१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुरुङ सकिनेबित्तिकै मेलम्ची पानी

काठमाडौं- दुई दशकदेखि मेलम्ची पानी पर्खिरहेका उपत्यकाबासीले सुरुङ खन्ने काम सकिँदाबित्तिकै पानी उपभोग गर्न पाउने भएका छन्। मुख्य कामको रुपमा रहेको सुरुङसहित अन्य कामको प्रगतिमा सुधार भएपछि उपत्यकाबासीको मेलम्ची प्रतीक्षा चाँडै सकिने सम्भावना बढेको हो। १०.४४ किलोमिटर सुरुङ खन्न बाँकी रहँदा आयोजनाले २०७४ असोजसम्ममा पानी खुवाउने लक्ष्य राखेको छ।

सुन्दरीजलदेखि उपत्यकाका उपभोक्तासम्म पानी वितरण गर्ने काममा राम्रो प्रगति भएपछि सुरुङ खन्ने काम सकिनेबित्तिकै मेलम्ची पानी उपत्यकामा आपूर्ति गर्न सकिने अवस्था बनेको हो। सुन्दरीजलको पानी प्रशोधन केन्द्रदेखि उपत्यकाका उपभोक्तासम्म पानी वितरण गर्ने जिम्मा लिएको आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका खानेपानी लिमिटेडले अधिकांश काम सक्न लागेको जनाएको छ।

उता, एसियाली विकास बैंक मुख्य दातृ निकाय रहेको यस आयोजनाको मुख्य कामको रुपमा रहेको सुरुङ पछिल्लो समय तीव्र गतिमा अघि बढेको छ। हालसम्म ६२.१५ प्रतिशत काम सकिसकेको मेलम्ची खानेपानी आयोजनाका उपकार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले बताए। असार १ गतेसम्मको प्रगति अनुसार जम्मा २७ किलोमिटरमध्ये १०.४४ किलोमिटर सुरुङ खन्न बाँकी छ। १७.१४३ किलोमिटर सकिइसकेको छ। 'दैनिक २५ देखि ३० मिटर टनेल खन्ने काम भइरहेको छ,' श्रेष्ठले भने, '१२ देखि १५ महिनामा सबै काम सकिन्छ।'

सुन्दरीजलदेखि विभिन्न पानीपोखरीसम्म पाइप बिच्छ्याउने (बिडिएस), उक्त पानी जम्मा गर्ने पानीपोखरी निर्माण, पानीपोखरीदेखि उपभोक्ताका घरसम्म पाइप बिच्छ्याउने (डिएनआई) र धारा जोड्ने काममा सोचेभन्दा राम्रो प्रगति भएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले जनाएको छ। 'दुईवटा उप आयोजनाको काममा सोचेभन्दा राम्रो प्रगति भएको छ,' डिएनआईका प्रवक्ता लीलाप्रसाद ढकालले भने, 'पाइप बिच्छ्याउने, पानीपोखरी निर्माणदेखि धारा जोड्नेसम्मको काम समयमै सक्ने गरी प्रगति भइरहेको छ।'

सुन्दरीजलदेखि विभिन्न पानीपोखरीसम्म पाइप बिच्छ्याउने (बिडिएस), उक्त पानी जम्मा गर्ने पानीपोखरी निर्माण, पानीपोखरीदेखि उपभोक्ताका घरसम्म पाइप बिच्छ्याउने (डिएनआई) र धारा जोड्ने काममा सोचेभन्दा राम्रो प्रगति भएको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले जनाएको छ। 'दुईवटा उप आयोजनाको काममा सोचेभन्दा राम्रो प्रगति भएको छ,' डिएनआईका प्रवक्ता लीलाप्रसाद ढकालले भने, 'पाइप बिच्छ्याउने, पानीपोखरी निर्माणदेखि धारा जोड्नेसम्मको काम समयमै सक्ने गरी प्रगति भइरहेको छ।'

'सब प्रोजेक्ट टू' अर्न्तगत सुन्दरीजलदेखि पानीपोखरीसम्म (बिडिएस) १३ किलोमिटर पाइप बिच्छ्याउने काम सकिसकेको निर्देशनालयले जनाएको छ। बिडिएस अर्न्तगत ५२ किलोमिटर पाइप बिच्छ्याउनु पर्छ। त्यसमध्ये असार मसान्तसम्म ३२ किलोमिटर सक्ने लक्ष्य निर्देशनालयले राखेको छ। थोक वितरण प्रणालीतर्फ सुन्दरीजलदेखि महांकालसम्म १४०० मिमि ब्यासको ९.६ किलोमिटर पाइप उपलब्ध भई हालसम्म ९.५ किलोमिटर पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ। पछिल्लो समय काम तीव्र गतिमा चलिरहेकोले उक्त लक्ष्य पूरा हुने ढकालले बताए।

त्यस्तै, सुन्दरीजल टि्रटमेन्ट प्लान्टबाट ल्याएको पानी जम्मा गर्न उपत्यकाका विभिन्न ६ वटा ठाउँहरू आरुवारी, महांकालचौर, बाँसबारी, पानीपोखरी, खुमलटार र बालाजुमा पानी पोखरी निर्माण कार्य भइरहेको छ। निर्देशनालयले बनाउने ९ पानीपोखरीमध्ये बाँकी ३ वटा बनाउन टेन्डर आह्वान भएको प्रवक्ता ढकालले बताए। यी ९ वटा पानीपोखरीमा जम्मा ६ करोड ५० लाख लिटर पानीको क्षमता छ।

हालसम्म खुमलटार, पानीपोखरीमा ५० प्रतिशतभन्दा धेरै काम सम्पन्न भइसकेको छ। बासँबारीमा ३८ प्रतिशतभन्दा धेरै, बालाजुमा २६ प्रतिशतभन्दा धेरै काम सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ। खुमलटारको पानीपोखरी २ महिनाभित्र सम्पन्न हुने र अन्य ठाउँको पनि समय तालिकाभित्रै सम्पन्न हुने ढकालले बताए। नयाँ बनिरहेका यी पानीपोखरी बाहेक मेलम्चीबाट आएको पानी हाल प्रयोग भइरहेका पानीपोखरीमा पनि हालिनेछ।

मेलम्चीको पानी सुरुङबाट ल्याएर जम्मा गर्ने तथा प्रशोधनको लागि सुन्दरीजलमा ८.५ करोड लिटर क्षमताको 'टि्रटमेन्ट प्लान्ट' बनिरहेको छ। हालसम्म उक्त प्लान्टको ८० प्रतिशत काम सम्पन्न भएको मेलम्ची विकास समितिका उपकार्यकारी निर्देशक श्रेष्ठले बताए। उक्त प्रशोधन केन्द्र सम्पन्न भएपछि यत्तिकै क्षमताको अर्को प्रशोधन केन्द्र बनाइने छ।

सुरुङदेखि पाइप बिच्छ्याउने काममा प्रगति बढ्दै गएपछि पानी आउने आस बढ्न थालेको छ। मुख्य काम सुरुङलाई तीव्रता दिएको श्रेष्ठले बताएका छन्। भूकम्प र नाकाबन्दीका कारणले केही महिना सुरुङ खन्ने काममा बाधा पुगे पनि अहिले दैनिक २५ देखी ३० मिटर खन्ने काम भएको श्रेष्ठले बताए।

मेलम्ची खानेपानी आयोजनाले उप–आयोजना १ अर्न्तगत, मेलम्ची पथान्तरण, सुरुङ खन्ने, सुन्दरीजलमा पानी प्रशोधन केन्द्र बनाउने लगायतको काम जिम्मा पाएको छ।

काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना उप–आयोजना २ अर्न्तगत सुन्दरीजल पानी प्रशोधनपछिको पानी वितरण प्रणाली सुधार, थोक वितरण प्रणाली र फोहर पानी व्यवस्थापनको जिम्मा पाएको छ।

मेलम्ची दोस्रो चरणमा याङ्ग्री र लार्के स्रोतबाट पानी ल्याउने योजना छ। मेलम्चीबाट माथी रहेका याङग्री र लार्के स्रोतको पानी मेलम्ची मै मिसाएर उपत्यकामा ल्याउने योजना बनेको श्रेष्ठले बताए। यी स्रोतबाट पानी ल्याउन हाल विस्तृत डिजाइन प्रतिवेदन तयार गर्न परामर्शदाता छनोट भइरहेको छ।

याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी आउनेछ। मेलम्ची, याङ्ग्री र लार्केबाट गरी उपत्यकामा दैनिक ५१ करोड लिटर पानी ल्याउने योजना छ। 'ढेड वर्षमा दैनिक १७ करोड लिटर अर्को ४–५ वर्षमा दैनिक ३४ करोड लिटर पानी ल्याउने योजना छ,' श्रेष्ठले भने। याङ्ग्री र लार्केबाट थप पानीको लागि सुन्दरीजलमा थप टि्रटमेन्ट प्लान्ट र उपत्यकाभित्र थप पानीपोखरी बनाउने योजना छ।

 

प्रकाशित: ३ असार २०७३ ०८:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App