पुनः प्रयोग योग्य वस्तु व्यवसायी संघमा आबद्ध व्यवसायीहरूले कवाडी सामानमा लिइँदै आएको हुँदा कर छुट गर्न सरकारसँग माग गरेका छन्।
घर-घरमा खेर गएका समान तथा वस्तुहरू संकलन गरेर उद्योगहरूलाई कच्चा पदार्थ पुर्याउने व्यवसायीलाई तिनै तहका सरकारले करमा छुट दिनु पर्ने व्यवसायीहरूको माग छ।
नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीले बुटवलमा आयोजना गरेका अन्तरक्रिया तथा पद हस्तान्तरण कार्यक्रममा बोल्ने व्यवसायीले सरकार सँग कर छुटको माग गरेका हुन्।
कार्यक्रममा बोल्दै नेपाल पुनः प्रयोग वस्तु व्यवसायी संघ रुपन्देहीका अध्यक्ष भगवती जैशवालले सरकारले कर छुट गरेर पुनः प्रयोग वस्तु व्यवसायीका व्यवसायलाई उद्योग सरहको मान्यता दिन माग गरे।
कचडा समानहरू खरिद गरी व्यवसाय सञ्चालन गरेको बताउँदै उनले जग्गाको अभावले व्यवसाय संकटमा परेको गुनासो गरे। कचडा तथा कवाडी समानहरू संकलन गरी गुजारा चलाउने व्यवसायीका पसलहरूमा वडा कार्यालयहरूले ताला लगाइदिने काम गरेको गुनासो गर्दै त्यस्तो ज्यादती रोक्न पनि उनले आग्रह गरे।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले सबै पेसा व्यवसायलाई सहज हुने गरी उप-महानगरपालिकाले समान सहयोग गर्ने प्रतिबद्धता जनाए। वैज्ञानिक रुपमा करको दायरा कायम गर्ने भन्दै उनले व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था मिलाउने पनि बताए।
प्रकाशित: १५ माघ २०७९ ०९:२७ आइतबार