काठमाडौं– सरकारले पटक—पटक सञ्चालनमा ल्याउने भने पनि चीनसँग सीमा जोडिएको मुस्ताङको कोरला नाकामा आवश्यक पूर्वाधार निर्माण हुन सकेको छैन । सरकारले नै चासो नदिँदा चीनसँग व्यापार बढाउन विकल्पको रूपमा हेरिएको नाकामा संरचना निर्माण ढिलाइ भएको हो ।
सीमा सुरक्षा पोष्ट, क्वारेन्टाइन, अध्यागमन, भन्सारलगायतका कार्यालयको पूर्वाधार आवश्यक पर्छ । सीमामा चीनले तारबार गरेको छ । चिनियाँ सुरक्षाकर्मीले सिसी क्यामेराले निगरानी राख्ने गरेका छन् तर नेपालतर्फ सुरक्षार्थ खटिएको शसस्त्र प्रहरीको सुरक्षा पोष्ट मुस्ताङ सदरमुकाम जोमसोममा छ ।
प्रहरीको सुरक्षा चौकी कोरलादेखि २५ किलोमिटर वर छ । सिमानाबाट १२ किलोमिटर तल नेचुङमा भंसार र क्वारेन्टाइनका कार्यालयका सामान्य संरचना भए पनि कर्मचारी नबस्ने स्थानीय बताउँछन् ।
चीनले आवश्यक पूर्वाधार तयार गर्न पटक—पटक अनुरोध गरे पनि सरकारी कार्यालयका लागि कुनै संरचना बन्न नसकेको मुस्ताङकी सांसद श्रीमाया थकालीले बताइन् । ‘सरकारले नाका सञ्चालन गर्नेबारे छलफल गरिरहेको छ,’ उनले भनिन्, ‘पूर्वाधार नभएकाले छिटो निर्माण गर्न निरन्तर आग्रह गरेका छौं ।’
नाका सञ्चालन गर्न जतिसक्दो छिटो आवश्यक पूर्वाधार तयार गर्नुपर्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए । ‘नाका र सडक पहुँचको अवस्था राम्रो छ ,’ उनले भने, ‘नाका तत्काल सञ्चालनमा ल्याउन सरकारलाई सुझाब दिएका छौं ।’
नाका अवलोकन गर्न धेरै पटक उच्च सरकारी अधिकारी पुगेर आश्वासन दिए पनि स्थानीयले अनुभूति गर्न पाएका छैनन् । असार तेस्रो साता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वउपप्रधानमन्त्री त्रय विजयकुमार गच्छदार, भीमबहादुर रावल र टोपबहादुर रायमाझीलगयतका सरकारी अधिकारी त्यहाँ पुगेका थिए ।
सरकारले सशस्त्र प्रहरी सीमा सुरक्षा बल र लोमाङ्थाङमा नेपाली सेनाको ब्यारेक राख्नुपर्ने ठहर गरेको थियो । ‘कोरला नाका हामीले सोचेभन्दा सहजै सञ्चालनमा आउन सक्ने देखियो,’ मन्त्री रावलले भने ‘फराकिलो मैदान भएकाले त्यो क्षेत्र बहुउपयोगी हुन सक्छ ।’ चीन–नेपालबीच वस्तु आयात–निर्यात गर्न कोरला नाका उपयुक्त हुने बताएका थिए ।
कोरला समुन्द्र सतहदेखि ४ हजार ६ सय ५० मिटर उचाईमा छ । जोमसोमदेखि कोरलासम्म सडक स्तरोन्नती भइरहेको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख इन्जिनियर राजेश पौडेलले बताए । उनका अनुसार सडक स्तरोन्नती गर्न चार अर्ब १५ करोड रुपैयाँ विनियोजन भएको छ । ‘ठेक्का गरेर निर्माण सुरु भएको छ,’ उनले भने, ‘बेनी—जोमसोम खण्डमा आवश्यक पुल निर्माण चरणमा छन् ।’
व्यवस्थापिका संसदको विकास समितिका सभापति रविन्द्र अधिकारी नेतृत्वको सांसदको टोलीले यसअघि नै नाकाको अवलोकन गरेर सीमासम्म यातायात पहुँच पुगेकाले कोरला नाका खोल्न सकिने निचोड निकालेका थिए ।
जोमसोमबाट सय किलोमिटर दुरीमा रहेको कोरला नाका पुग्न सर्वसाधारणले जिप चढ्ने गरेका छन् । चीनबाट पनि सवारी साधन नाकामै आइपुग्छन् । यातायाले दुवै देशलाई छोए पनि उक्त नाका अहिले बन्द छ ।
नाका नजिकै चिनियाँ चाहानाअनुसार एक साताअघि व्यापार मेला सम्पन्न भएको थियो । त्यही मेलाको अवसरमा उपल्लो मुस्ताङका जनताले वर्ष दिन पुग्ने पुग्ने खाद्यान्नलगायत दैनिक उपभोग्य बस्तु किन्ने गर्छन् ।
सन् २००३ सम्म तिब्बत जान नेपालीलाई सहज पहुँच थियो । चीनले सुरक्षा संवेदनशीलता देखाउँदै तारबार लगाएपछि नाका बन्द भएको हो । नेपालीले चाहेर ढोका खुल्दैन तर चिनियाँ सेनाले चाहे जुनसुकै समय खोल्ने गरिएको छ ।
लामो समयदेखि बन्द रहेको सो नाका खोल्न सन् २०१३ मा तत्कालीन प्रधानमन्त्री डा.वावुराम भट्टराई र चिनीयाँ प्रधानमन्त्री बेन जीयावाओबीच सम्झौता भएको थियो । तर, कार्यान्वयनमा आएको छैन । भारतदेखि चीन पुग्ने सबैभन्दा छोटो सडक (कालीगण्डकी करिडोर) निर्माणाधीन रहेकाले व्यापारिक दृष्टिले पनि नाका तत्काल सञ्चालन गर्नुपर्ने बागलुङका सांसद प्रकाश शर्मा पौडेलले बताए । ‘कोरलादेखि भारत जोड्न कालीगण्डकी करिडोर निर्माणाधीन छ,’ उनले भने, ‘ट्र्याक खोलिएको सडक प्राथमिकतामा राखेर स्तरोन्नती गर्नुपर्छ ।’
‘भारत र चीन जोड्न ४ सय ३५ किलोमिटरको सबैभन्दा छोटो सडक मार्ग हुन सक्छ,’ डिभिजन प्रमुख पौडेलले भने । पोखरा—बागलुङ—बेनी—जोमसोम—उपल्लो मुस्ताङ हुँदै कोरलापास पुगिन्छ । कोरलादेखि जोमसोमसम्म सय किलोमिटर र जोमसोमदेखि म्याग्दी बेनीसम्म ७६ किलोमिटर ट्र्याक खुलिसकेको छ । ७६ किलोमिटरको बेनी—पोखरा खण्डको कालोपत्रे सडक सञ्चालनमा छ ।
तस्बिरः चीनसँग सीमा जोडिएको कोरला नाका ।
प्रकाशित: ११ श्रावण २०७३ ०५:२६ मंगलबार