१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रेडपाण्डाको गतिविधि अध्ययन गर्न मोबाइल एप

एक वर्षअघि पाँचथरको फलैचामा भेटिएको रेडपाण्डा।

पाँचथर– लोपोन्मुख वन्यजन्तूको रुपमा रहेको रेडपाण्डाको अवस्था अध्ययनका लागि मोबाइल एप्लिकेशनको प्रयोग गरिने भएको छ। रेड पाण्डा पाइने मेची अञ्चलका पहाडी जिल्ला पाँचथर, इलाम, ताप्लेजुङ(पिआईटी) क्षेत्रमा मोबाइल एप्लिकेशनबाट जानकारी लिने गरी योजना अघि बढाइएको छ।

संरक्षणमा लागेको रेड पाण्डा नेर्टवकले स्थानीय साझेदार संस्थाहरुमार्फत रेडपाण्डा संरक्षणको कार्यक्रम सञ्चालन गरेका तीन जिल्लाका ३१ गाविसमा रेडपाण्डाको अवस्था जानकारी लिनका लागि एप्लिकेशन प्रयोग गर्न लागेको हो। यी जिल्लामा समुदायमा आधारित रेड पाण्डा संरक्षण कार्यक्रमको दोश्रो चरणमा रेडपाण्डाका अवस्था पहिचान गर्न एप्लिकेशन प्रयोगमा ल्याउन लागिएको नेर्टवका संरक्षण संयोजक पेमा शेर्पाले बताइन्।

शेर्पाका अनुसार तीन जिल्लामा रेड पाण्ड पाइने क्षेत्रमा यसको अवस्था, दिसा, जोखिम, वासस्थान, हिँडडुल, अन्य वन्य जन्तुलगायतका जानकारी लिन राखिएका वन अभिभावकले यो एप्लिकेशन प्रयोग गर्ने छन्। ‘प्रत्येक महिना यसअघि पनि फर्म भर्ने काम हुन्थ्यो। कागज भिज्ने, ढिला हुने जस्ता समस्या थियो। आधुनिक प्रविधि उपभोग गरी एप्लिकेशनमार्फत रेडपाण्डाको अवस्था बारे सजिलै जानकारी लिन खोजिएको हो’ शेर्पाले मंगलबार नागरिकसँग भनिन्, ‘एन्ड्रोइड मोबाइलमा इन्टरनेट डाटा कनेक्ट गरी फर्म भर्न सकिन्छ। फर्म भरिसकेर इन्टरनेट कनेक्ट गर्न सकिन्छ । एप्लिकेशनमा फर्ममा राख्नु पर्ने कुराहरु छन्। रेडपाण्डाको वासस्थाना र अवस्था बारे फर्म भर्ने वित्तिकै सिधै जानकारी पाइने छ।’

तीन जिल्लाका रेड पाण्डा पाइने वनमा ५४ जना वन अभिभावक रहेको उनले जानकारी दिइन्। तालिम दिएर रेड पाण्डा संरक्षण र अवस्था पत्ता लगाउन उनीहरुलाई खटाइएको छ। मोवाइल र सिप दिए चाँडै एप्किेशनबाट डाटा इन्ट्री सुरु गर्ने शेर्पाले बताइन्। स्थानीय तहमा रेडपाण्डाको बासस्थान, दिसा, मोहोडा पत्ता लगाउने काम हुने गर्छ।

तीन जिल्लामा दोश्रो चरणको समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रम सुरु भएको छ। सन् २०११ देखि सुरुभएको पहिलो चरणको कार्यक्रम सकिएर सन् २०१६ देखि २०२० सम्मका लागि रेडपाण्डा नेटवर्कले दोश्रो चरणको कार्यक्रम अघि बढाएको हो। रेडपाण्डा पाइने पाँचथरका ६, इलाका १३ र ताप्लेजुङ १८ गाविसमा यो कार्यक्रम सञ्चालन हुने शेर्पाले बताइन्। पाँचथरमा दीप ज्योति युवा क्लव, इलामको उच्च पहाडी जडिबुटी  उत्पादन तथा सरक्षण मञ्च र ताप्लेजुङमा हिमाली सरक्षण मञ्चसँग मिलेर काम अघि बढाउने जानकारी गराइएको छ ।

पाँच वर्षका लागि तीन जिल्लामा ५ करोड ३६ लाख ७४ हजार ३ सय ४७ बजेट रहेको छ। यो मध्ये पाँचथरमा एक करोड ४१ लाख ८५ हजार, इलाममा एक करोड ६७ लाख ७३ हजार र ताप्लेजुङका लागि २ करोड ३४ लाख ८२ हजार बजेट रहेको छ। देशभर मध्ये २५ प्रतिशत रेडपाण्डा तीन जिल्लामा पाइने अनुमान छ। नेपालसहित पाँच देशमा रेडपाण्डा पाइन्छ ।

अध्ययन, अनुगमन, सामुदायिक वन तथा स्थानीय बासिन्दालाई संरक्षण सचेतना जगाउने कार्यक्रम रहेको छ। स्थानीयहरुलाई सचेत बनाई संरक्षणमा लगाउने लक्ष्य छ। स्थानीय विद्यालयमार्फत संरक्षण शिक्षा, पाठ्यक्रम निर्माण तथा लागू, स्थानीयवासीलाई आयआर्जन तथा गोठ सुधारका कार्यक्रम समेत राखिएका छन्। रेडपाण्डाको खानेकुराको अवस्थाको अध्ययन गरी संरक्षण गर्ने काम हुने जानकारी गराइएको छ । यी तीन जिल्लामा रेड पाण्डा सरक्षित क्षेत्र घोषणा गर्ने मुख्य लक्ष्य रहेको छ। विद्यार्थीहरुको रुट सुट क्लब बनाउने, सामुदायिक वनलाई सुदृढ गर्ने बताइएको छ।

स्थानीय समुदायसँगको सहकार्यमा कार्यक्रम अघि बढ्ने दीप ज्योती युवा क्लवका निर्देशक सुनिल बान्तवाले बताए। हालै नेपालका ३६ जिल्लामा रेडपाण्डाको अध्ययन भएको छ। प्रतिवेदन आउन भने बाँकी रहेको बताइएको छ। यसअघि २५ जिल्लामा रेड पाण्डा पाइने क्षेत्र पहिचान भएको थियो।
समुन्द्र सहतबाट २ हजार २ सय मिटरदेखि ४ हजार ८ सय मिटर उचाइसम्ममा रेडपाण्डा पाइने बान्तवाले बताए। यसको संख्या न्यून रहेको छ।
 

 

प्रकाशित: २५ श्रावण २०७३ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App