१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

मल उद्योगको नाममा क्रसर उद्योग संचालन

कास्कीमा सञ्चालित क्रसर उद्योगहरु दर्ताविहीन, मापदण्ड पुरा नगरेको, कर नतिरी सञ्चालनमा रहेको पाईएको अनुगमन समितिले जनाएको छ। जिल्लास्थित नदीजन्य तथा खानीजन्य पदार्थको कास्की जिल्ला अनुगमन समितिले अनुगमन गरेको थियो। यतिसम्मकी की मल उद्योगको नाममा दर्ता गरेर क्रसर उद्योग चलाएको पनि अनुगमनका क्रममा भेटिएको समितिले बताएको छ।  

‘दर्ता नभई सञ्चालन भएका, कर नतिरेका, मापदण्ड पुरा नगरेका क्रसर उद्योगहरु भेटिए,’ अनुगमन समितिका संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले भने, अनुगमनको क्रममा दुई क्रसरलाई बन्द गरिएको छ।’ पोखरा–३३ स्थित शिवशक्ति क्रसर उद्योग र पोखरा–२९ स्थित कार्यसिद्धी क्रसर उद्योगलाई बन्द गरिएको उनको भनाई थियो।  

समितिले केहीदिन यता क्रसर उद्योगको अनुगमन गर्दै आएको छ। सञ्चालन भएका क्रसर उद्योगहरु कम्पनी रजिष्टारमा दर्ता नभएका स्वीकृति नलिई सञ्चालन भएका पाइएको छ। केही उद्देश्य विपरित रहेको समेत भेटिएको उनले सुनाए। ‘दर्ता मल उद्योग सञ्चालनको छ, तर क्रसर उद्योग चलाईरहेको भेटियो,’ उनले भने, ‘उद्देश्य विपरित सञ्चालन भएका उद्योगको बारेमा सम्बन्धित निकायमा ध्यानाकर्षण समेत गराएका छौं।’  

क्रसर उद्योगले खानीजन्य उत्खनन गरेपछि पोखराको खानेपानी पाईप जोखिममा परेको जिल्ला समन्वय समितिले अनुगमनको क्रममा भेटिएको उल्लेख गरेको छ। पोखराबासीले खानेपानीको मुहान नजिकै पनि क्रसर उद्योग छ। त्यही उद्योगले खानेपानीको पाईपको जोखिम बढाएको छ। अनुगमन समितिका संयोजक पौडेलले क्रसर उद्योगले नदीजन्य पदार्थ उत्खनन गरेकै कारण पोखरा–१९ र पोखरा–२५ जोड्ने पक्की पुल गत वर्षायामका भत्किएको जनाए।  

उनले पोखरा नयाँबजारको शान्तिघाटस्थित तमुछोंज धि भन्दा तल रहेको कटान रोक्न बनाईएको पक्की तटबन्ध भत्किने अवस्थामा पुगेको छ। ‘पानीको सतह गहिरिदैं गएको छ। सतह गहिरिएपछि तटबन्ध भत्किने अवस्थामा पुगेको छ,’ उनले भने, ‘सेती नदीबाट खानीजन्य उत्खनन बढी गरेपछि जोखिममा परेको हो।’ उनका अनुसार पर्यावरण नै जोखिममा पर्ने गरी क्रसर उद्योगहरु सञ्चालनमा रहेका छन्। त्यस्ता क्रसर उद्योगलाई हटाई बातावरण संरक्षण गर्ने तर्फ सबै राज्यका निकायको ध्यान जानुपर्नेमा उनको जोड थियो। ठाँउ ठाँउमा स्थापित क्रसर उद्योग बाताबरण तथा बिकासका पूर्बाधारमा समेत असर परेको जनाउँदै त्यस्ता क्रसर उद्योगको स्थलगत अनुगमन गर्ने निर्णय समितिले गरेको थियो।  

क्रसर उद्योगहरूले वातावरण तथा विकासका पूर्वाधारहरुमा समेत प्रतिकुल प्रभाव पारेको गुनासो समिति समक्ष गरेका थिए। जन गुनासो बढेपछि अनुगमन समितिले बातावरणीय असरलाई ध्यानमा राख्दै त्यस्ता उद्योगहरूको बैधता र संचालनको अबस्था बुझ्न अनुगमन गरिएको समितिको भनाई थियो। दुई महिना अघिदेखि नै महानगरपालिकासँग क्रसर उद्योगको दर्ता तथ्यांंक उपलब्ध गराउन पत्रचार गरेपनि महानगरले उपलब्ध गराउन नगराएको उनको आरोप थियो।

‘प्रहरी र घरेलु उद्योग कार्यालयबाट प्राप्त तथ्यांक अनुसार १५ वटा मात्रै क्रस उद्योग रहेको पाईएको छ,’ उनले भने–‘अरु कति छन् यकिन छैन्। दर्ता नभई सञ्चालनमा भएकाको तथ्यांक छैन्।’ कतिपय क्रसर उद्योग नदी एवं खोला किनारमै स्थापित भई नदी एवं खोला उत्खनन गरेको उनको भनाई थियो।  

प्रकाशित: २८ पुस २०७९ ०८:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App