१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

विराट एक्स्पोमा १५ करोडको कारोबार

विराटएक्स्पो समापन कार्यक्रममा सहभागीहरू। तस्बिर: चुमन बस्नेत /नागरिक<br>

विराटनगरमा मंसिर २९ देखि सुरु भएको विराट एक्स्पो कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी समापन भएको छ। पुस २९ गते देखि आयोजना भएको एक्स्पोमा करिब १५ करोड रुपैयाँको कारोबार भएको एक्स्पो आयोजक समितिले जनाएको छ।

एक्स्पोको प्रचारप्रसार समितिका संयोजक नन्दकिशोर राठीले एक्स्पोमा करिब १५ करोड रुपैयाँको कारोबार भएको र ३ लाख बढी दर्शकले अवलोकन गरेको जानकारी दिए।

समापन समारोहलाई सम्बोधन गर्दै आयोजक उद्योग सङ्गठन मोरङका अध्यक्ष सुय प्याकुरेलले वर्तमान जटिल अवस्थाका बाबजुद आर्थिक एवं औद्योगिक विकास प्रवर्द्धन गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने उद्देश्यले आयोजना गरेको एक्स्पोमा प्रदर्शक, प्रयोजक र दर्शकको उत्साहजनक सहभागिता भएको  बताए।

प्याकुरेलले सङ्गठनले २०५३ सालदेखि निरन्तर रुपमा एक्स्पो आयोजना गर्दै आए पनि एक्स्पो आयोजनाका लागि स्थायी स्थलको अभाव खडकिरहेको बताए। विराटनगरमा स्थायी प्रदर्शनी स्थल निर्माणका लागि उद्योगी व्यवसायीले लामो समयदेखि नेपाल सरकारका सबै निकायहरूमा अनुरोध गरिसक्दा समेत यसतर्फ कसैको चासो नगएको उनको गुनासो छ।

एक्स्पोको अवधिमा ६ वटा थिममा २१ वटा प्राविधिक सत्रहरू संचालन गरिएको उनले बताए। प्याकुरेलका अनुसार एक्स्पोमा उत्पादन लागत घटाउन, लगानी विस्तार गर्न, अग्र तथा पृष्ठ अन्तरसम्बन्ध कायम गर्न तथा नवप्रर्वतक उद्यमशीलताको विकासका लागि नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने विषयहरूमा छलफल भएको छ।

५७ जना विज्ञहरूको उपस्थितिमा भएको प्रत्येक थिमेटिक सेसनमा देखिएको उल्लेख्य सहभागिता र विज्ञहरूबाट भएको प्रस्तुतिले एक्स्पोलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन सफल भएको प्याकुरेलको दाबी छ। एक्स्पोमा उद्योग व्यवसायको व्यावसायिक स्वास्थ्य परीक्षण, तदनुरूपको परामर्श सेवा, रोजगारीका लागि वृत्ति विकास मार्ग निर्देश, सीप विकास तालिमको अवसर, निजी उद्योगहरूमा अन द स्पष्ट रोजगारको अवसर पनि मिलेको उनले बताए।

एक्स्पो समापन कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विराटनगरका उद्योगीहरूले बारम्बार औद्योगिक प्रदर्शनी स्थलको माग गरिरहे पनि प्रदेश सरकारले चाहँदा चाहँदै पनि औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्न नसकेको बताए। बजेटको सीमितताका कारण प्रदर्शनी स्थल निर्माण गर्न नसकेको उनले स्पष्ट पारे।

‘आगामी दिनमा प्रदेश सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रले सहकार्य गरेर औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्नुपर्छ’ मुख्यमन्त्री राईले भने। समापन कार्यक्रममा उत्कृष्ट उद्यमीहरूलाई पुरस्कार गरिएको थियो। जसमा कृषितर्फ सनम फलफूल प्रशोधन उद्योग, उद्योगतर्फ अरिहन्त मल्टिफाइवर्स लिमिटेड, व्यापार अटोमोवाइल होटल तर्फ चन्द्रमा कोसेली तथा मसला उद्योग र प्रायोजक र पेभेलियन अन्तर्राष्ट्रिय तर्फ म्याजिक फुटवयरलाई पुरस्कृत गरिएको थियो।

प्रकाशित: १० पुस २०७९ १५:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App