक विस्तारमा जुटेका छन्। व्यावसायिकताको प्रयाससँगै संगठित बनेका यहाँका स्थानीयले २०६७ सालयता मालेपाटन कृषि सहकारी संस्था लिमिटेड स्थापना गरी सञ्चालनमा ल्याएका छन्। सहकारी स्थापनासँगै खुदो र दूधको उत्पादन एवं बजारीकरणसँगै बाख्रा, कुखुरापालन लगायत लगानी गरिंदै आएको छ।

मालेपाटन र ढोडबेंसी क्षेत्रमा विगतमा ७० लाखदेखि एक करोड रुपैयाँसम्म खुदोको कारोबार हुने गरेको थियो। पछिल्ला वर्षमा उखुमा देखिएको रोग, कृषिप्रतिको अनिच्छा लगायत कारणले यसको खेती घट्दै गएको छ। मालेपाटन ढोडबेंसी क्षेत्रमा करिब ९० परिवारले दुई सय रोपनीमा उखु लगाउँदै आएका छन्।

उखु लगाएको एक वर्षमा काट्न तयार हुने र काटिएको लाँक्रा मेसिनमा पेलेर रस निकालिन्छ अनि रस पकाइन्छ।

उक्त रसलाई घण्टौं पकाएपछि खुदो तयार हुन्छ। यहाँका किसानले कोलमा उखु पेल्थे। दाइँमा जस्तै गोरुले कोल घुमाउँथे। यस क्षेत्रमा २०५७ सालदेखि भने नयाँ प्रविधिको प्रयोग गरी मेसिनका माध्यमबाट उखु पेल्ने गरिएको छ। पकाउने काम पनि व्यवस्थित बनाइएको कृषक रामप्रसाद ढकालले बताए।

पहिचान जोगाउन ब्राण्डिङ

मालेपाटन ढोडबेंसीको खुदो भन्दै बजारमा अन्यत्रबाट ल्याइएको खुदो बेच्ने क्रम बढेसँगै अघिल्लो वर्षदेखि यसलाई ब्रान्डिङ गरिएको छ। पोखरा महानगरपालिकाको सहयोगमा ‘स्वादिलो र विश्वासिलो पोखरा-३२ मालेपाटन र ढोडबेंसीको खुदो’ लेखेर सिलबन्दी गरिएको एक लिटरको बोतलमा राखेर गत वर्ष नै बजारमा लगिएकामा यस वर्ष पनि एक हजार बोतल प्याकेजिङ गरिएको सहकारीका अध्यक्ष पौडेलले बताए।

यस वर्ष प्याकेजिङ गरिएकामध्ये पाँच सय बोतल बिक्री भइसकेको जनाउँदै उनले यस वर्ष पनि तराईतिरबाट ल्याइएको खुदो मालेपाटन र ढोडबेंसीको भन्दै ठाउँठाउँमा बिक्री हुने गरेको पाइएको बताए।

गुणस्तर परीक्षणसहित सिलबन्दी खुदोको खुद्रा मूल्य प्रतिलिटर तीन सय ५० रुपैयाँ निर्धारण गरिएको छ। दश लिटरभन्दा बढी लैजान प्रतिलिटर तीन सय २५ रुपैयाँ लिने गरिएको छ। सहकारीका साथै स्थानीयले घरघरबाट पनि खुदो बेच्दै आएका छन्।

महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले मालेपाटन र ढोडबेंसीको खुदो यहाँको पहिचान भएकाले यसको ब्रान्डिङ तथा प्रवद्र्धनका लागि महानगरपालिकाले सहयोग गरेको बताए। महानगरपालिकाले ‘एक वडा, एक उत्पादन’ कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा वडा नं ३२ मा उखुखेतीमा जोड दिने कडरियाले बताए।

विगतमा यस क्षेत्रमा रैथाने काठे र देशी उखु लगाउने गरिएकामा त्यो विस्थापन भई २०५० सालमा स्याङ्जाबाट ल्याइएको रिजाल उखु लगाउने गरिएको स्थानीयवासी बताउँछन्। उखुमा लाग्ने गरेको ढुसीजन्य रोगले उत्पादनमा कमी आएको स्थानीयको गुनासो छ।

यस वर्ष वर्षातको समयमा उखु ढलेपछि चिन्तित बनेका यहाँका स्थानीयलाई औषधि छर्न कृषि ज्ञान केन्द्रले स्प्रे उपलब्ध गराएको थियो। औषधि छरेसँगै क्षतिमा कमी आएको थियो।

उखुबाट आम्दानीको सोच बनाएका स्थानीय यतिखेर तराईको खुदोलाई मालेपाटन र ढोडबेंसीको भन्दै बिक्री गर्न थालिंदा चिन्तित बनेका छन्। करिब ६० देखि ७० कृषकले उखुबाट वार्षिक ६० लाख रुपैयाँ आम्दानी गर्ने गरेकामा वर्षातमा सेतो ढुसीका कारण उखु लड्दा उत्पादन केही घटेको अवसर पारी तराईबाट खुदो ल्याएर मालेपाटन र ढोडबेंसीको भन्दै बेच्ने गरिएको स्थानीयवासी रामप्रसाद ढकालले बताए।

‘पछिल्ला वर्षमा यस क्षेत्रमा उखुको व्यावसायिक खेती हुने गरेको छ, व्यक्तिगत रूपमा नै कतिपयले एक सय ४० टिनसम्म (प्रतिटिन १६-१७ लिटरसम्म हुने) खुदो उत्पादन गर्ने गरेका छन्’, उनले भने। स्थानीयले यहाँको गुणस्तरीय खुदो घरघरबाट प्रतिमाना दुई सय रुपैयाँमा बिक्री गर्ने गरेको उल्लेख गर्दै उनले तराईबाट ल्याइएको कम गुणस्तरको खुदो प्रतिमाना एक सय ४० देखि एक सय ५०रुपैयाँसम्म बेच्दा स्थानीय उत्पादन बिक्री गर्न सस्यामा भएको छ। रासस

प्रकाशित: १८ माघ २०७९ ०४:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App