१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्रांगारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न  एकजुट भएका छन्। जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाका महिलाले खेर गइरहेको बाँझो जग्गा तथा करेसाबारीमा सिस्नु खेती गरेका छन्।

सुरुमा सिस्नु खेती गर्दा गाउँवासीले गिज्याए पनि अहिले यसले व्यावसायिक रूप लिएपछि अन्य महिला दिदीबहिनी पनि यसतर्फ आकर्षित भएको स्थानीयवासी निर्मला सुनारले बताए।

‘अब सिस्नुको धुलो प्याकेटमा बेच्छौं। चाहिएमा हरियो सिस्नु पनि उपलब्ध गराउँछौं,’ उनले भने। अहिले नवलपुर बजारमा रहेका पसलबाट सिस्नुको धुलो बिक्री भइरहेको छ।

माग आएअनुसार मेलम्ची र चौतारा बजारसम्म यहाँको उत्पादन पुग्ने गरेको छ। सहकारीमा छलफल भएपछि महिलाले यसको खेती सुरु गरेका हुन्। सिस्नुलाई पाउडर, हरियो सिस्नुका साथै अनेक परिकार बनाउने गरिएको जौडाँडा महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष रति थापा मगरले बताइन्।

‘यसलाई एउटा नाम दिएर राजधानी लगायत अन्य स्थानमा पुर्‍याउने लक्ष्य लिएका छौं,’उनले भने, ‘यसका लागि गाउँपालिकामा कुरा गरेका छौं।’ सुरुमा दश जनाको महिला समूहले कृषि उत्पादनमा सिस्नुलाई नै रोजेका हुन्। अहिले गाउँका अन्य महिलालेसमेत सिस्नु खेती गरेका छन्।

‘सिस्नु उत्पादन गर्न थाले यता हाम्रो छुट्टै पहिचान बनेको छ।’

अध्यक्ष थामामगरले भने। सिस्नुबाट महिला समूहले अहिलेसम्म मासिक १५ हजार रुपैयाँसम्म आम्दानी गर्दै आएका छन्। ‘उत्पादन धेरै ठूलो परिणाममा हुने थालेपछि बजारको खोजीमा छौं’ व्यावसायिक सिस्नु खेतीमा रमाएकी सुन्तली नेपालीले भनिन्, ‘त्यत्तिकै खेर गइरहेको सिस्नुबाट घरखर्च चल्ने रहेछ।’

यता-उति यत्तिकै उम्रिरहेका सिस्नुलाई पनि त्यत्तिकै खेर जान दिनुभन्दा बजारीकरणमा जोड दिनुपर्ने उनको भनाइ थियो।

अक्सफाम र महिला आत्मनिर्भरता केन्द्रले सिस्नुलाई धुलो पार्ने उपकरण उपलब्ध गराएपछि महिलाले यो खेतीलाई व्यावसायिक बनाएका हुन्। पच्चिस सदस्यमध्ये दश जनालाई विभिन्न संस्थाले तालिम दिनाका साथै उपकरण उपलब्ध गराएका थिए। सिस्नुको उत्पादन देखेपछि गाउँमा यसको लहर नै चलेको छ। गाउँलेले खेतबारीमा पनि सिस्नुको उत्पादन बढाउन थालेपछि महिलाको समूहमा झनै उत्साह बढेको छ। ठूलो परिणाममा उत्पादन हुन थालेपछि बजारका लागि गाउँपालिकामा  सहकारीले अनुरोध गरेको अध्यक्षले थापामगरेले  बताए। रासस

प्रकाशित: १७ माघ २०७९ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App