१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

जुम्लामा ३५ अर्बको लागतमा 'जवा तिला' हाइड्रोपावर बन्ने

जुम्लामा ठूलो क्षमताको जलविद्युत आयोजना निर्माण हुने भएको छ। जुम्लाको पातारासी गाउँपालिकाबाट बग्ने जवा नदी र जुम्लाकै तिला नदीबाट ठूलो क्षमता जलविद्युत आयोजना निर्माण हुन लागेको हो।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको अध्यक्षतामा गत बुधबार सम्पन्न नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठकले जुम्लामा जवा र तिला जलविद्युत आयोजना निर्माणलाई तत्काल अघि बढाउने निर्णय गरेको छ।

जुम्लामा कर्णाली प्रदेशकै ठूलो १ सय ५० मेगावाट क्षमताको जलविद्युत (हाइड्रो पावर) निर्माण हुने निश्चित भएको कर्णाली प्रदेशका पूर्वकानुनमन्त्री तथा प्रदेश सभा सांसद नरेश भण्डारीले बताए। उनले भने, 'जुम्लामा १ सय ५० मेगावाट क्षमताको जवा तिला जलविद्युत आयोजना बन्ने छ। यस परियोजनाको कार्यान्वयन पश्चात तिला र जवा नदीमा बगिरहेको पानी नगदमा रूपान्तरण हुनेछ भने निःसन्देह जुम्ली जनताको जीवनशैली फेरिने आशा गरिएको छ।'

विद्युत उत्पादनको अथाह सम्भावना बोकेको जुम्लाले वर्षौंदेखि अँध्यारो झेलिरहेको छ। विद्युत अभावले यहाँका कृषि उत्पादनको प्रशोधनदेखि बजारीकरण हुन सकेको छैन। राष्ट्रिय प्रसारणलाइन भरपर्दो नभएकाले जवा र तिला जलविद्युत आयोजनाको निर्माण पश्चातमात्रै जुम्लाले पूर्णकालीन रूपमा अँध्यारोबाट मुक्ति पाउने भण्डारीको भनाइ छ।

कर्णाली प्रदेशकै ठूलो जलविद्युत आयोजनाका रूपमा हेरिएको जवा तिला जलविद्युत आयोजना निर्माणका लागि ३५ अर्ब लाग्ने लागत अनुमान गरिएको छ। आयोजना निर्माणका लागि सम्पूर्ण सामग्री बाहिरी जिल्लाबाटै लिनु पर्नेछ। ३५ अर्ब लागतको उक्त आयोजनाको बजेट ऊर्जा मन्त्रालय विभाग हुँदै अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित हुनेछ भने क्रमागत योजनाका रूपमा निर्माण अघि बढ्ने भएकाले चालू आवबाटै विलम्ब नगरी निर्माण थाल्नु पर्ने भण्डारीको भनाइ छ।

विद्युत आयोजनाका पहलकर्ता भण्डारीले आयोजना निर्माण पश्चात जुम्लाका २ सय १८ वटा गाउँलाई पर्याप्त बत्ती पुगेर, उद्योग व्यापार क्षेत्रलाई छुटाएर पनि वर्षेनी करोडौंको बत्ती जुम्लाले बिक्री गर्नसक्ने सामाथ्र्य रहेको समेत उल्लेख गरे। उनले थपे,प्रदेश गौरबकै आयोजनाका रूपमा निर्माण हुने ३५ अर्ब लागत अनुमानको विद्युत परियोजनाले जुम्लीका गाउँघर मात्र उज्यालीने छैनन्। मुलुकलाई उज्यालो समेत निर्यात गर्नेछ। यो आयोजनाले कर्णाली समृद्धिको ढोका खुल्ने अपेक्षा छ।

तथ्यांकअनुसार कर्णाली प्रदेशमा १८ हजार मेगावाट विद्युत उत्पादनको क्षमता भए पनि हालसम्म मुस्किलले पाँच हजार मेगावाट विद्युत उत्पादन भएको देखिन्छ। आन्तरिक बाह्य लगानीको अभावले कर्णालीको स्रोत र सम्भावना अवसरमा रूपान्तरण हुन नसकेकाले लगानी भित्र्याउने वातावरण सिर्जना गर्न आवश्यक छ।

प्रकाशित: २६ मंसिर २०७९ ०४:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App