१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सेयर बजारमा एकै दिन ९ अर्ब ८० करोड गुम्यो

काठमाडौं–सत्तारुढ नेकपा मोओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै सेयर बजारले एकै दिन ९ अर्ब ८० करोड रुपैयाँ गुमाएको छ । सोमबार कुल बजार पुँजीकरण १८ खर्ब ३६ अर्ब रुपैयाँ रहेकोमा मंगलबार घटेर १८ खर्ब २६ अर्बमा झर्दा सेयर बजार मापक नेप्से परिसूचक ९.२० बिन्दुले तल ओर्लेको छ ।

सरकार परिवर्तनको हल्ला चल्नेबित्तिकै नेप्सेमा झन्डै ४८ बिन्दुको गिरावट देखिएको थियो । पछि बजार बन्द हुने बेला स्थिति सुध्रिएर सोमबारभन्दा ९.२० बिन्दु तल आएर रोकिएको छ । सरकार निर्माणका लागि बनेको गठबन्धन टुटेपछिको राजनीतिक तरंगको प्रत्यक्ष प्रभाव पुँजीबजारमा परेको विज्ञ बताउँछन् ।

ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएको समाचार आउनासाथ बजार एकाएक घट्यो । मंगलबार नेप्से परिसूचक १६९३.०७ बिन्दुमा रोकिएको छ । माओवादीले सरकार छाड्ने निर्णय गरेको समाचार आउँदा एकाएक बजारमा सेयर किन्नेभन्दा बेच्नेहरु मात्रै देखिएका थिए ।

त्यसबेला प्रायः सबै सेयरको मूल्य घट्दा सेयर बजार राताम्मे भएको थियो । लगानीकर्ता ‘सेयर बजारमा आगो लाग्यो’ भन्दै निराश भएका थिए । लगानीकर्ताहरु बजार घट्नुलाई आगो लागेको भनेर बुझ्ने गर्छन् । सोमबार पनि नेप्से २०.२६ बिन्दुले ओर्लिएको थियो । दुई दिनमा यो २९.४६ बिन्दुले घटेको छ ।
मंगलबार बजार निकै ओर्लिएपछि नेपाल टेलिकमको सेयर मूल्य बढाएर केही समय सूचक थेग्ने प्रयास पनि भएको थियो । सबै कम्पनी घटेको बेला टेलिकमको सेयर मूल्य तीन प्रतिशतले बढाइएको थियो ।
त्यस्तै मंगलबारबाट कारोबार सुरु भएको जलविद्युत तथा विकास कम्पनी लिमिटेडले पनि बजार थेग्न मद्दत ग¥यो । सगरमाथा इन्स्योेरेन्स, माछापुच्छ्रे, सिद्धार्थ र जनता बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको कारण बजारमा ठूलै पहिरो जानबाट रोकियो । बोटलर्स नेपाल (तराई)को पनि मूल्य बढ्यो ।

कारोबारको मध्यतिर इन्स्योरेन्स कम्पनीका लगानीकर्ता निकै आत्तिए । यो समूहको सूचक ३७८ बिन्दुसम्मले ओर्लिएको थियो । अधिकांश कम्पनीको सेयर मूल्य घट्दा यो समूहका लगानीकर्ता सर्वाधिक गुमाउनेमा परेका थिए ।

बजार ९.२० बिन्दुमा मात्रै घटेर रोकिँदा पनि सबैभन्दा धेरै बिमा समूहका लगानीकर्ताले नै गुमाए । यो समूहको सूचक ९७.२१ बिन्दुले घटेको छ । मंगलबार उत्पादनमूलक समूहको सूचक बढे पनि अन्य समूहको सूचक तल ओर्लिए । बैंक, फाइनान्स, विकास बैंक, होटल र जलविद्युत समूहको सूचक पनि ओर्लिएको छ । मंगलबार तीव्र गतिमा ओर्लिने क्रम रोकिएको छ ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकममा भने केही सुधार देखियो । दिनभरमा एक अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । १ सय ३८ कम्पनीका १६ लाख ३९ हजार २ सय ५७ कित्ता सेयर किनबेच भएको थियो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयले मंगलबार नेपालको पुँजी बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचक ९.२० अंकले घटेको छ । बजार खुलेपछि करिब ७ अंकले सूचक उक्लिसकेको थियो । तर, केन्द्रको निर्णय बजारले थाहा पाउनासाथ एकाएक ४८ बिन्दुसम्मले ओर्लेको सेयर बजार पौने २ बजेदेखि भने पुनः उकालो लागेर बन्द हुँदासम्म ९.२० अंकले घटेको हो ।

मंगलबारको कारोबारपछि सेयर परिसूचक १६९३.०७ मा ओर्लिएको छ । सोमबार यो १७०२.३४ मा थियो । सदा झैं मध्याह्न १२ बजेबाट खुलेको बजारका खरिद–बिक्रीकर्ताले दिउँसो १ बजेतिर माओवादी केन्द्रको निर्णय थाहा पाएका थिए । राजनीतिक अनिश्चितताका कारण त्यसयता सबैजसो कम्पनीको सेयर मूल्यमा गिरावट आएको थियो । नेपाल टेलिकमको सेयर मूल्य उकालो लागेका कारण भने परिसूचकलाई ओरालो झर्नबाट केही भरथेग भएको थियो ।

मंगलबार ५ हजार २ सय १३ कारोबारबाट १ अर्ब १३ करोड ९१ लख ७२ हजार १ सय ७१ रुपैयाँ बजारबरका १६ लाख ३९ हजार २ सय ५७ कित्ता सेयर किनबेच भएको थियो भने  कारोबार रकममा भने सोमबारको तुलनामा केही सुधार देखियो ।
सबैभन्दा बढी बिमा समूहको समूहगत परिसूचक ९७.२१ बिन्दुले घटेको छ । त्यस्तै, जलविद्युत ३४.७७, विकास बैंक २७.२५, वित्त १४.३३, होटल ११.७३ र बैंकिङ समूहको परिसूचक ६.०१ बिन्दुले घटेका छन् ।

तर, उत्पादनमूलक समूहको परिसूचक ३०.९ र अन्य समूहको परिसूचक १९.९७ बिन्दुले उकालो लागेका छन् । यी दुई समूहको परिसूचक उकालो लाग्दा पनि सेयरको समग्र परिसूचकलाई केही भरथेग भएको थियो । वर्तमान सरकार ढल्ने र नयाँ सरकारको अनिश्चिताको डर सेयर बजारमा देखिएको जानकारको भनाइ छ ।

 

प्रकाशित: २९ असार २०७३ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App