काठमाडौं- नेपालको विकासको लागि एक अमेरिकी कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी भिœयाउन मद्दत गर्ने भएको छ। फ्रस्ट एन्ड सलिभान एसिया प्यासेफिकका वरिष्ठ साझेदार तथा प्रबन्ध निर्देशक मनोज मेननका अनुसार फ्रस्ट एन्ड सलिभानले नेपाललाई लगानीको उत्कृष्ट थलोको रुपमा विश्वस्तरमा प्रचार गर्न विभिन्न योजना तयार गरेको छ। उनका अनुसार चाँडै नै वृद्धि, आविष्कार र नेतृत्व सम्बन्धी एक सम्मेलन आयोजना गर्नेदेखि कम्पनीले उत्कृष्ट नेपाली कम्पनीहरुलाई पुरस्कृत गर्ने एक विश्वस्तरको प्रतियोगितात्मक कार्यक्रम पनि फ्रस्ट एन्ड सलिभानले गर्ने भएको छ।
यसको लागि फ्रस्ट एन्ड सलिभानले नोपालमा आफ्नो कार्यालय नै खोलेर काम सुरु गरिसकेको पनि उनले जनकारी दिए।
यसै क्रममा उदीयमान बजारको छलफलको शृंखला अन्तर्गत बिहीबार काठमाडौंमा नेपालसम्बन्धी वेबिनार पनि आयोजना गरेको छ। प्रस्तुतिको प्रारम्भमा नेपालको अर्थतन्त्र कसरी विकास हुँदै आएको छ भन्ने सम्बन्धी छलफलबाट सुरु गरिएको उक्त कार्यक्रममा सन् २०२१ सम्ममा नेपाल अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति हुने सम्भावना, यसका तीव्र गतिमा निर्माण भइरहेका विशेष आर्थिक क्षेत्रहरू र हालसालै तर्जुमा गरिएको सार्वजनिक–निजी साझेदारी नीतिको नतिजा स्वरूप पूर्वाधार निर्माणमा भएको थप सहजताबारेमा छलफल गरिएको थियो।
यस्तै, उक्त वेबिनारमा प्रस्तुतकर्ताका रूपमा निवर्तमान अर्थमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता रामशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले सहभागीसँग नेपालको भविष्य, सरकारका प्राथमिकता र लगानीका अवसरबारे विचार दिएका थिए भने नेपालमा रहेका केही ठूला स्थानीय तथा बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिका रुपमा ज्योति समूहका अध्यक्ष पद्म ज्योति र सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक अभिमन्यु पोद्दारले आफ्ना सफलताका कथा सुनाएका थिए।
महतले नेपालको लागि परिकल्पना र देशमा यातायात पूर्वाधार विकासको अवस्थाबारे बोल्दै सरकार आउने जाने भइरहँदा नीतिगन अस्थिरता हुन नहुने बताए। परिकल्पनाको हकमा, नेपालले अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्तति गर्नुको अलावा आफूलाई दु्रत गतिमा वृद्धि भइरहेको उदयीमान बजारको रूपमा पनि स्थापना गर्नुपर्ने उनको सल्लाह थियो। कार्कीले उक्त अवसरमा यातायात पूर्वाधारको हकमा सरकारले थप आबद्धता र सार्वजनिक यातायात प्रणालीको सुधारलाई प्राथमिकता दिएको बताए।
अभिमन्यु पोद्दार र पद्म ज्योतिले व्यवसायहरूले नेपालमा बजार पत्ता लगाउन र विस्तार गर्न सक्छन् भन्नेबारे आफ्नो अनुभव साटासाट गरे।
अन्तर्राष्ट्रिय विज्ञका रुपमा फ्रस्ट एन्ड सलिभानका विश्वव्यापी अध्यक्ष तथा प्रबन्ध साझेदार अरूप जुत्सी, फ्रस्ट एन्ड सलिभान एसिया प्यासेफिकका वरिष्ठ साझेदार तथा प्रबन्ध निर्देशक मेननले नेपालको विकास र आर्थिक वृद्धि योजनाबारे प्रस्तुति दिएका थिए।
मेननले उक्त अवसरमा नेपालले हाल उत्पादन क्षेत्रको विस्तार, ऊर्जाको अवस्थामा सुधार र यातायात पूर्वाधार विकासप्रति व्यक्त गरेको प्रतिबद्धताले नेपालको लगानीको सम्भाव्यता उल्लेख्य रूपमा वृद्धि गर्ने तर लगानीकर्ताहरु विना कुनै सन्देह, नेपालले हाल विद्यमान राजनीतिक अस्थिरतालाई कसरी सामना गरेर अगाडि बढ्छ भनेर नजिकैबाट नियालिरहेका हुने पनि बताए।
उक्त वेबिनारमा प्रमुख आर्थिक वृद्धि उन्मुख क्षेत्रहरू जस्तै जलविद्युत र पर्यटनका क्षेत्रहरूको गतिशीलता र ती क्षेत्रहरूमा भएका उदयीमान अवसरबारे पनि छलफल भयो। नेपालको ऊर्जाको निराशाजनक अवस्था सुधार गर्नमा सहयोग पुर्याउन वैदेशिक लगानीलाई प्रोत्साहित गरिएको भए तापनि राजनीतिक अस्थिरता, बलियो र दृढ नेतृत्वको कमी तथा भौतिक तथा डिजिटल पूर्वाधारको कमी विकासको बाधक रहेको मेननले नागरिकलाई बताए।
त्यस्तै, अर्थतन्त्रको खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रको हकमा, आगामी दुई वर्षमा पर्यटक आगमनको संख्या पुरानै अवस्थामा आइपुग्न भिसा सम्बन्धी नियममा ल्याइएको सुधार, विमानस्थल विकासका क्रियाकलाप र आरोहण स्वीकृतिमा गरिएको विस्तार जस्ता कदमले मद्दत गर्ने उनको अपेक्षा रहेको थियो।
फ्रस्ट एन्ड सलिभान, नेपालका प्रबन्ध निदेशक मंगेशलाल श्रेष्ठका अनुसार संस्थाले उदयीमान बजारबारे वर्षैभरि विभिन्न वेबिनार शृंखला आयोजना गर्नेछ। त्यसपश्चात, सहभागीले फ्रस्ट एन्ड सलिभानका विज्ञहरूसँग वृद्धि रणनीतिसम्बन्धी निःशुल्क संवादमा सहभागी हुने अवसरको पनि फाइदा उठाउन सक्नेछन्।
वृद्धि साझेदारी कम्पनी फ्रस्ट एन्ड सलिभानले आफ्ना ग्राहकसँग विश्वव्यापी चुनौती सम्बोधन गर्ने नविनतम परिकल्पनाहरू र तीसँग सम्बन्धित वृद्धिका अवसरहरू –जसले आजका बजारका सहभागीको सफलता वा असफलता निर्धारण गर्दछन्– बाट फाइदा उठाउनका लागि काम गर्ने उनले बताए।
एकीकृत मूल्य प्रस्ताव (इन्टिग्रेटेड भ्यालु प्रपोजिसन)ले ग्राहकलाई अनुसन्धान, विश्लेषण, रणनीति, परिकल्पना, आविष्कार र कार्यान्वयन सहितका नविनतम परिकल्पना (भिजनरी इनोभेसन)का सबै चरणहरूमा सहायता प्रदान गर्ने, साझेदारी पूर्वाधार पूर्ण रूपमा नविनतम सोच सम्भव बनाउने जस्ता रणनीतिक योजना बनाउन सहयोग गर्ने फ्रस्ट एन्ड सलिभानले ५० वर्षभन्दा धेरै समयदेखि संसारका उत्कृष्ट व्यवसायहरू, उदयीमान व्यवसायहरू, सार्वजनिक क्षेत्र तथा लगानी समुदायहरूका लागि विकासको रणनीति निर्माण गर्दै आएको पनि श्रेष्ठले बताए।
प्रकाशित: १६ श्रावण २०७३ ०५:३७ आइतबार