१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अलैंचीको भाउलाइ उछिन्यो चिराइतोले

यसबर्ष जंगलको ‘जडिबुटी’ चिराइतोले ‘खोल्सीको सुन’अलैंचीको भाऊलाई उछिनेको छ। व्यवसायीहरुका अनुसार करिव ८ बर्ष अघि मात्र यस्तो अवस्था थियो। अलैंची व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष भद्रवीर रेग्मीका अनुसार मंगलबार ताप्लेजुङमा सालाखाला अलैंचीको मूल्य प्रतिमन (४० किलोग्रामको) २६ हजार रुपैयाँमा कारोवार भइरहेको छ।

पुच्छर काटेको अलैंचीको भाउभने प्रतिमन २७ हजार रुपैयाँ रहेको रेग्मीले जानकारी दिए। चिराइतो व्यवसायी तथा संकलक गोबिन्दराज बरालका अनुसार मंगलवार चिराइतोको मूल्य प्रतिमन ३० देखि ३१ हजार रुपैयाँ रहेको छ। अलैंची र चिराइतो झापाको बिर्तामोड हुँदै तेस्रो देश जाने गर्छ। अलैंची र चिराइतो दुबै नेपालमा उत्पादनको थोरै हिस्सामात्र प्रयोग गरिन्छ। 

पूर्वी पहाडी तथा हिमाली क्षेत्रका संकलन तथा व्यवसायीले अलैंची र चिराइतो खरिद गरी झापाको बिर्तामोड हुँदै भारतीय बजार पठाउने गरेका छन्। यि दुबै जडिबुटी बिर्तामोडका व्यवसायीले स्थानीय संकलक तथा व्यवसायीबाट खरिद गरी तेस्रो बजारका व्यवसायीलाई बिक्री गर्ने गरेका छन्। चिराइतोका उत्पादक फक्तालुङ गाउँपालिका वडा नं ४ ईखाबु खानीटोलका धनबहादुर लिम्बूले यसपटक चिराइतोको भाउ साविक भन्दा बढी आएकोले धमाधम बिक्री गरेको बताए। उनका अनुसार यसपटक साविकका बर्षहरु भन्दा उत्पादन कम भएपनि भाउ बढी आएकोले किसानहरु हर्षित छन्। चिराईताको स्थानीय संकलक तथा व्यवसायी बरालले उत्पादन कम र माग बढी भएकोले यसपटक चिराइतोको साविक भन्दा बढी आएको बताए। अलैंची संगै चिराइतो समेत खरिदबिक्री गर्दै आएका अलैंची व्यवसायी संघका जिल्ला अध्यक्ष रेग्मीले करिव ८ बर्ष अघि अलैंचीको भाउ भन्दा झण्डै दोब्बर बढी चिराइतोको भाउ रहेको विगत सुनाए।‘तर त्यसपछि यसबर्ष बाहेक अन्य कुनैपनि बर्षमा चिराइतोले अलैंचीको भाउलाई उछिनेको थिएन’रेग्मीले भने। 

यसपटक चिराइतोको भाउमा बिना गिरावट भाउ बृद्धिमात्र भइरहेको व्यवसायीहरुको भनाई रहेको छ। उनीहरुका अनुसार अलैंचीको भाउमा पनि कहिले गिरावट आउने र त कहिले बृद्धि हुने गरी उतारचढाव भइरहेको छ। अलैंची एउटा मसला बाली भएकोले प्राचीन समय देखि नै यसलाई एक महत्वपूर्ण र महङ्गो मसलाको रूपमा प्रयोग गरिंदै आएको छ। यसको तेल मिठाई, केक, पेष्टी आदिलाई सुगन्धित बनाउन प्रयोग गरिन्छ। बीयाँ पान मसालाको रूपमा खाईन्छ। आयुर्बेदिक र यूनानी चिकित्सामा घाँटीदुखेको, फोक्सोमा अवरोध रहेको, आँखाको ढकनी सुन्निएको,पाचन प्रणालीमा गडबडी, फोक्सोको क्षयरोग आदिको उपचार गर्न अलैंचीको प्रयोग गरिन्छ। 

अरब देशहरूमा चिया र कफी बनाउन तथा युरोपियन देशहरूमा उच्चकोटिको मदिरा तयार गर्न टिञ्चर र कफी बनाउन अलैंचीको प्रयोग गर्ने गरेको बताइन्छ। स्वादमा तितो प्रकृतिको जडिबुटी चिराइतोको सम्पूर्ण भाग नै उपयोगी मानिन्छ। आर्युबेदिक पद्धति अनुसार चिराइतोलाई ज्वरो,रुघाखोकी,घाउ खटिरा निको पार्ने काममा प्रयोग गरिन्छ भने स्वाद र रुची बढाउन समेत यसको उपयोग गर्ने गरिएको छ। तर चिकित्सकहरुले यसलाई मात्रा मिलाएर मात्र उपयाग गर्न सुझाएका छन्।  

प्रकाशित: १० माघ २०७९ ११:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App