१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

सब-स्टेसन रोक्नुपर्ने माग गर्दै नौ दिनदेखि बोझीनी आन्दोलित

विद्युतीय सब-स्टेसन निर्माण रोक्नुपर्ने माग राख्दै काठमाडौंको शंखरापुर नगरपालिका-३ बोेझीनीमा सुरु भएको आन्दोलन नौ दिन बित्दा पनि रोकिएको छैन। सरोकारवाला निकायले उचित निर्णय नलिँदा पुस १६ गतेदेखि सुरु भएको आन्दोलन झनै लम्बेर जाने संकेत देखिएको छ। ‘यहाँबाट सब-स्टेसन निर्माण प्रक्रिया नरोकिएसम्म आन्दोलन जारी रहन्छ,’ स्थानीय उर्मिला तामाङ भन्छिन्, ‘मानववस्तीबीच विद्युत्को सब-स्टेसन राख्न हामी दिने छैनौं।’

बोझनीमा निर्माण गर्न लागिएको ४ सय ५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइनको सब-स्टेसनको विरोध गर्दै आएका छन्।

‘हामीलाई जानकारी नै नदिई पूर्णरूपमा विस्थापित गर्न खोजिँदै छ,’ अर्का स्थानीय दीपक तामाङ भन्छन्, ‘राज्यले सब-स्टेसन निर्माण गर्दा स्थानीयको जग्गा हडप्नुको साथै डर, धम्की देखाएर स्थानीयको जग्गा अधिग्रहण गरेका हुन्।’ गाउँका केहीलाई प्रभावित पारेर यस्तो अवस्थामा पुर्‍याएको उनको दाबी छ।

आन्दोलनमा ओर्लेका पुरुषलाई प्रहरीले धरपकड गर्न थालेपछि महिलाहरू आन्दोलनमा आउनुपरेको उर्मिला तामाङले बताइन्। आन्दोलनरत स्थानीयले ‘एमसीसी’ को विरोध गर्दै गृहमन्त्री तथा प्राधिकरणका निर्देशक कुलमान घिसिङको राजीनामासमेत मागेका छन्।

यता नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङ भने सरकारी नियम अनुसार नै जग्गा अधिग्रहण गरिएको भन्दै यसको विरोध गर्नुको कुनै तुक नरहेको बताउँछन्। ‘सबै नियम पुरा गरेर स्थानीयसँग जमिन लिएका हौं,’ उनले भने, ‘अहिले आएर आन्दोलन गर्नुका कुनै अर्थ छैन।’

विगतमा विभिन्न पटक गाउँलेसँग छलफल भएको बताउँदै उनले विद्युत्को कामलाई यसरी रोक्न नमिल्ने बताए। सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतकामा राखेको जायज मागलाई आयोजना निर्माणका क्रममा प्राधिकरणले सम्बोधन गर्दै जाने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

घिसिङले प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा अहिले आएर केही व्यक्तिको उक्साहटमा असम्बन्धित व्यक्तिहरूको माग बमोजिम सब–स्टेसन अन्यत्र सार्न नसकिने प्रष्ट पारेका छन्।

बल प्रयोग गरेको स्थानीयको आरोप

आफूहरूले गरेको आन्दोलनमा प्रहरीले अनावश्यक बल प्रयोग गरेको स्थानीयको भनाइ छ। जायज माग राखेर गरेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको भन्दै स्थानीयले सोमबार राष्ट्रिय मानव अधिकार आयोगमा पनि उजुरी दिएका छन्।

मंगलबार स्थानीयको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा राम तामाङ र लक्ष्मी तामाङ सामान्य घाइते भएका थिए। विरोध प्रदर्शनकै क्रममा आइतबार दुई जना र सोमबार एकजना पक्राउ परेको उनीहरूले बताए। ‘केटाकेटीदेखि बुढाबुढीसम्मलाई चोट लागेको छ,’ दीपक तामाङ भन्छन्, ‘अनावश्यक बल प्रयोग गरेर स्थानीयलाई तर्साउन खोजिएको छ।’

शुक्रबार नगरप्रमुख नरेश नापितले शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीयमाथि हातहतियार देखाउने, अवाञ्छित बल प्रयोग र धरपकड गरिएको बारे ध्यानाकर्षण जनाउँदै प्रहरी दमन तत्काल बन्द गर्न निर्देशन दिएका छन्। बुधबार र बिहीबार आन्दोलनरत स्थानीयमाथि प्रहरी पेस्तोल नै देखाएर बलजफ्तीपूर्ण उत्रिएको उनले बताए।

यसैबीच, काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा आन्दोलनमा उत्रिएका स्थानीय वासिन्दालाई पेस्तोल ताक्ने प्रहरी निरीक्षक (इन्स्पेकटर) विशालबहादुर बुढाथोकीमाथि छानबिन सुरु भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षक बुढाथोकीमाथि छानबिन सुरु गरेको प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए।

जायज माग पूरा गर्छौ: विद्युत् प्राधिकरण

यता नेपाल विद्युत प्राधिकरणले काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित बोजिनीमा स्थानीय प्रभावितहरूको जायज मागलाई सम्बोधन गरी लप्सीफेदी सबस्टेसनको निर्माण अगाडि बढाइएको प्रष्ट पारेको छ।

प्रकाशित: २६ पुस २०७९ ०३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App