३ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

नारायणगढ-बुटबल सडकखण्ड: चिनियाँ ठेकेदार कम्पनीले काम पनि गर्दैन, ठेक्का पनि तोडिदैन

फाइल तस्वीर

नारायणगढ-बुटवल सडक योजना कार्यालयले असोज र कात्तिक महिनामा दुई पटक सार्वजनिक सूचना जारी गरेर नारायणगढ-बुटबल सडकखण्डको ठेकेदार कम्पनी चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनलाई चेतावनी दिएको थियो। दुवै पटकको सार्वजनिक सूचनामा अपेक्षित गतिमा काम नभएको खण्डमा ठेक्का तोड्ने चेतावनी दिइएको थियो तर सो समयसीमाभित्र पनि ठेकेदार कम्पनीले आफ्नो निर्माण शैलीमा परिवर्तन ल्याएन।

परामर्शदाता कम्पनीको सिफारिसमा ठेकेदार कम्पनीलाई सन् २०२२ को डिसेम्बर मसान्तसम्म (१६ पुस) सम्म फेरि ३० प्रतिशत भौतिक प्रगति पुर्‍याउनुपर्ने नयाँ कार्यतालिका दिइयो। सो समयमा पनि ठेकेदार कम्पनीले पूर्वप्रतिवद्धताअनुसारको काम गर्न सकेन। योजना कार्यालयले अहिले पनि ठेक्का तोड्ने सुरसारै गरेको छैन। ठेकेदार कम्पनीले बारम्बार आलटाल र ढिलासुस्ती गर्दै आइरहे पनि सरकारी निकाय निरीह हुँदै आइरहेका छन्। योजना कार्यालयका अनुसार अहिले यो खण्डको समष्टिगत भौतिक प्रगति २३ प्रतिशत मात्रै भएको छ।

सडक विभाग आयोजना निर्देशनालय एडिबीका निर्देशक सुशिलबाबु ढकालले ठेकेदार कम्पनीलाई डिसेम्बर मसान्तसम्मको अवधिमा ३० प्रतिशत भौतिक प्रगति गराउन निर्देशन दिए पनि सोही अनुसारको उपलब्धि हासिल गर्न नसकेको बताए।

‘निर्माण कम्पनीलाई लक्ष्यको ३० प्रतिशत भौतिक प्रगति गर्न निर्देशन दिएका थियौं तर अहिलेसम्म २३ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ,’ उनले भने ‘विगतको तुलनामा निर्माणको काम केही गरे पनि अझै लक्ष्य अनुसार गर्न सकेको छैन।’

निर्देशक ढकालले निर्माण कम्पनीले पूर्व प्रतिवद्धता अनुसार सडक निर्माणको प्रगति हासिल गर्न नसकेको विषयमा छिट्टै बैठक गरेर समीक्षा गर्न लागेको बताए।

‘ठेकेदार कम्पनीले गरेको प्रतिवद्धता अनुसार सडकको काम हुन सकेन,’ उनले भने ‘सो विषयमा योजना कार्यालय, ठेकेदार कम्पनी र योजनामा लगानी गर्ने एडिबी लगायतसँग त्रिपक्षीय छलफल गर्न लागेका छौं। सो बैठकले आवश्यक निर्णय गर्नेछ।’

निर्देशक ढकालले ठेकेदार कम्पनीले परियोजनामा आवश्यक नगद प्रवाह गर्न नसक्दा पनि सोचेअ नुसारको काम हुन नसकेको बताए। ‘ठेकेदार कम्पनीले जनवरीको पहिलो साताभित्रै पर्याप्त मात्रामा क्यासफ्लो भए निर्माणको कामले गति लिने थियो तर अहिलेसम्म क्यासफ्लो हुन सकेको छैन,’ उनले भने ‘निर्माण कम्पनीको काम गर्ने अनुभव कम भएकाले पनि निर्माणमा समस्या भइरहेको छ।’

निर्देशक ढकालले ठेकेदार कम्पनीले अहिलेको गति नसुधारेको खण्डमा थप गरिएको समयसीमा भित्र सम्पन्न नहुने बताए। ‘ठेकेदार कम्पनीले जति जनशक्ति परिचालन गर्नुपर्ने थियो। सोही अनुसार खटाउन नसक्दा पनि समस्या भएको हो,’ उनले भने ‘अहिलेको लेभलको सुधारले पुग्ने अवस्था छैन। ठेक्का तोड्ने प्रक्रिया अझै टुगिंसकेको छैन। ठेक्का तोड्ने घण्टी अझै झुण्डिराखेको छ। जुनसुकै बेला पनि ठेक्का तोड्न सकिनेछ।’

निर्देशक ढकालले चिनियाँ कम्पनी फिड्रिक कन्स्ट्राक्ट गाइड लाइन बुकमा आधारित डिजाइन अनुसारको ठेक्का लिँदा काम गर्न नसकेको देखिएको बताए। ‘उनीहरूले आफैंले डिजाइन गरेको ठेक्कामा जति काम गर्न सक्छन् अन्यले डिजाइन गरेको ठेक्कामा त्यति काम गर्न सकिरहेका छैनन्।’

योजना कार्यालयले ठेकेदार कम्पनीको काम उपलब्धिमूलक नहुँदा नहुँदै पनि आगामी साउन २२ गतेसम्मको लागि म्याद थप भने गरिसकेको छ। ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसनले नारायणगढ-बुटवल सडक खण्डको ४२ महिनाको अवधिमा २० प्रतिशतभन्दा कम भौतिक प्रगति गरेको थियो। सुरुको ठेक्का सम्झौता अनुसार गत साउन २२ गते योजनाको ४२ महिने म्याद सकिएको थियो।

अहिलेसम्म यो आयोजनाको समष्टिगत भौतिक प्रगति भने २३ प्रतिशत मात्रै छ। यो सडकअन्तर्गत ११३ किलोमिटर सडक स्तरोन्नति गर्ने योजनासहित २०७५ चैत ८ गते उद्घाटन गरिएको थियो। ठेक्का सम्झौताअनुसार यो सडकखण्ड ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। सरकारले आव २०७५/७६ मा ११३ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गर्ने योजना अघि सारेको थियो तर तोकिएको साढे तीन वर्षको भौतिक प्रगति हेर्दा चालु आवमा एक वर्ष म्याद थप गरे पनि सम्पन्न हुने देखिँदैन।

नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गत ११३ किलोमिटर सडक पर्दछ। नारायणगढ–बुटवल पूर्वीखण्डमा ६४.४२५ किलोमिटर सडक पर्छ। त्यसैगरी बुटवल–नारायणगढ पश्चिमखण्ड अन्तर्गत ४८.५३५ किलोमिटर विभाजन गरेर निर्माण गरिँदैछ। यो सडक योजनाको पश्चिम खण्डमा ४८.५३५ किलोमिटर सडक विस्तार तथा स्तरोन्नति गर्नुपर्ने छ।

यो खण्डअन्तर्गत दाउन्ने खण्डमा १० किलोमिटर तीन लेनको सडक विस्तार गरिनेछ। बजार क्षेत्रको ११.२ किलोमिटर सडक भने ६ लेनको विस्तार गरिँदैछ। त्यसैगरी २७.३३५ किलोमिटर सडक चार लेनमा स्तरोन्नति र साना (ठूला गरेर जम्मा ३० वटा पुल निर्माण गर्ने लक्ष्य राखिएको छ। यो आयोजना २०७५/७६ मा निर्माण सुरु गरिएको थियो। यो खण्ड भ्याटसहित ७ अर्ब ८६ करोड रूपैयाँमा ठेक्का लगाइएको हो।

कम्पनीले सडकको सवबेश तयार पार्ने र तीन वटा पुलको फाउण्डेसन तयार पार्ने काम गरिररहेको छ। योजनाका अनुसार अहिलेसम्म १३ वटा साना खालका पुल र तीन वटा ठूला पुल निर्माणको काम भएको छ। अहिले पूर्वी र पश्चिम खण्डको प्रगति २२/२३ प्रतिशत मात्रै छ। अहिले ठेकेदार कम्पनीले १८५ वटा कल्भर्ट निर्माण गर्ने काम गर्दै आइरहेको छ। अर्काेतर्फ कालोपत्रेको ट्रायल पनि सुरु गरिसकेको छ।

नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड) को भौतिक प्रगति पनि २२ प्रतिशतभन्दा कम छ। पूर्वीखण्ड अन्तर्गत ६४.४२५ किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने हुन्छ। जसअन्तर्गत दाउन्ने खण्डमा ४।१ किलोमिटर तीन लेनको सडक विस्तार गरिँदैछ। बजार क्षेत्रमा १७.४ किलोमिटर सडक भने ६ लेनको विस्तार गरिने योजना रहेको छ। त्यसैगरी बाँकी रहेको ४३ किलोमिटर सडक चार लेनमा स्तरोन्नति गर्न लागिएको हो। यस्तै यो खण्डमा साना ठूला गरेर ३४ वटा पुल निर्माण गर्नुपर्ने हुन्छ। यो खण्डको कुल लागत भ्याटसहित ९ अर्ब १३ करोड रूपैयाँमा ठेक्का लगाइएको हो।

प्रकाशित: २८ पुस २०७९ ०३:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App