१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

एउटै गाउँमा पाँच करोडको सुन्तला

पाल्पाको सिमानासँग जोडिएको पाणिनी गाउँपालिका–१ मा पर्ने सिम्ले गाउँका किसान यतिबेला सुन्तला टिप्ने, दाना छनौट गर्ने, क्यारेटमा भर्ने र गाडीमा लोड गर्ने कार्यमा व्यस्त छन्। खेताला र ज्यालादारी मजदुर राखेरै उनीहरू सुन्तला स्याहारिरहेका छन्।

अन्य परम्परागत खेती छाडेर सुन्तला खेती गरेका सिम्लेका किसानको वर्षदिनको खेतिपाती स्याहार्ने बेला यही हो। सिम्लेका ४९ घरपरिवारले व्यावसायीक सुन्तला खेती गरिरहेका छन्। सुन्तला बगैंचा विस्तार, मलजल र राम्रो मौसमका कारण एकै गाउँ सिम्लेमा अहिले गत वर्षभन्दा धेरै सुन्तला उत्पादन भएको किसानले बताएका छन्। ‘अहिले असिनाले चुट्न पाएन, स्याहार सुसार पनि राम्रै भाथ्यो, स्थानीय किसान हरि पौडेलले भने, ‘गएको वर्षभन्दा यस वर्ष सुन्तला राम्रो फलेको छ।’

यो वर्ष मात्र एउटै गाउँमा ५ करोडको सुन्तला फलेको छ। उनीहरूले सुन्ताल बेचेर कम्तीमा ३ लाखदेखि २८ लाख रूपैयाँसम्म आम्दानी गर्ने गर्छन्। अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नम्बर–१, पटौटीको सिम्ले गाउँमा मात्रै पाँच करोडको सुन्तला फलेको हो। यस गाउँका झन्डै चार दर्जन घरपरिवार व्यावसायिक सुन्तला खेतीमा लागेको र सुन्तला खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको कृषक माधव पौडेलले बताए।

उनले आफ्नो बारीमा ५ सय २५ बोट सुन्तला रहेको र यसबाट ३ हजार किलोभन्दा बढी दाना फलेको बताए। ‘यस वर्ष सुन्तला बिक्रीबाट २५ देखि २८ लाख आम्दानी हुने देखेको छु, उनले भने, ‘सबैले सुन्तला बेचेरै कमाउँछन्, यहाँको आम्दानीको मुख्य स्रोत सुन्तला नै हो।’ अर्का कृषक दधिराम गौतमले बारीमा ५ सय ६५ बोट सुन्तला लगाएका छन्।

उनका अनुसार गत वर्ष सुन्तला बिक्रीबाट ९ लाख रूपैयाँ आम्दानी गरेको र यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएकाले १४ लाख रूपैयाँ आम्दानी हुने अपेक्षा रहेको छ।

विगतका वर्षहरूमा यहाँ उत्पादन भएका सुन्तला प्रतिकिलो ६० रूपैयाँ देखि ६५ रूपैयाँमा तानसेन, बुटबल र भैरहवाको बजारमा बिक्री गर्न बाध्य बनेका कृषकहरू यस वर्ष भने कोल्डस्टोर (शीत भण्डार) मा भण्डारण गरेर राख्ने योजनामा छन्। अहिले सुन्तला टिपेर सस्तोमा बेच्नुभन्दा कोल्डस्टोरमा राखेर बेमौसमा महँगो मूल्यमा बिक्री हुने भएपछि यहाँका कृषकहरू खुसी भएका छन्।

गाउँपालिकाले सुन्तलालाई लक्षित गरेर कोल्डस्टोर बनाएपछि किसान खुसी छन्। विगतका वर्षमा नष्ट भएर जाने सुन्तला अहिले कोल्डस्टोरमा राखेर अफ सिजनमा महँगो मूल्यमा बिक्री गर्न पाएपछि उनीहरूको चिन्ता कम भएको छ। अर्घाखाँचीको पाणिनि गाउँपालिकाको सिम्ले मात्र नभएर वडा नम्बर–२ पोखराथोक, वडा नम्बर-४ पटौटी र वडा नम्बर-५ मैदानमा पनि सुन्तला उत्पादन हुने गर्दछ। पाणिनि गाउँपालिकासँगै मालारानी गाउँपालिका, छत्रदेव गाउँपालिकाका विभिन्न स्थानमा सुन्तला खेती हुँदै आएको छ।

अर्घाखाँचीमा वार्षिक २५ करोडको सुन्तला उत्पादन हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ अर्घाखाँचीले जनाएको छ। बाध्यता र रहरले रोजगारीमा गएका युवाहरू पनि विदेशबाट फर्किएर व्यावसायिक सुन्तला खेतीमा लागेका छन्। वैदेशिक रोजगारीमा गएर पसिना बगाउनुभन्दा आफ्नै क्षेत्रमा परिश्रम गरेर आम्दानी गर्न सकिने सिम्लेका किसानहरूको धारणा छ।

प्रकाशित: २१ मंसिर २०७९ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App