२० कार्तिक २०८१ मंगलबार
image/svg+xml
अर्थ

खाद्यान्न बाली छाडेर सुन्तला खेतीमा

बेनी नगरपालिका–३,भकिम्लीस्थित राखु क्षेत्रका कृषकहरुले परम्परागत खेतीबाली लगाउन छाडेर व्यावसायिक सुन्तला खेती गर्दै आइरहेका छन्। परम्परागत रुपमा लगाइने वर्षेबाली अन्तर्गतको मकै, कोदो, फापरलगायत खाद्यान्न बालीको उत्पादन राम्रो हुन नसक्दा कृषकहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका हुन्।

परम्परागत खाद्यान्न बालीले जीवन निर्वाह गर्न समेत मुस्किल परेपछि कृषक व्यावसायिकता तर्फ लागेका हुन्। उनीहरुले १३ वर्षदेखि पुरानो खाद्यबाली नलगाई व्यवसायिक रुपमा सुन्तला जात फलफुल खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन्। उपल्लो र तल्लो राखुका करिब ६५ घरधुरीका कृषकहरुले व्यावसायिक रुपमा सुन्तला जात फलफुल खेतीतर्फ लागेको स्थानीय मनकुमारी पुनले बताइन्। ‘एकजना कृषकले वर्षमा सुन्तला बिक्री गरेर झण्डै पाँचलाख रुपैयाँको हाराहारीमा आम्दानी गरेका छन्,‘न्युनतम पनि सामान्य कृषकले सुन्तला बेचेर १० हजार कमाएका छन्’उनले भनिन्। भकिम्लीका कृषकहरू सुन्तला उत्पादन कृषक समूह बनाएर सामूहिक रुपमा अगाडि बढेका छन् भने वर्षेनी सुन्तला खेती फस्टाउँदै जान थालेको छ।

राखुका कृषकहरुलाई व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित गर्नका लागि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदानमा सुन्तलाका बिरुवा तथा मलबिउको सहयोग, नर्सरी स्थापना र सुन्तला सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको थियो। स्थानीय जातको सुन्तला खेती गर्दै आएका राखुका कृषकहरुले गाउँकै नर्सरीबाट सुन्तलाका बिरुवा लगेर अन्य बगैंचा समेत निर्माण गरेका छन्। यहाँका कृषकहरुको आम्दानीको मुख्य स्रोत नै व्यावसायिक सुन्तला खेती बनेको छ। राखु क्षेत्रका सबै घरमा सुन्तला खेती गरिएको छ। भकिम्लीको राखुसहित मरेक लगायत स्थानमा पनि व्यावसायिक सुन्तला खेती गरिएको छ। थोरै लगानीमा गरेको सुन्तला खेतीले छोटो समयमा नै उत्पादन र राम्रो आम्दानी दिएपछि कृषकहरुको सुन्तला खेतीतर्फ आकर्षण बढ्दै गैरहेको छ। म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ। विरुवा रोपेको ६÷७ वर्षमै सुन्तलाले उत्पादन दिने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ।

कार्यालयबाट सुन्तला बगैंचा तथा कृषकलाई अनुदान र नर्सरी स्थापनामा सहयोग गरिएको छ। ठेकेदार यातायातको साधन लिएरै बारीमा पुग्न थालेपछि विगत एकदशक यता गाउँको सुन्तला सिधै पोखरा, काठमाण्डौसम्मको बजारमा पु्गेको छ। त्यस्तै भकिम्लीको पानीस्वँरा, जिमिरे, तोराखेतबाट यसवर्ष डेढ करोडभन्दा बढीको सुन्तला बजारमा जाने छ। स्वादिलो, गुणस्तरीय र गुलीयोपन भएका सुन्तलाहरू उत्पादन हुने भएकाले राखुको सुन्तलालाई पोखरा र काठमाण्डौको बजारमा सजिलै पुर्याउने गरिन्छ।

जिल्लाका ६ वटै स्थानीय तहको ७ सय १० हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसवर्ष २ सय ८० हेक्टरबाट २ हजार ३१० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ। पकेट क्षेत्रमा बगैचा विस्तार,सुधार, पुराना बोटको मर्मत, सुन्तला ढुवानी गर्ने कार्टनुमा अनुदानका गतिविधिमा कृषकको माग अनुसार सम्बन्धित निकायबाट भने सहयोग हुन सकेको छैन्। स्थानीय तहले समेत सुन्तला पकेट क्षेत्रमा आवश्यकता अनुसारको सहयोग नगरेको कृषकको गुनासो छ। जिल्लामा वार्षिक १७  करोड हाराहारीमा सुन्तला बिक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ।  

बास्कुनामा अन्तर्राष्ट्रियस्तरको सुन्तला बगैँचा

म्याग्दी बेनी नगरपालिका–४ बास्कुनामा लालबहादुर केसीले अन्तर्राष्ट्रियस्तरको बगैँचा व्यवस्थापन र काठमाडौँका व्यापारीलाई समेत सुन्तलाबारीमै पुग्ने वातावरण बनाएपछि अहिले सुन्तला खेतीमा स्थानीयको आर्कषण ह्वात्तै बढेको छ। न्यूजिरल्याण्ड र जापानमा किवी खेतीमा सफल नेपाली व्यवसायीको रुपमा स्थापित केसीको पहलमा गाउँमा बगैचा व्यवस्थापनदेखि स्थानीयलाई सक्रिय बनाएर सुरु गरिएको सुन्तला ब्यवसायले यसवर्ष हालसम्मकै धेरै उत्पादन गरेको छ।

सुन्तला खेतीका लागि जिल्लामा नै चर्चा कमाएका बास्कुनाका लालबहादुर केसी, शेरबहादुर केसी, याम केसी, देउबहादुर हुमेन, तिलक गुरूङलगायतले उच्चस्तरको आधुनिक प्रविधियुक्त सुन्ताला बगैँचामा ध्यान दिएकै कारण अहिले वडाभित्रबाट करिब १ करोडको सुन्तला बजारमा जाने कृषकको भनाइ छ। स्थानीयले सुन्तलाका दाना टिप्ने, गोडमेल गर्ने, औषधि उपचार गर्ने र रोगकीराबाट नियन्त्रण गर्ने प्रविधिको प्रयोग गर्न थालेपछि बास्कुना पूर्ण अग्र्यानिक सुन्तला बगैँचा बनेको छ।

बि.स २०६४ सालमा न्यूजिल्यान्डमा कृषिखेती गरेका केसीको प्रयासमा सुरू भएको सुन्तलाखेतीमा सिङ्गो गाउँनै आकर्षित भएपछि  सरकारी निकायबाटै प्राथमिकतामा राखेर तत्कालिन समयमा कृषि कार्यालयले बास्कुनालाई सुन्तलाको नमुना गाउँ घोषित गरेको थियो। विरुवा हुर्काउने देखि उचित रेखदेखका कारण यहाँ उत्पादन भएको सुन्तला रसिलो र गुलियो हुने भएकाले बोटमा दाना नलाग्दै व्यापारी पेस्की लगाउन आइपुग्ने गरेको स्थानीय यूवा  सन्दिप केसीले बताए।

बास्कुनामा रहेका करिब दुई दर्जन घरधुरीले नै अहिले सुन्तला खेतीलाई व्यावसायिक बनाएका छन्। सबैजसोले धान, कोदो र मकै खेती हुने खेतबारीमा सुन्तलाका बोट रोपेका छन्। अधिकांश व्यवसायीले पोखरा, काठमाडौँ र चितवनसम्म यहाँको सुन्तला लैजाने गरेका छन्, सुन्तला फलाउनेले बजारको खोजीको समस्या नभएको स्थानीयको भनाइ छ। यस वर्ष बास्कुनामा सबैभन्दा थोरै बिक्री गर्नेले एक लाख र बढी बिक्री गर्नेल े१० लाखसम्म सुन्तलाबाट आम्दानी गरेका छन्।

प्रकाशित: १४ पुस २०७९ १३:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App