१२ श्रावण २०८१ शनिबार
image/svg+xml
अर्थ

जडीबुटी निर्यात हुने चिनियाँ नाका बन्द: कर्णालीको अर्थतन्त्रमा धक्का

कर्णाली प्रदेशका जुम्लासहित मुगु, डोल्पा र हुम्लाका हिमाली भेगका स्थानीयको बलियो आम्दानी जडीबुटी मानिन्छ। पाटनमा पाइने विभिन्न जडीबुटी यार्सागुम्बा, घुच्ची च्याउ, रातो च्याउ, कुड्की जस्ता २२ किसिमका बहुमूल्य जडीबुटीहरूले राम्रो मूल्य नपाउँदा स्थानीय, जडीबुटी किसान लगायत व्यापारीहरू घाटा व्यहोर्न बाध्य भएका छन्।

जडीबुटी निर्यात हुने मुख्य चिनियाँ नाका बन्द हुँदा जडीबुटी सङ्कलन सहित निर्यात घटेको छ।विगतमा जस्तो अन्तर्राष्ट्रिय बजारमा कर्णालीको जडीबुटी निर्यात नभएको डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी खड्गबहादुर महतले बताए।

चिनियाँ नाका बन्द हुन पुगेका कारण जडीबुटी निर्यात सङ्कलन घट्दै गए पछि अन्तर्राष्ट्रिय व्यापार ओरालो लाग्दा बहुमूल्य जडीबुटीले मूल्य नपाएको उनले जनाए।

जुम्लामा ८ वटा स्थानीय तह छन्। जुम्लाका एक नगरपालिका ७ गाउँपालिकामध्ये तातोपानी, गुठी चौर र पातारासी गाउँपालिकाका विभिन्न पाटनमा सबैभन्दा धेरै जडीबुटी हुने गर्दछ। 

डिभिजन वन कार्यालय जुम्लाका अनुसार चालू आर्थिक वर्ष ०७९/८० मा ७६ टन मात्रै जडीबुटी निर्यात भएको देखिन्छ। यो दुई वर्षयताकै आधा कम हो । आर्थिक वर्ष ०७७/७८ मा २ सय २ टन र आर्थिक वर्ष ०७८/८९ मा भने २ सय १ टन जडीबुटी निर्यात भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्गबहादुर महतले बताए।

गत वर्ष पनि कोरोनाका कारण जडीबुटी सङ्कलन रोकेपछि जुम्लाका सयौँ किसानको रोजीरोटी धान्न पनि मुस्किल भएको थियो। यस वर्ष चीनले माग नगर्दा जडीबुटी निर्यात ह्वात्तै घटेको छ ।

यसको प्रत्यक्ष असर कर्णालीको अर्थतन्त्रमा देखिएको छ। जुम्लाबाट सबैभन्दा बढी धुपी, सचेक चिनी, तितेपाती बढी मात्रामा निर्यात हुने गरेको छ। अन्य चिराइतो, सुनपाती, पाखनबेद, सुगन्धवाल, विषजरा, बोझो, अतिस, पदमचाल, गुच्चीच्याउ, अमलबेद, रातो च्याउ, वन लसुन जस्ता २२ किसिमका जडीबुटी निर्यात हुने गरेको डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेशजंग खत्री बताउँछन्।

उनका अनुसार पछिल्लो वर्षमा सबैभन्दा बढी जडीबुटी निर्यात हुने वैदेशिक मुलुक चीनबाट माग नहुनुले जडीबुटीको मूल्यसँगै सङ्कलन र निर्यात घटेको हो।

कार्यालयका अनुसार चालू आर्थिक वर्षमा ७६ टन जडीबुटीबाट १५ लाख ११ हजार ९ सय ७५ रुपैयाँ राजस्व उठेको छ। जसमध्ये सबैभन्दा बढी ६ टन धुपी निर्यातबाट १ लाख ६ हजार राजस्व सङ्कलन भएको छ। सचेक चिनीबाट करिब साढे २ टन निर्यात गर्दा ३ लाख ५१ हजारभन्दा बढी राजस्व सङ्कलन भएको हो।

जुम्लामा चालू आर्थिक वर्षमा हालसम्म गुच्चीच्याउ र साधारण च्याउ निर्यात नभएको बताइएको छ।

प्रकाशित: १६ माघ २०७९ १६:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App