वस्तुको गुणस्तर कायम गरी उपभोक्ता ठगिनबाट बचाउन नेपाल गुणस्तर तथा नापतौल विभागले करिब सय वस्तुको गुणस्तर मापदण्ड तयार गरेरको छ। विभागको प्राविधिक समितिले मापदण्ड पास गरेर नेपाल गुणस्तर परिषद्मा पेश गरेको छ।
बजारमा विभिन्न प्रकारका गुणस्तरहीन औद्योगिक वस्तु बिक्री वितरण भइरहेको गुनासो आएपछि विभागले विभिन्न वस्तुको मापदण्ड तयार गरेको हो। विभागले तयार गरेको मापदण्ड नेपाल गुणस्तर परिषद्ले पारित गरेपछि कार्यान्वयन हुन्छ। परिषद्को अध्यक्ष उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रहने व्यवस्था छ।
आम उपभोक्तालाई गुणस्तरीय वस्तु उपलब्ध गराउन गुणस्तर मापदण्ड तयार गरेको नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्रले बताए। ‘९८ वटा वस्तुको गुणस्तर मापदण्ड तयार गरेर प्राविधिक समितिले पास गरिसकेको छ,’ महानिर्देशक मिश्रले भने, ‘परिषद् बैठकको पर्खाइमा छौं।’ परिषद् बैठकबाट पारित गर्ने विभागको तयारी छ। नयाँ मन्त्री आएकाले छिट्टै बैठक बस्न अनुरोध गर्ने विभागले जनाएको छ ।
विभागका अनुसार ऊर्जा व्यवस्थापन प्रणाली, रेफ्रिजेनेटर, शैक्षिक संस्था, पानीको गुणस्तर, चिया, टेक्सटाइल, विभिन्न तेल, खेलौना, मल, फुटवेयर, रबर लगायतका वस्तुको मापदण्ड तयार गरिएको छ। कतिपय वस्तुको मापदण्ड छ भने केहीको परीक्षण गर्ने विधि, प्रक्रियाको पनि मापदण्ड तयार गरिएको छ। उपभोक्ताले प्रयोग गर्ने वस्तु र परीक्षण गर्ने विधि गुणस्तरीय हुन भनेर स्ट्याण्डर्ड तयार गरेको हो।
गुणस्तर मापदण्डमा वस्तुको गुणस्तर मात्र नभएर परीक्षण गर्ने विधिको पनि मापदण्ड हुन्छ। एउटै वस्तुको पनि विभिन्न परीक्षण हुन्छ। वस्तुको स्पेसिफिकेसन तयार गरेर त्यसका आधारमा स्ट्याण्डर्ड बनाइन्छ। सरकारले स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले स्ट्याण्डर्र्ड अनिवार्य गर्न सक्छ। अहिलेसम्म एक हजारभन्दा बढी गुणस्तर मापदण्ड तयार गरिएको छ
विभागले करिब एक हजारभन्दा बढी स्ट्याण्डर्ड तयार गरेको भए पनि केही वस्तुको गुणस्तर स्ट्याण्डर्ड बाध्यकारी बनाएको छ। सिमेन्ट, डन्डी, एलपिजी सिलिन्डर, भल्व, एलिपजीको बोटलिङ प्रक्रिया, कर्कट जस्तापाता, जिआई वायर, बिजुलीको हाउस वायरिङ लगायतमा गुणस्तरलाई अनिवार्य गरिएको छ। ती वस्तुमा विभागले तोके अनुसारको गुणस्तर नभए कारबाही हुन्छ। सरकारले अनिवार्य गरेका गुणस्तर मापदण्ड पनि उद्योगीले उल्लंघन गर्ने गरेका छन्। त्यस्तो अवस्थामा विभागले अुनगमन गरेर कमसल वस्तु उत्पादन गर्नेलाई कारबाही गर्दै आएको छ।
गुणस्तर भन्नाले कुनै वस्तु, सेवा, प्रक्रिया वा प्रणालीको आफ्नो उद्देश्य पूर्ति भएको सुनिश्चित गर्न तयार गरिएको नियम, निर्देशिका वा चारित्रिक गुणको परिभाषाको रूपमा गरेको प्राविधिक विशिष्ट विवरण वा अन्य निश्चित मानांक सम्मिलित लिखित दस्तावेज हो। सरकारले नेपाल गुणस्तर निर्धारण गर्न र त्यस्तो वस्तुमा प्रमाण चिह्न प्रयोगको व्यवस्था गर्न सक्छ। कुनै उत्पादक, निर्माता, वितरक वा सेवा प्रदान गर्ने व्यक्ति वा संस्थाले कुनै वस्तु, सेवा, प्रक्रिया वा प्रणालीको सम्बन्धमा गुणस्तर प्रमाण चिह्न प्रयोगको लागि इजाजत वा गुणस्तर प्रमाणपत्र प्राप्त गर्न चाहेमा विभागले उपलब्ध गराउने गरेको छ।
सरकारले कुनै पदार्थको गुणस्तर निर्धारण गर्न र त्यस्ता पदार्थहरूमा गुणस्तर प्रमाण चिह्न प्रदान गर्न नेपाल गुणस्तर प्रमाण चिह्न ऐन, २०३७ र नियमावली, २०४० अनुरूप तयार गरिने गरेको छ। गुणस्तर कायम गर्ने उद्देश्यले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन २०७७, नेपाल गुणस्तर नियमावली (प्रमाण चिह्न) २०४०, स्ट्याण्डर्ड नापतौल ऐन र स्ट्याण्डर्ड नाप र तौल लगायत ऐन, नियमावलीहरू छन्।
अनियमित नापतौल गर्नेलाई कारबाही
नेपाल गुणस्तर तथा नापतौलमा अनियमित गर्ने ७ हजार ४ सय ४० व्यापारीलाई कारबाही गरेको छ। चालु आर्थिक वर्षको ६ महिना –पुस)सम्म अनियमित नाप्ने तौल यन्त्र प्रयोग गरेकाले कारबाही गरेको विभागले जनाएको छ। व्यापारीले नापतौल वा नाप्ने, तौलने यन्त्र प्रयोग गर्न तोकिएको समयभित्र तोकिएको दस्तुर तिरी आफ्नो नाम दर्ता गराएर अनुमतिपत्र लिनुपर्छ। त्यसविपरीत नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र प्रयोग गरेको पाइएमा कारबाही गरिन्छ। कुनै वस्तुको नाप वा तौलका आधारमा बिक्री वा कारोबार गर्दा जुन नाप वा तौलको परिमाणको खरिद, बिक्री वा कारोबार गरेको हो, उक्त नाप वा तौलले निश्चित गरेको परिमाणभन्दा घटीबढी गरी लिए वा लिन लगाए वा दिए वा दिन लगाए पनि जरिवाना गर्ने कानुनी व्यवस्था छ।
त्यसैगरी कुनै व्यापारीले कुनै स्ट्याण्डर्र्ड नाप वा तौल वा नाप्ने वा तौलने यन्त्र जाली वा घटीबढी बनाए वा बनाउन लगाए वा त्यस्तो जाली वा घटी, बढी नाप्ने वा तौलने यन्त्र जानीजानी सक्कली रूपमा व्यवहार गरे पनि जरिवाना गर्ने विभागले जनाएको छ।
प्रकाशित: १३ माघ २०७९ ०१:०८ शुक्रबार