६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

इन्धनमा उच्च नाफा उपभोक्ता मारमा

नेपाल आयल निगमले खाना पकाउने ग्यासबाहेक सबै इन्धनमा उच्च नाफा राखेर बिक्री गर्दा उपभोक्ता मारमा परेका छन्। पुरानो ऋण र इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई तिर्नुपर्ने बक्यौता देखाउँदै निगमले पेट्रोल, डिजेल, हवाई इन्धनको मूल्य नघटाउँदा उपभोक्ता महँगोमा इन्धन प्रयोग गर्न बाध्य छन्।

निगमले हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा ९९ रूपैयाँ ५३ पैसा र आन्तरिकतर्फ ४८ रूपैयाँ ८१ पैसा नाफा राखेर बिक्री गरिरहेको छ। त्यसैगरी निगमलाई पेट्रोलमा प्रतिलिटर १४ रूपैयाँ ६६ पैसा र डिजेलमा ७ रूपैयाँ १८ पैसा नाफा छ। उपभोक्ताको ढाड सेक्ने गरी धेरै नाफा राखेर निगमले इन्धन बिक्री गरिरहेको उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले बताए। ‘निगमले विगतको ऋण देखाएर अहिले सस्तोमा इन्धन खरिद गर्दा पनि महँगोमा बिक्री गरिरहेको छ,’ उनले भने, ‘तुरुन्त मूल्य घटाउनुपर्छ।’

निगमलाई १५ दिनमा करिब ९९ करोड रूपैयाँ नाफा भएको छ। निगमले पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन। पछिल्लोपटक आइओसीबाट पेट्रोल २ रूपैयाँ ५४ पैसा, डिजेल २ रूपैयाँ ९५ पैसा, हवाई इन्धन ४ रूपैयाँ १३ पैसा प्रतिलिटर र ग्यास ७८ रूपैयाँ २२ पैसा प्रतिसिलिन्डर मूल्य बढेर आउँदा पनि निगम नाफामा छ।

निगमले धेरै नाफा राखेर इन्धन बिक्री गरेको दाबीसहित कालोबजारी ऐन अन्तर्गत कारबाही गर्न उपभोक्तावादी संघसंस्थाले माग गरेका छन्। उपभोक्ता हित संरक्षण मञ्चले आयल निगम सञ्चालक समितिका पदाधिकारीहरूविरुद्ध प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोमा जाहेरी दिएको छ।

निगमले २० प्रतिशतभन्दा बढी नाफा राखेर इन्धनमा कालोबजारी गरेको मञ्चको आरोप छ। मञ्चका सचिव जयप्रसाद पौडेलले दर्ता गरेको जाहेरीमा कारबाहीसहित मूल्य घटाउन माग गरिएको छ। निगमले अझै १८ अर्ब बक्यौता र ऋण तिर्न बाँकी रहेको भन्दै मूल्य घटाउन आनाकानी गर्दै आएको छ। निगमले आइओसीलाई तिर्न बक्यौता ११ अर्ब रूपैयाँ र सरकारलाई ७ अर्ब रूपैयाँ ऋण तिर्न बाँकी रहेको जनाएको छ।

आइओसीबाट ८५ रूपैयाँ ३५ पैसा प्रतिलिटरमा खरिद गरिएको पेट्रोल करसहित सम्पूर्ण प्रशासनिक खर्च जोड्दा निगमको लागत १६३ रूपैयाँ ३४ पैसा पर्छ। निगमले पेट्रोल अहिले १७८ रूपैयाँमा बिक्री गरिरहेको छ। त्यसैगरी खरिद मूल्य, सम्पूर्ण करसहित १६७ रूपैयाँ ८२ पैसा लागत रहेको डिजेल प्रतिलिटर १७५ रूपैयाँमा बिक्री गर्दै आएको छ।

खाना पकाउने एलपी ग्यासमा भने निगमले घाटा बेहोर्दै आएको छ। १४ सय ९५ रूपैयाँ ९९ पैसा प्रतिसिलिन्डर खरिद गरिरहेको ग्यास प्रतिसिलिन्डर करसहित १८ सय रूपैयाँ बिक्री गरिरहेको छ।

ग्यासमा निगमलाई प्रतिसिलिन्डर ३५९ रूपैयाँ ५० रूपैयाँ घाटा रहेको छ। १४१ रूपैयाँ १९ पैसामा खरिद गरेको इन्धन आन्तरिक हवाई कम्पनीहरूलाई १९० रूपैयाँमा र ११७ रूपैयाँ ७१ पैसामा किनेको इन्धन अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूलाई २१७ रूपैयाँ २४ पैसामा बिक्री गरिरहेको छ। आइओसीबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि निगमले मूल्य समायोजन नगरेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए।

प्रधानमन्त्रीले गत बिहीबार नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष तथा उद्योग, वाणिज्य तथा आपूर्ति सचिवलाई मूल्य घटाउन निर्देशन दिएका थिए। निगमले चालू आर्थिक वर्षको साउनदेखि असोजसम्म निगमले निरन्तर नोक्सानी बेहोरेको थियो। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थालेपछि कात्तिकपछि निगम नाफा गएको छ।

प्रकाशित: २४ पुस २०७९ ०१:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App