पोखरा– मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा अग्ला भवन ठड्याउने क्रम तीव्र छ। अग्ला भवन व्यक्तिगत बसोबासका लागि बनाइएका होइनन्। ठडिइसकेका र ठडिनेक्रममा रहेका अधिकांश अग्ला भवन पर्यटक लक्षित हुन्।
व्यवसायीले ठूलो लगानीमा अग्ला भवन ठड्याइरहेका छन्। पर्यटकलाई उच्च सुविधा दिने भन्दै अग्ला भवन बनाउन पर्यटन व्यवसायीबीच प्रतिस्पर्धा नै चलेको छ। नयाँ गगनचुम्बी भवनहरूले लेकसाइडको स्वरूप नै फेरिँदो छ।
पर्यटन व्यवसायी लेकसाइडमा ठूला र गगनचुम्बी घर थपिनुलाई पर्यटन क्षेत्रप्रतिको लगावको रुपमा अर्थ्याउँछन्। पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुली पर्यटनमा पर्याप्त सम्भावना देखेर व्यवसायीले धमाधम भवन ठड्याउन लगानी गरिरहेको बताउँछन्। 'पर्यटक तान्न अग्ला भवन ठडिनु पर्यटन मौलाएको संकेत हो। भूकम्प र नाकाबन्दीले केही खस्केको हो, नत्र पर्यटनप्रतिको आकर्षण बढेको अवस्था हो। त्यही अनुसार अहिले भवन अकाशिने क्रममा छन्,' उनले भने, 'भूकम्प नआएको र नाकाबन्दी नभएको भए अझै धेरै होटलका गगनचुम्बी भवन यहाँ थपिन्थे।'
अग्ला भवनले पर्यटन क्षेत्रप्रति लगाव देखाए पनि पोखरालाई कंक्रिट बनाउन यिनै भवन पर्याप्त रहेको पराजुली बताउँछन्। 'पर्यटनमा विकासमा यी पूर्वाधारको ठूलो योगदान छ। तर हरियाली भने गुमेको छ। खुला ठाउँ देख्नै नपाइने अवस्था आउन थालेको छ,' उनले भने। कंक्रिटले मौलिकता लुटे पनि पर्यटन क्षेत्रले फड्को मारेको यी गगनचुम्बी भवनले देखाउने उनी बताउँछन्।
पोखरामा अहिले दर्जन बढी होटल बनिरहेका छन्। होटल थपिने क्रम तीव्र भए पनि कतिवटा र कुन स्तरका चाहिन्छ भन्नेतर्फ कसैले अध्ययन गरेको छैन। त्यसैले अहिले होटलले लगानी गर्दा भविष्यका लागि पनि सोच्नुपर्ने जरुरी रहेको व्यवसायी बताउँछन्। 'अहिलेका लागि होटल निकै नै संख्यामा बनिरहेका छन् तर आवश्यक खुला ठाउँँँ, बगैंचा, पार्किङस्थल, आपतकालमा जोगिने ठाउँबारे सबै मौन छन्,' अध्यक्ष पराजुलीले भने, 'पूर्वाधार बन्नु नराम्रो होइन तर, आवश्यकता हो वा होइन भन्ने नबुझीकन लगानी गर्नु राम्रो होइन। त्यतातिर कसैको ध्यान गएको छैन। अध्ययन र अनुसन्धानविना लगानी भइरहेको छ। त्यसले भविष्यमा जोखिम ल्याउन सक्छ।'
पोखराको आवश्यकता अध्ययन गरी लगानी गरिए त्यो जोखिमरहित हुने उनी बताउँछन्। 'ठूला र तारे होटलको आवश्यकता अझै छ, त्यसमा दुईमत छैन। तर, साना र एकैखालका मझौला होटल धैरै आवश्यक छैन। अहिले बनिरहेका अधिकांश होटल मझौला खालका छन्,' उनी भन्छन, 'अबको आवश्यकता 'स्टार लेभल' का होटलको छ। तर मझौलाले गति लिएको देखिन्छ।'
अध्ययनपिना जथाभाबी होटल बनाउँदा लगानी खतरामा पर्नसक्छ। उनका अनुसार पर्यटक तान्ने र टिकाउने पूर्वाधार खडा गरेरमात्र यस क्षेत्रमा लगानी बढाउनु पर्छ। उनले पर्यटकलाई खहरे खोलासँग तुलना गर्छन्। उनले भने, 'खहरे खोला झैं पर्यटक आगमन एकाएक बढ्छ। त्यसले पनि लगानी गर्न हौसाएको छ। त्यो खहरे लामो समय रहन्न। पर्यटकको भीड खहरे झंै हराउँछ। त्यस्तो अवस्था आउन नदिन सचेत हुनुपर्छ।'
सन् १९७० को दशकतिर शान्तिको खोजीमा नेपाल भित्रिएका हिप्पीहरूसँगै पश्चिमा देशका पर्यटकको आँखामा पोखरा पर्यो। कालान्तरमा यो मुलुककै प्रमुख गन्तव्य बन्न थालेको छ। अहिले वर्षमा करिब तीन लाख विदेशी पोखरा आउँछन्। पोखराका प्रकृति, संस्कृति, र आसपासका साहसिक गन्तव्यले पर्यटक तानेको छ। नेपाल आउने पर्यटकमध्ये करिब ४० प्रतिशत पोखरा आउने अनुमान छ।
व्यवसायीका अनुसार अहिले पोखरामा करिब ५ सय ५० होटल छन्। तिनमा सानादेखि पाँचतारेसम्म छन्। होटलमा अहिले करिब २० हजार बेडसंख्या रहेको संघको अनुमान छ। 'आगामी सिजन (सेप्टेम्ब–नोभेम्बर) का लागि दर्जन बढी नयाँ होटल थपिँदैछन्। निर्माण अन्तिम चरणमा रहेका होटल ९० कोठासम्मका छन्,' पराजुली भन्छन्, 'अहिले बन्दै गरेका होटल तयार हुँदा अबको दुईवर्षमा पोखरामा थप दुई हजार बेड थपिनेछन्।' बनिरहेका होटलको लागत हेर्दा वर्षमा करिब तीन अर्ब रुपैयाँ यस क्षेत्रमा खर्चिएको छ।
पराजुलीका अनुसार लेकसाइडका होटलमा मात्र अहिलेसम्म करिब ९० अर्ब रुपैयाँ लगानी पुगेको छ। 'निजीण् क्षेत्रले पूर्वाधारमा गरेको यो ठूलो लगानी हो,' उनले भने, 'होटलमा ठूलो लगानी हुनुको मुख्य कारण पर्यटन क्षेत्रप्रतिको आकर्षण हो।' पोखरामा विदेशी मात्र नभई आन्तरिक पर्यटकको आगमन पनि केही बढेको छ तर, यो वृद्धिदर अझै उकास्न नसके अहिलेको लगानी भविष्यमा जोखिममा पर्न सक् छ।
पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने प्रक्रिया सुरुसँगै व्यवसायी होटलमा लगानी गर्न झनै उत्साही भएका छन्। विमानस्थल बनेर पोखरामा पर्यटक थपिँदाका दिन होटलको माग बढ्ने भएकाले लगानी गर्न थालेको व्यवसायीको भनाइ छ। ' होटलमा लगानी सुरक्षित ठानिएको छ। यहाँ विमानस्थल बनेपछि पर्यटक थपिन्छन्। त्यो बेला अहिलेको पूर्वाधारले नधान्न सक्छ,' लेकसाइडमा पोखरा बाटिका होटल बनाइरहेका डिल्ली गौतमले भने, 'पक्कै राम्रो हुनेमा आशावादी छौं। त्यही भएर लगानी गरेका हौं।' करिब १५ करोड रुपैयाँ लागतमा बन्न थालेको होटल पोखरा बाटिका ३७ कोठाको हुनेछ।
गौतमको चाहना होटल दुई तीन महिनाभित्र सञ्चालनमा ल्याउने छ। 'भूकम्पले हामीलाई एकपटक तर्साएको हो। नत्र पर्यटन क्षेत्रको लगानीबाट हामी आत्तिएका छैनौं, आशावादी छौं। त्यही भएर लगानी गरिरहेका छांैं,' उनले भने, 'माग बढ्दाका दिन पोखरामा अहिलेका पूर्वाधारले नपुग्न सक्छ,' गौतमले भने, 'उच्चस्तरको सेवा दिने होटलको अभाव छ, त्यसतर्फ पनि सोचेर होटलमा लगानी गरेको हुँ।'
होटल बनाउने काम अहिले लेकसाइडमा मात्र नभई आसपासका पर्यटकीय क्षेत्रमा पनि भइरहेको छ। पोखरा असपासका डाँडामा अहिले धमाधम होटल बनिरहेका छन्। केहीले होटल भविक्ष्यमा बनाउने भन्दै जग्गा किनिसकेका छन्। पोखरा आएका पर्यटकलाई सिधै डाँडाकाँडाका होटलमा पुर्याएर शान्त वातावरणमा राख्ने व्यवसायीको तयारी छ। त्यही तयारीका क्रममा धेरै व्यवसायी ठूलो लगानी गर्दैछन्।
पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष सोमबहादुर थापा ठूला लगानीका 'चेन' होटलको आवश्यकता ठान्छन्। उनका अनुसार पर्यटन क्षेत्रका ठूला घराना लगानी गर्न तयार छन्। साना होटलले भने अब निर्माण थाल्दा आवश्यकता छ वा छैन बु‰ने बेला भएको उनको भनाइ छ। 'हचुवामा लगानी बढेको छ। यहाँ होटल आवश्यकता छ वा छैन भनेर लगानी गर्नुपर्ने हो,' उनले भने, 'राज्यले पनि चासो लिनुपर्ने हो। निजी क्षेत्रले पनि यसबारे अध्ययन गरेको छैन।' होटलमा पर्याप्त पार्किङ, बगैंचा, खुला ठाउँ हुनुपर्छ। 'भवन भव्य बनेका छन्। तर, ती भवनका लागि आवश्यक क्षेत्र हेरिएको छैन। भविष्यमा अहिलेको क्षेत्र साँघुरो हुनसक्छ,' उनले भने, 'अध्ययनविनाको लगानीले अप्ठेरो पार्न सक्छ। पूर्वाधार पर्यटनमैत्री बन्नुपर्छ।'
पर्यटन बोर्डका पूर्व कार्यकारी सदस्य टीकाराम सापकोटा भने यस क्षेत्रमा नयाँखाले व्यापारको सिर्जना गर्न नसकेपछि अरुको नक्कल गर्दा होटलमा लगानी बढेको बताउँछन्। 'पर्यटनमै नयाँखाले व्यापार खोज्न सकिन्थ्यो तर, त्यसको अध्ययन कसैले गरेको छैन। घरजग्गामा सुरक्षित छ भन्दै धमाधम लगानी गरिरहेका छन्,' सापकोटा भन्छन्, 'अध्ययनविना लगानी भइरहेको छ। आवश्यकता हेरिँदैन, छिमेकीले भवन ठड्याएको देखेपछि बनाउने परिपाटी विकास भएको छ।' बैंक तथा वित्तीय संस्थाले सहज लगानी गरेकाले पनि अहिले होटल बनाउन सजिलो भएको उनको बुझाइ छ। 'कसैले गोजीबाट र पुर्ख्याैली सम्पत्ति हालेर होटल बनाएका छैनन्। अहिले धमाधम बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन्। त्यसले गर्दा लगानी बढाउन सहज भएको हो,' उनले भने।
फस्टाउँदै माइस टुरिजम
सभा, सम्मेलन, गोष्ठी, बैठकलाई पर्यटन व्यवसायीले 'माइस टुरिजम' (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिबिसन) भन्छन्। उनीहरू 'माइस टुरिजम' बाट राहत मिलेको पनि बताउँछन्। 'भूकम्पपछि विदेशी पाहुना छैनन्। तैपनि सभासम्मेलन र बैठक चलिरहेका छन्। तीनै कार्यक्रमका सहभागीलाई होटलले राख्न पाउँदा आम्दानी बढेको छ,' होटल संघका अध्यक्ष पराजुली भन्छन्। उनका अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मन्त्रीस्तरीय बैठकले पनि पोखराको माइस टुरिजमलाई फस्टाउन सघायो। 'अहिले अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन पनि पोखरा हुन थालेका छन्। 'सार्क मन्त्रीस्तरीय बैठकले पोखरालाई थप चिनाएको छ,' उनले भने, 'भविष्यमा यस्ता कार्यक्रम अझै बढ्ने अपेक्षा छ।'
विभिन्न उद्योग, संघसंस्था, औषधि उत्पादक, बिमा, रोटरी, लायन्सलगायतले गोष्ठी, बैठक, सम्मेलनको गन्तव्य पोखरालाई बनाउन थालेका छन्। ती कार्यक्रमका सहभागी होटलमा खान्छन, बस्छन्। यसले व्यवसायीलाई फाइदा मिलेको छ। पर्यटकको अफसिजनमा २/४ वटा ठूला सभा, सम्मेलन, गोष्ठी भिœयाउन सके त्यसबाट होटलको खर्च धान्न सकिने व्यवसायी बताउँछन्।
प्रकाशित: ११ असार २०७३ ०५:०९ शनिबार