१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

चम्कियो तीज बजार

ऋषि खतिवडा

काठमाडौं- नारीको महान् पर्व हरितालिका तीजका कारण सामान किनेमेल गर्नेको भिडले सहरबजार तातिरहेको छ। ओइलाएको बजारलाई तीजले ब्युँताउने काम गरेको छ। सहरका अधिकांश फेन्सी पसल, पार्टी प्यालेस, कस्मेटिक सुनचाँदी पसल, फुटपाथदेखि सुपरस्टोरसम्म तीजको किनमेल गर्नेको भिड लागेको छ। अझ जताजतै घन्किरहेको तीजको भाकाले बजारमा विशेष रौनक छाएको देखिन्छ।

नेपाली महिलाले हर्ल्षोल्लासका साथ मनाउनेे तीजका अवसरमा हुने फेसन सो, सांस्कृतिक कार्यक्रम, फुड फेस्टिबलजस्ता कार्यक्रमले समेत बजारमा किनमेल गर्ने महिलाको भिडभाड बढ्दै गएको पाइन्छ। महिलाले गर्ने सोह्रशंृगारदेखि धार्मिक सामग्री, दर, सौभाग्यका उपहार किनमेल गर्नेको संख्या वृद्धि भएको व्यापारी बताउँछन्। फलफूल एवं मिठाइ पसलमा पनि विशेष भिडभाड देखिन्छ।

सबैभन्दा बढी भिड त सुनपसलमा पाइन्छ। गरगहनाले सजिएर तीजमा हिँड्ने महिलाको बेग्लै जमात रहेकाले सुन तथा चाँदीपसलमा ग्राहकको भिड रहने गरेको छ। यस वर्ष सुनको अभाव रहने सुरुआती लक्षण देेखिए पनि हल्लाभन्दा उल्टो बजारमा छ्यापछ्याप्ती सुन पाइएको र स्थिर भाउका कारण व्यापार वृद्धि भएको सुन व्यापारीको भनाइ छ।

बानेश्वरका सुन व्यापारी यज्ञ शाक्यका अनुसार अघिल्लो वर्षको तीजमा भन्दा यो वर्ष सुनचाँदीका गरगहनाको माग बढ्दो छ। उनी भन्छन्, 'यस वर्षको तीजमा काठमाडौंबाट दैनिक ४०–४५ किलो सुन बिक्री भएको छ, यो गत वर्षको भन्दा धेरै हो।'

बजारमा नक्कली गरगहना किन्ने ग्राहकको पनि कमी छैन। 'सुनभन्दा कम छैन, हराएमा डर छैन' भन्ने नारा नै बनाएर खुलेका नक्कली गहना पसलमा पनि भिड देखिन्छ। बढ्दो असुरक्षा तथा नेपालीको आयस्तरका कारण पनि नक्कली गहनातिर महिला आकर्षित भएका हुन्।

फेन्सी पसल तथा बुटिक सञ्चालकहरुलाई पनि भ्याइनभ्याइ छ। खाना खाने फुर्सद नपाउने उनीहरुलाई महिलाका मागअनुसारका फेसन डिजाइन पुर्‍याउन हम्मे छ।

चाबहिलमा फेन्सी पसल सञ्चालन गर्दै आएका शिव पौडेल तीजमा महिलाले धेरै किनमेल गर्ने बताए। उनले महिलाहरु चुजी हुने हँुदा मागअनुसारको डिजाइन पूरा गर्न नसकिएको तर्क राखे।

शृंगार गृहमा पनि महिलाहरु धाउने क्रमले तीव्रता पाएको छ। सुन्धारामा ब्युटीपार्लर सञ्चालनमा गर्दै आएका रमेत रतजका अनुसार एक महिनाअघिदेखि नै ग्राहकको चाप बढ्दै गएको छ। उनी आफ्नो पार्लरबाट  दर खाने महिलाले फेसियल, मेकअफ तथा मेहन्दीलगायत सेवा वृद्धि हुँदै गएको बताउँछन्।

नेपाल कस्मेटिक व्यवसायी संघका उपाध्यक्ष बुद्धि कार्कीका अनुसार तीजको समयमा कस्मेटिकको खपत अत्यधिक हुने गरेको छ। उनले हात गोडामा लगाउने पोलिस, चुरा, पोते, धागो, नक्कली गरगहना, सजावटका सामग्री व्यापारमा अधिक वृद्धि भएको बताए। फेसियल किट, क्लिचिङ मिल्क, स्क्रब, मसाज क्रिमजस्ता सामग्री ब्युटीपार्लरले लैजाने बताउँदै उनले वर्षभरि हुने व्यापारको ३० प्रतिशत व्यापार तीजमा हुने धारणा राखे।

यता, तीजको आगमनसँगै टेलरिङ सेन्टर पनि व्यस्त देखिन्छन्। विशेष गरी तीजमा कुर्तासुरुवाल लगाउने तथा ब्लाउज सिलाउनुपर्ने हँुदा सो स्थानवरपरसमेत भिड लागेको छ।

वर्षैभरि कामकाजबाट फुर्सद नपाउने चेलीले मन खोलेर नाच्ने–गाउने र टाढा रहेका दिदीबहिनीसँग भेट्ने पर्व तीजमा रमाउने गर्छन्। बर्खेझरीमा रु‰दै खेतीपाती सक्नुपर्ने गाउँ होस् या बाह्रैमास भागदौडमा बित्ने सहरमा आफूले सकेको खर्चमा सुकिला भएर मिठो–मसिनो खाँदै राम–रमाइलो मनाउने अवसर भएकाले पनि किनमेल गर्नेको संख्या अत्यधिक छ।

त्यस्तै, दर खाने महिनादिन अघिदेखिको चलनले पार्टी प्यालेस पनि व्यस्त देखिन्छन्। यता, फलफूल पसल तथा मिठाइ पसलमा ग्राहकको भिड बाक्लो देखिन्छ। धार्मिक आस्थाले मनाइने तीजमा पूजा सामग्री किन्नेको समेत भिड देखिन्छ। तीजमा आवश्यक पर्ने दत्तिवनको खोजीमा महिला व्रतालु लागिपरिसकेका छन्।

चाडपर्वका बेला सामाजिक दबाबले पनि महँगो बजारमा सर्वसाधारणको आर्थिक भार बढ्छ। सरकारी संयन्त्रले बजारमा निगरानी र उपभोक्ता हितमा काम नगरे कालोबजारीले चलखेल गर्दै उपभोक्ता लुट्ने गरेको समेत पाइन्छ।

हरेक सालपिच्छे फरक कपडा र गहनाको फेसन गर्ने प्रवृत्ति तथा फेसनका नाममा हुने गतिविधिका कारण नेपाली महिला आलोचित हुने गरेका छन्। शृंगार तथा फेसनका नाममा असभ्य र भड्किलो तरिकाले पर्व मनाउन सम्बन्धित क्षेत्रका विशेषज्ञले सुझाव दिएका छन्। उनीहरुले पर्वमा गरिएको खर्च अनुत्पादक हुने भन्दै परम्परागत रुपमा मनाउँद आएको तीजलाई  आफ्नो क्षमताअनुसार मनाउन आग्रहसमेत गरेका छन्।

प्रकाशित: १८ भाद्र २०७३ ०२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App