१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: जनवरी १ मा प्रधानमन्त्रीले उद्घाटन गर्ने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। तस्बिरःउमेश पुन/नागरिक

अंग्रेजी नयाँ वर्षको पहिलो दिन (२०२३ जनवरी १) देखि सञ्चालनमा आउने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्। जनवरी १ तारिखमा विमानस्थल उद्घाटन गर्नका लागि प्रधानमन्त्री देउवा सहित राजनीतिक दलका शीर्ष नेता पोखरा आउने भएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनवरी १ का दिन विमानस्थल उद्घाटन गर्नका लागि तयारी अघि बढिरहेको बताएको छ। ‘अहिलेसम्मको तयारी अनुसार प्रधानमन्त्री देउवाले विमानस्थल उद्घाटन गर्ने तय भएको छ,’ प्राधिकरण श्रोतले भन्यो, ‘मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन हुनु सबैका लागि गर्वको कुरा हो।’ तोकिएकै मितिमा विमानस्थलको उद्घाटन गर्नका लागि भव्य तयारी गरिरहेको प्राधिकरणले बताएको छ।

प्रधानमन्त्री देउवाले विमानस्थल उद्घाटन गर्ने भने पनि अहिलेसम्म कुन एयरलाइन्सले पहिलो उडान गर्ने भन्ने बारेमा यकिन भएको छैन। तर, विभिन्न निजी हवाई कम्पनिले पहिलो उडानका लागि प्राधिकरणमा आवेदन दिएका छन्। ‘पहिलो उडानका बारेमा छलफल चलिरहेको छ। निजी कम्पनिले चासो देखाएका छन्,’ प्राधिकरण श्रोतले भन्यो। बुद्ध एयरले यसअघि नै पोखरा–बनारस रुटमा पहिलो उडान गर्नका लागि चासो देखाइसकेको छ। त्यसबाहेक अरू निजी कम्पनिले पनि पोखरालाई भारतीय सहरसम्म जोड्नेगरि उडान योजना बनाएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयारी स्वरूप केही दिन अघि नै क्यालिब्रेसन फ्लाइट (यान्त्रिक परीक्षण) समेत भईसकेको छ। तर, त्यसको रिपोर्ट भने आइसकेको छैन। क्यालिब्रेसन फ्लाइट पछि व्यावसायिक उडानको परीक्षण हुनेछ। त्यसपछि मात्र नियमित उडान तालिका तय हुने प्राधिकरणले बताएको छ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ बैशाख १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए। गत जुलाई १० मा काम सक्नेगरि विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सिएएमसीईले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो। कोरोनाको अप्ठेरोका बाबजुद पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पुरा भएपछि गत चैत तेस्रो साता निर्माण कम्पनिले महत्त्वपूर्ण पूर्वाधार सकिएको भन्दै विमानस्थलका पूर्वाधार नेपाललाई हस्तान्तरण गरेको थियो।

विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन् । यी जहाज २ सय सिट भन्दा कम यात्रु क्षमताका हुन्। यो विमानस्थलले ३ वटा ठुला र ८ वटा साना गरी ११ वटा जहाज पार्किङ गर्न सक्छ। विमानस्थलको धावनमार्ग २५ सय मिटर र चौडाइ ४५ मिटर तथा धावनमार्गको मोटाई ३४ सेन्टिमिटर छ। विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६ सय १० जना यात्रु व्यवस्थापनको क्षमता छ। १४ हजार वर्ग मिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको आयोजनाले बताएको छ।

विमानस्थल बनाउन झन्डै २२ अर्ब रुपैयाँ लागत अनुमान छ। यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ। वान–वे एप्रोचको यो विमानस्थलमा पूर्वबाट मात्र जहाज अवतरण गर्न सक्छन्। पूर्व तिरै फर्केर टेकअफ गर्नेगरि विमानस्थल बनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र सिएएमसीइ बिचको सम्झौतामा इपिसि (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्स्ट्रक्सन) मोडलमा विमानस्थल बनाउने सहमति भएको थियो।

चार दशकअघि पोखरा–१४, १५ र १८ वडा को ३ हजार १ सय ६ रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो। त्यसले नपुगेपछि थप ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। त्यसले पनि नपुगेपछि विमानस्थल वरिपरि १० किलोमिटर सडक बनाउन थप ६० रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थल बनाउन थालिएको थियो।

प्रकाशित: २६ मंसिर २०७९ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App