१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एक सय ८५ मेगावाट बिजुली थपिने

काठमाडौं–चालु आर्थिक वर्षभित्र नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा १ सय ८५ मेगावाट बिजुली थपिने भएको छ । निजी प्रवद्र्धकले निर्माण गरिरहेका आयोजना अन्तिम चरणमा रहेकाले उक्त परिमाणको बिजुली थपिने देखिएको हो ।

प्राधिकरणको केन्द्रीय प्रणालीमा गत आवमा जम्मा ३०.९७ मेगावाट बिजुली थपिएको थियो । प्राधिकरणले निर्माण गरेका १४ मेगावाटको कुलेखानी तेस्रो, ३० मेगावाटको चमेलिया, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३२ मेगावाटको राहुघाट लामो समयदेखि निर्माणाधीन छन् । तर, ती आयोजना चालु आवमा पूरा हुने अवस्था छैन ।

२०६३ पछि सरकार वा प्राधिकरणले कुनै पनि आयोजना निर्माण गरेका छैनन् । निजी क्षेत्रले हरेक वर्ष थप गरेको ५० देखि सय मेगावाट बिजुलीले लोडसेडिङ कम गर्न राहत पु¥याउँदै आएको छ । चालू आवमा थप हुने बिजुलीका लागि प्रसारण लाइन निर्माण आवश्यक देखिन्छ । आयोजना स्थलमा प्रसारण लाइन नबन्ने हो भने उक्त बिजुली पनि नआउने ऊर्जा मन्त्रालयकै अधिकारी बताउँछन् ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने आउँदो हिउँदमा स्वदेशी उत्पादन र भारतबाट आयात गरेर लोडसेडिङ नगन्य अवस्थामा राख्ने दाबी गरेका छन् । ‘हिउँदसम्म कोहलपुर पश्चिम र ढल्केबरबाट पूर्वमा लोडसेडिङ नगन्य हुन्छ तर मध्य क्षेत्रमा लोड बढी भएकाले दैनिक सात घन्टासम्म झारिनेछ,’ उनले भने ।

सरकारले आगामी हिउँदसम्म स्वदेशबाट २ सय मेगावाट उत्पादन हुने र बाँकी भारतबाट आयात गरेर आधारभूतरुपमा लोडसेडिङ घटाउने महŒवाकांक्षी योजना बनाएको छ । आन्तरिक रुपमा करिब २ सय मेगावाट बिजुली उत्पादन भए पनि भारतबाट खरिद गर्ने भनिएको ६ सय मेगावाट बिजुली ल्याउन सम्भव नहुने प्राधिकरणकै अधिकारी बताउँछन् ।

भारतबाट बढी बिजुली किन्न ढल्केबर–मुफ्फरपुर ४ सय केभी प्रसारण लाइन २२० केभी भोल्टेजमा चार्ज हुने गरी निर्माण गर्नुपर्छ । साथै ढल्केबरमा २२० केभीको सबस्टेसन निर्माण नगर्दासम्म भारतबाट थप बिजुली किन्न सकिँदैन । उक्त प्रसारण लाइन अहिले १३२ केभीमा चार्ज गरी प्राधिकरणले अहिले करिब ५० मेगावाट बिजुली किनिरहेको छ ।

आगामी मंसिरसम्म ढल्केबरमा २२० केभीको सबस्टेसन निर्माण नभए मोबाइल सबस्टेसन राखेर बिजुली आयात गर्ने प्राधिकरणको योजना छ । सबस्टेसन निर्माण नगर्ने महँगो मोबाइल सबस्टेसन खरिद गरेर कमिसन खाने दाउमा यस क्षेत्रका दलालहरु सक्रिय भएका छन् । ऊर्जा मन्त्री जनार्दन शर्माले यस्तो सबस्टेसन अत्यावश्यक ठहरिएको खण्डमा मात्र राखिने नत्र नराखिने बताएका छन् ।

प्राधिकरणले आगामी हिउँदसम्म बिजुलीको माग १ हजार ४ सय २३ मेगावाट पुग्ने प्रक्षेपण गरेको छ । आन्तरिक उत्पादनबाट आउने २ सय मेगावाट र भारतबाट ६ सय मेगावाट खरिद गरी लोडसेडिङ नगन्यमा झार्ने लक्ष्य राखिएको थियो । तर, ऊर्जा मन्त्रालय तथा प्राधिकरणले योजनाअनुसार काम नगरेकाले हिउँदको लोडसेडिङ दैनिक ७ घन्टामा झार्न सम्भव देखिँदैन ।

कुलेखानी र चमेलियाको निर्माण करिब ९६ प्रतिशत सकिए पनि ठेकेदार र व्यवस्थापनका कारण ती आयोजना अझै डेढ वर्षयता पूरा नहुने देखिएको छ । प्राधिकरणले भने कुलेखानी आगामी पुससम्म र चमेलिया २०७५ पुससम्म पूरा हुने जनाएको छ । प्राधिकरणका सहायक कम्पनी चिलिमे, अप्पर तामाकोसी हाइड्रोपावर कम्पनी लगायतबाट १४.६ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी र ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी निर्माण भइरहेका छन् । यी सबै आयोजनाको काम पूरा हुन अझै ३ वर्ष लाग्ने देखिएको छ ।

भूकम्पका कारण आयोजनास्थलको विभिन्न ठाउँमा पहिरो गएका कारण निर्माण पूर्ववत अवस्थामा फर्काउन समय लाग्ने प्राधिकरणले जनाएको छ । सबै आयोजनाको काम अहिले सुचारु भए पनि पहिरोकै कारण कामलाई तीव्रता दिन नसकिएको माथिल्लो तामाकोसीका आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए ।

 

प्रकाशित: ४ भाद्र २०७३ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App