१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मध्य तमोरको काम करिव ८० प्रतिशत सकियो

कार्य प्रगतिका हिसावले ताप्लेजुङमा सञ्चालित अहिले सम्मकै ठूलो मानिएको सानिमा मध्य तमोर जल बिद्युत आयोजनाले हाराहारी ८० प्रतिशत काम पूरा भएको जनाएको छ।आयोजना प्रवन्धक डाक्टर मणिराज पोखरेलका अनुसार ७५ प्रतिशत भन्दा माथि र ८० प्रतिशतको छेउछाउ कार्य सम्पन्न भएको छ। 

उनका अनुसार अब जलबिद्युतको भौतिक पूर्वाधारतर्फका लगभग काम सकिएर मेसिनरी जडान र त्यस पछिका कार्य बाँकी रहेका छन्। बीचमा अरु केहि समस्या नआए आउँदो २०८१ साल बैशाख उता ७३ मेगावाट क्षमताको मध्य तमोर जलबिद्युत आयोजनाबाट बिद्युत उत्पादन सुरुहुने देखिएको आयोजना प्रवन्धक पोखरेलले जानकारी दिए। 

 

कोरोना प्रभावले थलिएको आयोजनाको काम त्यहिँ कारण आयोजनामा कार्यरत चिनियाँ मजदुर आफ्नै देश फर्किएपछि लयमा आउन समय लिएको पोखरेलले बताए। उनका अनुसार त्यसपछि सुरु भएको आयोजनाको काम द्रुत गतिमा बढीरहेको छ। बनिसकेको आयोजनाका बिभिन्न पूर्वाधारमा बाढी र पहिरोले पारेको प्रभावका कारण पुर्नःनिर्माण गर्नुपर्ने सहितका कारण आयोजना सम्पन्नताले समय लिएको हो।‘हामीले यो भन्दा अघि नै आयोजना पूरा गर्ने लक्ष्य राखेका थियौं’पोखरेलले भने‘ कोरोना,बाढी पहिरो सहितको समस्या आयो’आयोजना सञ्चालनका बिगतका गतिरोधबारे प्रष्ट्याउँदै पोखरेलले भने। निर्धारित मितिमा आयोजना सम्पन्न गर्नमा गतिरोध सृजना हुँदा आयोजनाको यसपहिले तयार भएको कूल लागत समेत बढेको छ। सुरुमा १२ अर्ब ६६ करोड लागत अनुमान गरिएको आयोजनाको पछिल्लो लागत अनुमान १३ अर्ब ३३ करोड रहेको पोखरेलले जानकारी दिए। अब केहि समस्या नआए लागत र सम्पन्न समायावधि दुबै नबढ्ने पोखरेलको अनुमान छ। 

गत असार मसान्तमा आयोजनाको ३ हजार ३ सय ७० मिटर लामो सुरुङ मार्गमा ‘ब्रेक थ्रु’भएको थियो। अहिले सुरुङमार्गको भित्री संरचनाका कार्यहरु भइरहेका छन्। आयोजनाका लागि ताल(ड्याम) बन्ने मित्लुङ क्षेत्र र पावर हाउस राखिने थुम्बाबेंसी क्षेत्र गरी दुईतिरबाट सुरुङमार्ग खनिएको थियो। ६ मिटर चौडाई र ४ मिटर उचाईको सुरुङमार्ग बनेसंगै अब अहिले त्यो मार्गलाई पक्की गर्ने सहितका कार्य भइरहेका छन्। यस आयोजनाको आंकलित बहाव ७३.७१ घनमिटर प्रति सेकेण्ड र जडित क्षमता ७३ मेगाबाट रहने छ। यसका लागि फुङलिङ नगरपालिका वडा नम्बर १० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिकाको वडा नम्बर १ सावादिनका सिनामा भएर बग्ने तमोर नदीको पानीलाई मित्लुङ भन्ने स्थानबाट करिव १ हजार २ सय मिटर माथि करिव ५० मिटर लम्बाई र ११ मिटर उचाईको बाँध बनाई ७३.७१ घनमिटर प्रति सेकेण्डको पानी साईड इन्टेकमार्फत सावादिनमा बनाइने ढुङ्गा÷ग्राभेल फ्याक्ने संरचनामा पुर्‍ याइने छ। 

आयोजनमा कार्यरत अर्बिट श्रेष्ठका अनुसार यसरी ल्याइएको पानीलाई एकसय मिटर लम्बाई र १३ मिटर चौडाई भएको ३ वटा च्याम्बर भएको ३ वटा बालुवा थिग्र्याउने पोखरीमा पुर्‍ याईने छ। बालुवा थिग्र्याउने पोखरीमा जम्मा भएको बालुवा तथा लेदोलाई २.४ मिटर लम्बाई तथा २.९ मिटर चौडाईको बालुवा तथा लेदो फाल्ने सुँरुङबाट तमोर नदीमाा फालिने छ भने सफा पानी करिव ३ हजार ३ सय ६७ मिटर लामो सुरुङ तर्फ पठाईने  छ। 

यस पश्चात खोक्लिङमा बन्ने करिव ५६ मिटर उचाई र १२ मिटर व्यासको चाँप ट्याङकी हुँदै २ सय १७ मिटर लामो र ४.५ मिटर व्यास भएको पेन स्टोक पाईपबाट प्रस्तावित बिद्युत गृहका रहने स्थल थुम्बाबेसीमा बन्ने १८.८५२ मेगावाट क्षमताका ४ वटा जेनेरेटिङ युनिटमार्फत ७३ मेगावाट बिद्युत उत्पादन हुने भनिएको छ। यसरी निस्किएको पानीलाई ७५ मिटर लामो निकास नहरमार्फत पुन तमोर नदीमा मिसाईने योजना रहेको छ।  उत्पादन भएको बिद्युत आयोजनाको स्विचयार्ड देखि करिव १२ किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइनमार्फत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा प्रस्तावित नेपाल बिद्युत प्राधिकरणको ढुङगेसाँघु सव स्टेशनमा पुर्‍ याई राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।  

प्रकाशित: ६ माघ २०७९ १०:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App