१२ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

जडीबुटीको व्यापारबाट चलेको जीविका

कालीकोटको थिप्पु गाउँपालिका-१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँशहर चहार्दै हिंड्छन्।

झोला बोकेर हिंडनु उनका लागि रहर नभएर बाध्यता छ। पाँच जनाको परिवारको खर्च धान्न तीन वर्षदेखि उनले जडीबुटी बेच्दै आएका छन्।

‘हिमाली जिल्लाबाट जडीबुटी खरिद गरेर ल्याएर पहिला भारतमा बेच्थे’, उनले भने, ‘कोरोना महामारी फैलिएपछि दुई वर्ष जति भयो, भारतमा जस्तै यहाँ जडीबुटीको व्यापारमा लागेको छु।’

भारतमा हुँदा उनले दैनिक दुई हजार भारतीय रुपैयाँ जतिको कमाइ गर्थे। भारतमा कोरोना महामारी फैलिएपछि घर फर्केपछि उनको कमाइ घटेको छ। दैनिक उनले हाल रु पाँच सयदेखि रु. एक हजारसम्म मात्रै कमाइ गर्दै आएका छन्।

‘व्यापारमा कमाइको कुनै ग्यारेन्टी हुँदैन’, उनी भन्छन्,‘व्यापार भनेको जुवाजस्तै हो, नसिव भए कमाइ हुन्छ, नभए हुँदैन, कुनै दिन धेरै हुन्छ, कुनै दिन केही पनि हुँदैन।’

आज कमाइ भएन भनेर मन मार्नु हुँदैन। ग्राहकलाई आफूले ल्याएको जडीबुटीबारे जानकारी दिन र मन जित्न सके व्यापार नहुने कुरै छैन। त्यसका लागि धैर्य गर्नुपर्ने उनी बताउँछन्।

जुम्लाबाट उनले तितो, कटुको, गदानो, पदमचाल, हिंग, सिलाजित, कालो नुन, सतुवा र जडीबुटी तेल ल्याएर रोकायाले बेच्दै आएका छन्। जडीबुटीकै व्यापारबाट पाँच छोरा, दुई छोरीको घरको पूरै खर्च व्यहोर्दै आएको उनी बताउँछन्। ‘जडीबुटीकै व्यापारबाट दुई छोरा पढाउँदै छु’ उनले भने, ‘दुई जना प्रहरीमा भर्ती भएका छन्। एकजनाले कपडाको व्यापार गर्छन्, छोरीको पढाइ खर्च जडीबुटीकै कमाइबाट पूर्ति भइरहेको छ।’

‘बूढेसकालले छोप्नै लागे पनि घर बसेर हुँदैन। परिवार पाल्न व्यापारमा संलग्न भएको छु। दैनिक कैलाली र कञ्चनपुरका गाउँ र शहरमा डुलेर जडीबुटी बेच्छु, यसबाटै गुजारा चलेको छ’, उनले भने, ‘पहाडको घर र जमिन भल/पहिराले लियो। भारतमा कमाएको केही पैसा जोडेको थिएँ, त्यसबाट कैलालीको घोडाघोडी नगरपालिकाको गाउँमा घरबासका लागि जग्गा किनेर परिवार राख्नेसम्मको व्यवस्था मिलाएको छु।’

घर-खर्चका लागि प्रहरीमा रहेका र व्यापारमा संलग्न छोराहरूले सहयोग गर्दै आएको उनको भनाइ छ। उनी भन्छन्, ‘जितना लुगुरा उतना जाडो, नहि लुगुरा नहि जाडो अर्थात् जति पैसा भए पनि पुग्दैन, थोरै पैसा भए पनि त्यसमै सन्तोष छ।’

‘भारत अर्काको देश हो, त्यहाँ डराएर व्यापार गर्नुपथ्र्यो’, उनले कुरा अगाडि बढाउँदै भने, ‘यहाँ व्यापार गर्न डराउनु पर्दैन। भाषाको समस्या छैन। सबैले भनेको कुरा बुझ्छन्, कोहीकोही जडीबुटी बेच्छौं। लाइसेन्स छ भनेर हप्काउने पनि भेटिन्छन्। तर, त्यस्ताको वास्ता गर्दैनौं, आफ्नै तरीकाले व्यापार गर्छौ।’

राजबहादुर जस्तै बाजुरा स्वामिकार्ति गाउँका मनविरे लुहार पनि जडीबुटीको व्यापारमा संलग्न छन्। पहिला मनविरेले भारतमा काम गर्थे। भारतमा कोरोनाको संक्रमणका कारण लकडाउन भएपछि स्वदेश फर्के। त्यसपछि भारततर्फ जान सकेका छैनन्। उनले रोकाया जस्तै गनानो, कटुको, चिराइतो, मालिस तेल, सिलाजित, हिमाली घोडामाच्यो, जम्बु, यार्सागुम्बा बेच्दै आएका छन्।

‘केही जडीबुटी हिमाली जिल्लामा आफैं गएर खोजेर ल्याउँछु’, उनले भने, ‘केही जडीबुटी घरेलु उद्योगबाट किनेर बेच्छु। यसबाटै परिवारको खर्च चलेको छ।’

भारतमा जडीबुटी यसैगरी बेच्दा रु तीस हजार जति महिनाको कमाइ हुने गरेको थियो। यहाँ जडीबुटीको व्यापारबाट मासिक रूपमा रु. २५ हजार जति कमाइ हुन्छ। दुई छोरा, दुई बुहारी, तीन नातिनातिना, तीन छोरी र बूढाबूढीको लत्ताकपडा, खाना खर्च यसै व्यापारबाट चलेको उनी निर्धक्कसँग बताउँछन्।

‘दुवै छोरालाई १२ कक्षासम्म पढाए रोजगार मिलेन’, उनले भने, ‘छोराहरूले मैले जस्तै कम्बल लगायतका न्यानो कपडा बजार बजार घुमेर बेच्ने गरेका छन्। त्यसबाट केही कमाइ हुन्छ, परिवार चलाउन त्यै भएर सहज भएको छ।’ जडीबुटीकै व्यापारबाट लुहारले कैलालीको बर्दगोरिया गाउँपालिकामा डेढ कट्टा जग्गा जोडेका छन्।

उनी भन्छन्, ‘पहाडमा जीवन चलाउन निकै कठिन छ, सहज जीवनयापनको खोजीमा व्यापारमा संलग्न भएका छौं। घडेरी जोडेर झोपडी बनाई परिवार यहाँ ल्याएर राखेका छौ।’

तीन दशकदेखि जडीबुटीकै व्यापारमा संलग्न कालीकोटको पलाँटा गाउँपालिका-३ लार्पाका हरिबहादुर रोकायाले महिनाको रु २५ हजार कमाउँछन्। यसबाटै उनको परिवारको खर्च चलेको छ। ‘उमेर ढल्कदै जान थाले पनि यस व्यापारबाटै जीविका चल्दै आएकाले छोड्न सकेको छैन’, उनले भने।\

पहाडी जिल्लाबाट जडीबुटी बोकेर तराईका जिल्ला पुगेर व्यापार गर्ने निकै छन्। हिउँदका बेला पहाडी क्षेत्रबाट आउने व्यापारीमध्ये केहीले जडीबुटी र केहीले कम्बल, राडी, पाखी, स्वेटर लगायतका न्यानो कपडाको व्यापार गर्छन्।

हिउँदको कात्तिक महिना तराई पुग्ने व्यापारीले वैशाख महिना सुरु हुनै लाग्दा आम्दानी गरेको पैसा बोकेर पहाडतर्फ फर्कने गरेका छन्। गतिलो कमाइ गर्नेले तराईमै घरघडेरी जोडेर तराईमै बस्न समेत थालेका छन्। पहाडबाट तराई झरेर व्यापार गर्ने कार्य दशकौंदेखि चल्दै आएको छ। बूढापाकाले परम्परागत रूपमा गर्दै आएको व्यापार थाती राखे पनि युवाले भने पिठ्यूँमा भारी बोकेर गाउँ-शहर चहार्दै गर्दै आएको व्यापार गर्न नरुचाउने गरेका छन्। युवा अरू व्यापार र सरकारी नोकरीमा आकर्षित भएका छन्। रासस

प्रकाशित: २२ मंसिर २०७९ ०५:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App