१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

आधादर्जन अन्तर्राष्ट्रिय हवाई कम्पनिको पोखरामा चाँसो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो प्रदर्शनको क्रममा अवतरण गरेको बुद्ध एयरको जहाज। तस्बिरः उमेश पुन÷नागरिक

अंग्रेजी नयाँवर्षको पहिलो दिन २०२३ जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउँदैछ। विमानस्थल संचालनमा आएसँगै आन्तरिक उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै सुरु गर्ने तयारी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले गरिरहेको छ। आन्तरिक बाहेक अन्तर्राष्ट्रिय उडानको तयारीमा पनि आन्तरिक वायुसेवा कम्पनि जुटिसकेको छन।

आन्तरिक वायुसेवा कम्पनिको तयारी बाहेक अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिले पनि पोखराको यो विमानस्थलसम्म सिधा उडानका भर्नका लागि चाँसो दिएका छन्। प्राधिकरणका अधिकारीका अनुसार पर्यटकीय क्षेत्रसम्मको पहुँच सहज हुने भएकोले अन्तर्राष्ट्रिय हवाई कम्पनिले अहिले पोखरासँगको व्यवसायिक सम्भाव्यता अध्ययन गर्दै सिधा उडान गर्न सकिने बारे चाँसो दिएका छन्। विभिन्न सहरलाई पोखरासँग हवाई माध्यममार्फत जोड्ने योजना ती कम्पनिको छ।

पोखरा विमानस्थलका प्रमुख बिक्रम गौतमका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय गरि आधादर्जन हवाई कम्पनिले  विभिन्न सहरदेखि पोखरासम्म सिधा उडानका लागि चाँसो देखाएका छन्। गौतमका अनुसार  कुवेतको जजिरा, थाइल्याण्डको थाई स्माईल, कतार एयरवेज, फ्लाई दुवइ र स्वदेशी कम्पनि हिमालय एयरलाइन्सले पोखरासम्म सिधा उडान गर्न चाँसो देखाएका छन्। त्यसबाहेक विमानस्थल सुरु भएको पहिलो दिन नै बुद्ध एयरले अन्तर्राष्ट्रिय उडानको सुरुवात गर्ने चाहना बमोजिम पोखरादेखि भारतको वनारसम्म सिधा उडान गर्नका लागि प्रक्रिया अघि बढाइसकेको उनले बताए।

‘आन्तरिक र अन्तर्राष्ट्रिय हवाई कम्पनिले पोखरासम्म सिधा उडानका लागि चाँसो देखाएका छन । तर, अझै यकिन भने भईसकेको छैन,’ गौतमले भने, ‘बुद्ध एयरले भने तयारी अघि बढाईसकेको छ। पोखरालाई भारतको वनारससम्म जोड्ने बुद्धको योजना छ।’ बुद्धले आगामि मार्च १ देखि भारतको वनारसम्म पोखरादेखि व्यवसायिक उडानका लागि प्रयास भईरहेको यसअघि नै बताईसकेको छ। तर, नयाँवर्षको पहिलो दिन जनवरी १ मा पोखरा–वनारस डेमो उडान गर्ने बुद्धको तयारी छ।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान गर्नका लागि आन्तरिक र केही अन्तर्राष्ट्रिय एयरलाइन्सले चाँसो दिईरहेका छन,’ गौतमले भने, ‘पोखरासम्मको व्यवसायलाई उनीहरुले विश्लेषण गरिरहेका छन्। यात्रु चाँप, सम्भावित कार्गाे लोडबारे एयरलाइन्सले आन्तरिक रुपमा विश्लेषण गरिरहेका छन्।’ पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल उडान र अवतरणका लागि तयार भएको सन्देश पुगेपछि एयरलाइन्सले चाँसो बढाएको उनले बताए।

गौतमले पोखरामा बनेको अन्तर्राष्ट्रिय विमानस्थल पोखराको मात्र नभई समग्र मुलुककै प्रडक्ट भनेर नेपालले अन्तर्राष्ट्रिय बजारमा जानकारी दिईसकेको बताए। ‘हामीले राम्रो प्रडक्ट बनाएका छौ भनेर अन्तर्राष्ट्रिय बजारमा जानकारी दिएका छन्। यहाँको प्यासेन्जर र कार्गाे लोड हेरेर उनीहरुले उडान भर्ने हुन,’ गौतमले भने, ‘व्यवसायिक सम्भाव्यता हेरेरै अघि बढ्ने हुन।’ पोखरा पर्यटकीय सहर भएकोले पोखराको यो विमानस्थलसम्म अन्तर्राष्ट्रिय उडान भिœयाउनका लागि पर्यटन क्षेत्रले पनि योगदान दिनुपर्ने उनले बताए।  

‘पोखरामा पर्याप्त पर्यटक आउँछन् । त्यसले गर्दा अन्तर्र्राष्ट्रिय उडान गर्नुपर्छ र उडान पनि टिकाउ हुन्छन् भनेर सन्देश पनि दिनुपर्छ,’ उनले भने, ‘हवाई उडानमा यात्रु अभाव नुहने गरि माहोल बनाउनुपर्छ। पर्यटकको आकार बढाउन सक्ने हो भने विमानस्थल संचालनमा समस्या हुँदैन।’ पर्यटन व्यवसायीका अनुसार नेपाल भित्रिएका विदेशी पर्यटकको करिब ४० प्रतिशत पाहुना पोखरा आउने अनुमान छ। त्यो आकार अब बढेको देखाउन सक्ने वा नेपाल भित्रिने पर्यटकको पहिलो पाइला पोखरालाई बनाउन सक्ने हो भने अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा सहज हुने उनले बताए।  

‘हामीले त यहाँको बजारको बारेमा जानकारी दिईसकेका छौ। पोखराको सम्भाव्यताबारे अन्तर्राष्ट्रिय बजारमा सन्देश पुगिसकेको छ। अब पर्यटन क्षेत्रले पनि यसबारे सन्देश दिलाउनुपर्छ,’ उनले भने। प्राकृतिक, धार्मिक, साहसिक सहित सबैखाले पर्यटकका लागि पोखरा गतिलो गन्तव्य हो भनेर अन्तर्राष्ट्रिय बजारमा सन्देश दिलाउन सक्ने हो भने पर्यटक भिœयाउन सहज हुने र त्यसले विमानस्थललाई पनि लाभ हुने उनले बताए।  

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको भनेर सन्देश अन्तर्राष्ट्रिय पर्यटन बजारमा पुगिसकेकोले केही हवाई कम्पनिले पोखरासम्मको उडानबारे चाँसो राखिसकेको पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। ‘नागरिक उड्डयन प्राधिरकणले पनि एकतहको पहुँच बिस्तार गरिसकेको छ। पर्यटन क्षेत्रले पनि केही सन्देश फैलाईसकेको छ। यसअघि पनि अन्तर्राष्ट्रिय हवाई कम्पनिलाई पोखरामा निम्त्याएर पोखराबारे जानकारी दिइसकेका छौ,’ श्रेष्ठले भने, ‘नेपालकै मुख्य पर्यटकीय सहर भएकोले सबैको चाँसो पोखराप्रति हुनुसकारात्मक हो।’ अब त झनै अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आयो भनेर व्यवसायिक क्षेत्रले नै बजारीकरण गर्ने बेला भएको उनले बताए।  

‘हामीलाई पनि बजारीकरणमा समस्या थियो। अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं मात्र हुँदा पाहुनाको भ्रमण पनि झन्झटयुक्त थियो। तर, अब भने हामीलाई पनि बजारीकरण गर्न सहज भएको छ। पाहुनालाई सिधै पोखरा आउन सकिन्छ भनेर भन्न पाएका छौं। यसले आगामि दिनमा विदेशी पाहुनाको आकार बढ्नेमा आशावादी हुन सकिन्छ,’ उनले भने।  

प्रकाशित: ९ पुस २०७९ ११:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App