१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

लागत अनुमानभन्दा ६ अर्ब कममा ठेक्का

राष्ट्रिय गौरवको सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको हेडवक्र्ससहितका संरचना निर्माण गर्न रमण कन्स्ट्रक्सन/पटेल इन्जिनियरिङ लिमिटेड संयुक्त उपक्रम (जेभी) छनोट भएको छ।

काठमाडौंको सुन्धारास्थित निर्माणाधीन धरहराको ठेक्का सम्झौता अनुसार काम नगर्ने ‘विवादास्पद’ रमण कन्स्ट्रक्सन नेतृत्वको जेभी सो आयोजनामा पनि छनोट भएको छ। छनोट गरेर आयोजनाले रमणलाई सम्झौताको आशयपत्र पठाइसकेको छ। तोकिएको अवधि भित्रै निर्माण सुरु गरी सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनामा रमण कन्ट्रक्सन छनोट भएसँगै समयमै पूरा हुनेमा आशंका उब्जिएको छ।

रमण कन्स्ट्रक्सनकै नेतृत्वमा निर्माणाधीन धरहरा सम्पन्न हुन ढिलाइ भइरहेको छ भने यही कम्पनीको नेतृत्वमा रहेको राष्ट्रिय गौरवको अर्को भेरीबबई डाईभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा पनि ढिलाइ भएको छ। धरहराको चौथोे पटक म्याद थप गर्दा पनि धरहरा निर्माणको काम अझै गरिसकेको छैन।

रमण-पटेल जेभीले अहिले राष्ट्रिय गौरवको सूचीमा सुनकोशी मरिण डाइभर्सन आयोजनाको हेडवक्र्ससहितका सिभिल आयोजना निर्माणको लागि छनोटको प्रक्रियामा अघि बढेको छ। रमण-पटेल जेभीले सुनकोशी आयोजनाको हेडवर्क्स, मेकानिकल र सिभिल लगायतको संरचना निर्माणको लागि अनुमानित लागतभन्दा ३२ प्रतिशत कम रकम कबोल गरेर ठेक्का हात पार्न लागेको छ। आयोजनाले मंसिर १२ गते आशयपत्र (एलओआई) जारी गरेर रमण-पटेल जेभीले भ्याटबाहेक १२ अर्ब ५१ करोड ४० लाख ७९ हजार ४३ रूपैयाँमा ठेक्कामा छनोट भएको जनाएको छ।

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका आयोजना निर्देशक मित्र बरालले आयोजनाको हेडवक्र्ससहितका संरचना निर्माणको ठेक्कामा ११ वटा कम्पनीले प्रतिस्पर्धा गरेकामध्ये सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम रकम कबोल गर्ने रमण–पटेल जेभीलाई आशयपत्र जारी गरिएको बताए।

‘आयोजनाले टेण्डर आह्वान गरेपछि ११ वटा कम्पनीले प्राविधिक मूल्याङ्नमा प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धा गरेका ११ वटा कम्पनीमध्ये ९ वटा कम्पनी प्राविधिक मूल्याङ्कनमा छनोट भएका थिए,’ उनले भने ‘प्राविधिक मूल्याङ्कनमा छनोट भएका ९ वटा कम्पनीमध्ये ५ वटा कम्पनीले मात्रै आर्थिक प्रस्ताव पेश गरेका थिए। तीमध्ये सबैभन्दा कम रकम कबोल गर्ने रमण-पटेल जेभी छनोट भएको हो।’ आयोजनाले यो परियोजनाको लागि भ्याटसहित २० अर्ब लागत अनुमानित गरेको थियो तर छनोट भएको कम्पनीले भने झण्डै ६ अर्ब कममा ठेक्का हालेको छ। सो रकम कम कबोल गर्ने दोस्रो कम्पनीभन्दा साढे ३ अर्ब कम हो।

आयोजनाका अनुसार, सुनकोशी मरिण आयोजनाको टनेल खन्दै आइरहेको चिनियाँ कम्पनी कोभेक्सले भ्याटसहित १९ अर्ब ७४ करोड रूपैयाँको आर्थिक प्रस्ताव पेश गरेको थियो। त्यसैगरी शर्मा एण्ड रसुवा एजिई जेभीले भ्याटसहित १८ अर्ब ७१ करोड ४१ लाख रूपैयाँको प्रस्ताव पेश गरेको थियो। टुँडी-सोमा जेभीले भ्याटसहित १७ अर्ब ६७ करोड रूपैयाँको आर्थिक प्रस्ताव पेश गरेको थियो। त्यसैगरी सिनो हाइड्रोपावरले भने भ्याटसहित १७ अर्ब ५७ करोड रूपैयाँको आर्थिक प्रस्ताव पेश गरेका थिए। रमण पटेल जेभीले भने भ्याटसहित १४ अर्ब ७ करोड रूपैयाँको आर्थिक प्रस्ताव पेश गरेको थियो। आयोजना निर्देशक मित्र बरालले प्राविधिक र आर्थिक मूल्याङ्नमा उपयुक्त देखिएपछि कुनै परियोजना विशेषमा ढिलाइ गरेको भन्दै कुनै कम्पनीलाई ठेक्का दिन रोक्न नमिल्ने बताए।

‘कुनै परियोजना विशेषमा ढिलाइ गरेको भन्दै सार्वजनिक खरिद ऐन अनुसार उपयुक्त देखिएको कम्पनीलाई रोक्न मिल्दैन,’ उनले भने, ‘छनोट भएको कम्पनीले सो पूर्वाधार चार वर्ष सात महिनाभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।’

आयोजना सम्वद्ध एक अधिकारी भने देशका अधिकांश राष्ट्रिय गौरवका आयोजनाको समय र लागत धेरै बढिरहेको बेला समयमै निर्माण सम्पन्न गर्ने भनिए पनि ठेकेदार छनोटको कारणले ढिलाइ हुने अवस्था सुनकोशी मरिणमा पनि देखिएको बताउँछन्।

‘अनुमानित लागत २० अर्बभन्दा झण्डै ३२ प्रतिशत कममा ठेक्का हाल्ने कम्पनी छनोट भएपछि यसले समयमै र गुणस्तरीय काम गर्न कठिन हुने त स्पष्ट देखिएको छ।’ उनले भने ‘अझ जसले ठेक्का पाएको छ, उसको पहिलाको पृष्ठभूमि अधिकांश आयोजनाको निर्माणमा ढिलाइ गरेको छ, यसकारण यसमा पुनर्विचार गर्न नसकिएमा आयोजनाको काममा ढिलाइ हुने निश्चित छ।’

आयोजनाले मंसिर १२ गते सार्वजनिक सूचना जारी गरेर आशयपत्र (एलओआई) जारी गर्दै सम्बन्धित कम्पनीउपर उजुरबाजुर गर्न अनुरोध गरेको छ। उजुरबाजुर नपरेमा भने सो कम्पनीले ठेक्का पाउने निश्चित छ।

रमणको धरहरा र भेरीबबईमा पनि ढिलाइ

१४ असोज २०७५ मा धरहरा निर्माणको ठेक्का जिआइइटिसी–रमण जेभीले पाएको थियो। ठेक्का सम्झौता अनुसार जिआइइटिसी-रमन जेभीले दुई वर्षभित्र अर्थात् २०७७ कात्तिकभित्रै निर्माण सम्पन्न गर्नुपर्ने हुन्थ्यो तर धरहराको अहिलेसम्म चौथो पटक म्याद थप भइकेको छ। धरहरा परिसरको संरचना भने कहिलेसम्ममा सम्पन्न हुनेमा अझै अन्योल कायमै छ। धरहरा निर्माणको आयोजना तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा ठेक्का लगाइएको थियो।

यसैगरी भेरीबबई डाइभर्सन बहुउद्देश्यीय सिँचाइ आयोजनाको सिभिल संरचना (हेडवर्क्स, पावर हाउस तथा सर्ज साफ्ट) निर्माणको ठेक्का २०७६ साउन १३ मा ग्वाङडोङ युवाङटेयरिङ-रमण जेभीले पाएको थियो। जेभीले सो कार्यको ६ अर्ब १६ करोड ५२ लाख ५५ हजारको लागतमा ठेक्का पाएको थियो। यो ठेकेदार कम्पनीले अनुमानित लागत ११ अर्ब ५२ करोड ६१ लाख ३० हजार थियो। निर्माण कम्पनीले अनुमानित लागतभन्दा ३५ प्रतिशत कम रकम कबोल गरेर ठेक्का हात पारेको थियो। 

प्रकाशित: २५ मंसिर २०७९ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App