९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

अकबरे उत्पादनमा हौसिँदै किसान

इलाम- सोयाङ गाविस–९ का तोपबहादुर बस्नेतले यो वर्ष बारीमा २ हजार ५ सय बोट अकबरे खुर्सानी लगाएका छन्। यसबाट करिब १० लाख रुपैयाँ आम्दानी गर्ने योजनामा छन् उनी। ‘यसपालि राम्रो उत्पादन छ,' उनले सुनाए, ‘अकबरे खेतीमा यो वर्ष ४० हजार रुपैयाँ लगानी गरेको थिएँ, १० लाख रुपैयाँ आम्दानीको अनुमान गरेको छु।'

सूर्याेदय नगरपालिका–१ का मदन राईले पनि यो वर्ष ३ रोपनीमा अकबरेका करिब ३ हजार बिरुवा लगाएका छन्। उनका अनुसार १ बोटमा २ किलोभन्दा बढी उत्पादन हुन्छ। अकबरे प्रतिकिलो औसतमा अढाइ सयभन्दा बढीले बिक्री हुन्छ। अकबरेबाट यो वर्ष १५ लाख रुपैयाँ आम्दानी गर्ने उनले अनुमान गरे।

सोयाङकै रुद्र गुरुङ, गम्भीर गुरुङ, टंकनाथ रिजाललगायतले सयदेखि करिब ३ हजार बोटसम्म अकबरे खुर्सानी लगाएका छन्। कम लगानीमा बढी आम्दानी र छोटो समयमा उत्पादन हुने भएकाले अकबरेतिर किसानको आकर्षण बढेको हो। केही दशकयता जिल्लाका किसान अकबरे खुर्सानीको व्यावसायिक उत्पादनमा लागेका थिए। तर, अहिले अकबरेको खेती जिल्लाका धेरै गाउँमा विस्तार भएको हो। प्रत्येक जसो गाउँले किसानका बारी अहिले अकबरेले राताम्य छन्। साउनदेखि मंसिरसम्म जिल्लामा ठूलो परिमाणमा अकबरे खुर्सानी उत्पादन हुने गरेको छ।

तराइमा भन्दा गुणस्तरको उत्पादन हुने भएकाले जिल्लामा अकबरेको बिक्री राम्रै मूल्यमा हुने गरेको छ। केही वर्ष अघिसम्म परिमाण कम हुँदा साढे ४ सय रुपैयाँ प्रतिकिलोसम्म पुगेको अकबरेको मूल्य अहिले अढाई सयदेखि ३ सय रुपैयाँसम्म छ। तर, यो मूल्यमा बिक्री हुँदा पनि लगानीभन्दा निकै आम्दानीमूलक हुने गरेको बस्नेतले बताए। ‘अहिले त अन्य बालीभन्दा अकबरेकै खेती धेरै गरेको छु,' उनले भने, ‘हाम्रो वडा (सोयाङ–९) मा मात्रै ४० भन्दा धेरै किसानले अकबरेको व्यावसायिक खेती गरिरहेका छन्।'

गाउँहरूमा उत्पादित अकबरे खुर्सानीको बजार समस्या पनि छैन। सदरमुकामको धोबीधारामा खुलेको इलाम अदुवा प्रशोधन उद्योगमा अकबरे बिक्री हुने गरेको छ। गाउँबाट पिकअप र ल्यान्डरोभरहरूमा ल्याएर किसानले यहाँ अकबरे बिक्री गर्ने गरेका छन्। यहाँ नुन–पानी प्रयोग गरेर प्रशोधन गरिने खुर्सानी केही वर्षसम्म नबिग्रिने गरी बोत्तलमा प्याक गरिन्छ। प्याक गरिएको अकबरे स्थानीय बजारमै बढी खपत हुने गरेको उद्योगकी सञ्चालिका उषा निरौलाले बताइन्। ‘यहाँ प्रशोधन गरिएको अकबरे जिल्लाकै बजारहरूमा बढी बिक्री हुन्छ,' उनले भनिन्, ‘जिल्ला बाहिरबाट समेत माग आउँछ तर माग धान्न मुस्किल हुने गरेको छ।'

उद्योगले गत वर्ष करिब २० क्विन्टल अकबरे खरिद र प्रशोधनपछि बिक्री गरेको थियो। यो वर्ष ५० क्विन्टलको कारोबार गर्ने निरौलाको लक्ष्य छ। ‘गाउँमा अकबरेको उत्पादन बढेको छ। माग र बजार पनि राम्रो भएकाले यो वर्ष बढाउने सोचमा छु,' उनले भनिन्। उनले यहाँ बोत्तलमा प्याक गरेको अकबरे इलाममात्र नभई फिक्कल, पशुपतिनगर, झापा, विराटनगर र काठमाडौंसम्म पठाउने गरिएको बताइन्। बोतलमा राम्ररी प्याक गरिएको तथा धेरै दिन टिक्ने हुनाले यहाँको खुर्सानी वैदेशिक रोजगारीमा जाने युवाले पनि माग गरेर लैजान्छन्। स्थानीय बजारमा ४ सय ग्रामको प्याकलाई २ सय ७० रुपैयाँसम्म पर्ने गरेको छ। यो अकबरे इलाम घुम्न आउने पर्यटकले घर फर्किदा कोसेलीका रूपमा लैजाने गरेको बिक्रेता बताउँछन्।

जिल्लाका सोयाङ, नामसालिङ, सुम्बेक, सुलुबुङ, गोदक, लक्ष्मीपुर गाउँ र सूर्याेदय नगरपालिकालगायतमा अकबरेको व्यावसायिक खेती हुने गरेको छ। जिल्लामा उत्पादित अकबरे प्रशोधन नभई झापाका बजारमा पनि ठूलो परिमाणमा बिक्री भइरहेको किसान बताउँछन्। गाउँमा उत्पादित खुर्सानीभारतको दार्जिलिङ, सिलिगुडी, मिरिक र तिङलिङसम्म पनि बिक्री हुने गरेको छ।

अकबरेको बिरुवा रोपेपछि यसले ८ महिनामा आम्दानी दिन्छ। मौसम अनुकूल हुँदा यहाँका किसानले अकबरेबाट लाखौं आम्दानी गर्दैछन्। जिल्लाका धेरै गाविसमा किसानले व्यावसायिक अकबरे खेती सुरु गरेको कृषि विकास कार्यालयले जनाएको छ। जिल्लामा आर्थिक वर्ष ०७१/७२ मा ५ सय ९७ मेटि्रक टन अकबरे उत्पादन भएको कार्यालयको तथ्यांक छ। जिल्ल्ााको १ सय ६२ हेक्टरमा अकबरे खेती भइरहेको छ। यसको खेती बर्सेनि बढिरहेको कार्यालयले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७३ ०३:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App