२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पोखराको जिपलाईन विश्वकै ‘टलेस्ट’ र ‘स्टेपेस्ट’

जिपलाइनको ‘सनराइज प्याकेज’

हाईग्राउण्ड एडभेन्चर नेपालले संचालन गरेको जिपलाईनले पाएको अवार्ड सार्वजनिक गर्दै निर्देशक दिनेश महर्जन। तस्बिरः सन्तोष पोखरेल/नागरिक

पोखरामा संचालित जिपलाईनले विश्वकै टलेस्ट (अग्लो) र स्टेपेस्ट (भिरालो) जिपलाईनको अवार्ड पाएको छ। विश्वका साहसिक गतिविधिका प्रडक्टबारे अध्ययन गरेर अवार्ड दिने संस्था अफिसियल वल्र्ड रेकर्ड (ओडब्लुआर)ले हाईग्राउण्ड एडभेन्चर नेपालले संचालन गरेको जिपलाईनलाई ‘टलेस्ट’ र ‘स्टेपेस्ट’ को अवार्ड दिएको हो।  

हाईग्राउण्ड एडभेन्चर नेपालका निर्देशक दिनेश महर्जनले जिपलाइनले विश्वकै अग्लो र भिरालोको अवार्ड पाएको बताए। उनका अनुसार यत्तिको ठाडो दुरीमा संचालित जिपलाइन अन्यत्र कतै छैन। त्यस्तै भिरालो दुरीमा संचालित जिपलाइन पनि यही नै रहेको उनले बताए।  

महर्जनका अनुसार पोखराको सराङकोटमा माथिल्लो र हेम्जामा तल्लो स्टेशन रहेको यो जिपलाईन १८ सय ५० मिटर लामो छ। यसको माथिल्लो स्टेशन समुन्द्री सतहदेखि १५५० मिटर उचाईमा र तल्लो स्टेशन ९५० मिटरमा छ। पर्यटकले १५५० मिटरको माथिल्लो स्टेशनबाट ९५० मिटरको तल्लो स्टेशनसम्म जिपलाईन गरेर साहसिक अनुुभव बटुल्ट पाउँछन्।

‘माथिल्लो र तल्लो स्टेशनको भर्टिकल उचाई ६ सय मिटर छ। त्यसले गर्दा यो विश्वकै अग्लो जिपलाइनमा पर्छ,’ उनले भने। त्यसबाहेक यो जिपलाईनको दुइ स्टेशनबीच ५६ डिग्रीको स्लोप भएकोले पनि यसले ‘स्टेपेस्ट’ अवार्ड पाएको उनले बताए।  

‘भिन्दै पहिचान बनाउन सफल भएका छौ। स्पेनस्थित अफिसियल वल्र्ड रेकर्डले लामो समय लगाएर अध्ययन गरेर मात्र यो अवार्ड दिएको हो,’ उनले भने, ‘यसले समग्र नेपालकै साहसिक पर्यटकीय गतिविधिको प्रवद्र्धन गर्न सघाएको छ ।’ पोखरा पर्यटन क्षेत्रका लागि यो अवार्ड पाउनु खुसीको कुरा भएको उनले बताए। ‘समग्र नेपालको पर्यटन क्षेत्रका लागि पनि यसले सहयोग गर्छ। नेपाल आउने साहसिक पर्यटकलाई यसले पोखरासम्म तान्न सघाउँछ,’ महर्जनले भने।  

महर्जनका अनुसार कुनैपनि प्रडक्टलाई विश्वभरिको उत्कृष्टको पहिचान दिलाउने तीनवटा आधिकारिक निकाय छन्। अफिसियसल वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड र गिनिज बुक अफ दी वल्र्ड रेकर्डका तिनवटा निकाय छ। ती मध्ये तिनवटै निकायका हाईग्राउण्ड एडभेन्चरले अवार्डका लागि आवेदन दिएको थियो। त्यसमध्ये अफिसियल वल्र्ड रेकर्डले भने एकवर्षको अध्ययन पश्चात अवार्ड दिएको उनले बताए। वल्र्ड बुक अफ रेकर्ड र गिनिज बुक अफ दी वल्र्ड रेकर्डले पनि अध्ययन गरिरहेका छन्। तीनवटै निकायबाट यस्तै अवार्ड पाउनेमा आफुहरु आशावादी रहेको उनले बताए।  

‘यो सहजै पाउने अवार्ड होईन, हाम्रो बारेमा उनीहरुले आफ्नै तरिकाले अध्ययन गरिरहेका हुन्छन। कम्तिमा एकवर्ष उनीहरुले अध्ययन गर्छन। त्यसपछि मात्र यो अवार्ड दिने हो,’ उनले भने, ‘कसैको दवाव वा भनसुनमा पाइने कुरा होईन। वास्तविकतामा आधारित रहेर मात्र यो अवार्ड पाइन्छ।’ 

उनका अनुसार यो खालको जिपलाईनको अनुभव अन्यत्र कतै गर्न पाइँदैन। दुरीको हिसाबले अन्यत्रको जिपलाईन पनि लामो हुन सक्ने भएपनि ठाडो र स्लोपमा भने पोखरामा मात्र यस्तो जिपलाईन रहेको उनले सुनाए।

यो जिपलाईनको दुरी पुरा गर्न करिब डेढ मिनेट मात्र लाग्छ। करिब १३० किलोमिटर प्रतिघण्टाको गतिमा पर्यटकले जिपलाइन गर्न पाउँछन्। पर्यटकको तौल अनुसार गति पनि तलमाथि हुने उनले सुनाए। माछापुच्छ«े र अन्नपूर्ण हिमश्रृंखला अवलोकन गर्दै पर्यटकले यहाँ जिपलाइन गर्न पाउँछन्। अहिले दिनमा करिब ५० जनाले यो जिपलाईनको अनुभव लिईरहेको उनले सुनाए।

जिपलाइनको ‘सनराइज प्याकेज’

हाईग्राउण्ड एडभेन्चर नेपालले दशक अघि पोखरामा जिपलाइन सेवा सुरु गरेको थियो। पोखरा भित्रिने साहसिक पर्यटकको ध्यान तान्नका लागि जिपलाइन सुरु गरेको हाईग्राउण्ड एडभेन्चरले अहिले जिपलाइनसँगै बञ्जी र स्वीङ पनि संचालन गरेको छ। केही महिनादेखि एटिभी पनि चलाईरहेको छ।  

निर्देशक महर्जनका अनुसार अहिलेसम्म संचालितमध्ये पर्यटकीय गतिविधिमध्ये अधिकांश दिनको समयमा मात्र हुने गरेका छन। तर, बिहानै केही गतिविधिमा रमाउन चाहने पर्यटकका लागि प्रडक्ट नभएको अवस्थामा हाईग्राउण्ड एडभेन्चरले सनराइज प्याकेज भनेर जिपलाइन सेवा सुरु गरेको छ। यो प्याकेजमा रमाउन चाहने पर्यटक बिहानै सूर्याेदयको दृष्य अवलोकन गर्दै साहसिक गतिविधिमा रम्न पाउँछन्।  

‘धेरै पर्यटक सनराइज हेर्नका लागि मात्र बिहान सबैरै सराङकोट उक्लिएका हुन्छन्। तर, अब हामीले सनराइजसँगै जिपलाइन पनि दिने व्यवस्था मिलाएका छौ। यसले पर्यटकलाई सूर्याेदयसँगै जिपलाईनको मज्जा दिलाउनेछ,’ महर्जनले भने। यो प्याकेजमा जाने पर्यटकलाई बिहानै पाँचबढे सराङकोट उकाल्ने र नास्ना खुवाएर जिपलाईन मार्फत हेम्जा ओराल्ने उनले बताए।

‘सनराइज मात्र गराउनुको साटो साहसिक गतिविधिमा पनि संलग्न गराउन चाहेका हौ,’ उनले भने। उनका अनुसार प्रतिव्यक्ति १२ हजार रुपैयाँमा यो प्याकेजमा रमाउन पाइन्छ। ‘पोखराका अधिकांश गतिविधि दिउँसो मात्र थिए। बिहान सनराइज हेर्नेको सराङकोटमा भीड लाग्छ। अरु गतिविधि नहुँदा पाहुना खुम्चिएर बस्नुपरेको थियो,’ उनले भने, ‘तर, अब जिपलाइन बिहानै सुरु भएको छ। यसअघि ९ बजेपछि मात्र हुने गरेको थियो। एडभेन्चर रुचाउनेलाई बिहान मौका दिएका हौ।’  

प्रकाशित: १० पुस २०७९ १०:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App