२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

रूपैडिहा–कोहलपुर रेल: भारतीय पक्षले बुझाएन सर्वेक्षण प्रतिवेदन

सीमावर्ती भारतीय क्षेत्रमा रहेको नेपालगञ्ज रोड। तस्बिर: नागरिक

भारतीय पक्षले रूपैडिहा–कोहलपुर रेल लाइन विस्तारको प्रगतिबारे नेपाल सरकारलाई आधिकारिक जानकारी नदिएकोे पाइएको छ। सन् २०११ मा नेपाल र भारत सरकारबीच पूर्व–पश्चिम राजमार्गमा पर्ने नेपालका ६ वटा सीमा नजिकका सहर जोड्ने गरी सम्झौता भएअनुसार सन् २० जुलाई २०१७ मा दुई देशीय सचिवस्तरीय बैठकले फाइनल लोकेसन सर्भे टोली गठन गरेको थियो। उक्त टोलीले २०१७ मा बाँके आएर लोकेसनको सर्वेक्षण पनि गरेर फर्केको थियो। उक्त सर्भेक्षण प्रतिवेदन अहिलेसम्म भारतीय पक्षले नेपाली पक्षलाई बुझाएको छैन।  

नेपालको रेल विभागका प्रवक्ता सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारले स्थलगत सर्वेक्षणबाहेक अन्य कुनै काम अघि बढेको जानकारी नभएको बताए। सन् २०१७ मा भएको उक्त सर्वेक्षणको प्रतिवेदन रेल विभागले प्राप्त नगरेको उनले बताए। ‘यो योजना भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बन्ने हो। त्यस कारण सबै काममा उताबाटै अग्रसरता हुनुपर्छ तर अहिलेसम्म भएको प्रगतिबारे आधिकारिक जानकारी हामी कहाँ केही पनि आएको छैन,’ उनले भने। भारतसँग सन् २०११ मा भएको सम्झौताअनुसार जयनगरदेखि जनकपुरसम्म रेल सेवा सञ्चालनमा आइसकेको छ भने जोगबनीदेखि विराटनगरसम्मको रेल लाइन विस्तारको काम भइरहेको छ। रूपैडिहा–कोहलपुरसहित झापाको जलपाइगुरी–काकरभिट्टा, रक्सौल वीरगन्ज, नौतन्वा–भैरहवासम्म रेल विस्तारको काम भने सुरु हुन नसकेको चित्रकारको भनाइ छ।  

रूपैडिहादेखि कोहलपुरसम्म रेल सञ्चालनका लागि रेल लिक बिछ्याउने स्थानको पनि टुंगो लागिसकेको उक्त काममा सहजीकरण गर्दाका साक्षी नेपाली अधिकारीहरू बताउँछन्। त्यसको आधिकारिक जानकारी नेपाली पक्षले पाउन सकेको छैन। भारतीय पक्षले रूपैडिहा–कोहलपुर रेल सञ्चालनका लागि लिकको रेखाङ्कनको काम सकेर लागत रकम, आवश्यक पर्ने भौतिक संरचना, रेल सेवाले छुने गाउँँ तथा बस्तीहरूको पहिचानलगायतका विषय टुंगो लगाएर प्रतिवेदन दिने बताएको थियो। उक्त रेलमार्गको लम्बाइ साढे १८ किलोमिटर हुने अनुमान गरिएको छ। सुरुमा नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा, पुरैना, राँझा हुँदै रेल सेवा सञ्चालन गरिने बताइएको थियो। राँझा विमानस्थल नजिकैबाट पश्चिमतर्फ रेलको लिक डाइभर्सन गरेर सुर्खेत रोडको समानान्तर हुने गरी बस्तीमा नपर्ने गरी रेलसेवा विस्तार गर्ने विषय टुंगो लागेको बताइएको थियो। भारतले नेपालगन्जको जयसपुरमा एकीकृत सुरक्षा जा“च चौकी निमार्णको काम सुरु गरेपछि पश्चिम क्षेत्रबाट रेल सञ्चालन गर्दा उपयुक्त हुने राय पनि दिइएको स्रोत बताउँछ।  

भारतीय सर्वे टोलीले कुन रुटलाई अन्तिम रूप दिएको छ र कहिलेदेखि निर्माण सुरु हुन्छ भन्ने बारेमा दुई देशीय अधिकारीहरूको भेटघाटमा प्रमुखताका साथ कुरा उठ्ने गरेको रेल विभागाका प्रवक्ता चित्रकार बताउँछन्। ‘यस विषयमा दुईदेशीय भेटघाटमा निरन्तर कुरा उठिराख्छ। ठ्याक्कै के भइरहेको छ भन्ने कुरा भने आधिकारिक रूपले नआइकन भन्न सकिएन,’ चित्रकारले भने।  

१५ नोभेम्बर २०२२ मा भारतीय अखबार अमर उजालामा यससम्बन्धी समाचार प्रकाशित छ। उक्त समाचारमा भारतको रूपैडिहादेखि नेपालको कोहलपुरसम्म छिट्टै रेलमार्ग विस्तार गरिने उल्लेख छ। रूपैडिहा– कोहलपुर रेलमार्गको १८ किलोमिटर विस्तार गरिने उक्त समाचारमा जनाइएको छ। भारतीय केन्द्र सरकारद्वारा आर्थिक लगानी गरिने ‘इण्डो–नेपालमैत्री रेल परियोजना’को काम तीन चरणमा हुने उक्त समाचारमा भनिएको छ।  

कोहलपुर नेपालगन्ज रेल आयोजनाको कुल लम्बाइ ७८ किलोमिटर छ। जसमध्ये ६० किलोमिटर भारतमा र बाँकी नेपालमा पर्छ। जसअनुसार पहिलो चरणमा बहराइचदेखि रूपैडिहासम्म ६० किलोमिटर ब्रोडगेज रेल खण्ड निर्माण भएपछि यस रुटमा यात्रुबाहक रेल सेवा पुनः सञ्चालनमा आउनेछ। दोस्रो चरणमा रूपैडिहादेखि नेपालगन्जसम्म ६ किलोमिटर विस्तार गरी तेस्रो र अन्तिम चरणमा नेपालगन्जदेखि कोहलपुरसम्म १२ किलोमिटर रेल लाइन बिछ्याउने काम हुने रेल विभागका मण्डलीय अधिकक्ष आदित्य कुमारलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ।  

भारतको यस योजनाको उद्देश्य नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण पूर्व–पश्चिम राजमार्ग एवम् बन्न लागेका पूर्व–पश्चिम रेलमार्गसँग भारतीय रेललाई जोड्ने रहेको पाइएको छ। 

प्रकाशित: २७ मंसिर २०७९ ०२:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App