१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

एनसेलले थाल्यो ई–सिम वितरण

एनसेलले ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ। यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।  

ई–सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो। यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ। यो भौतिक रूपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन। उपभोक्ता र व्यवसाय दुवै माझ कनेक्टेड डिभाइसहरूको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ।

आइफोन एक्सएस, आइफोन ११, आइफोन १२, आइफोन १३ र आइफोन १४ मा ई–सिमको सुविधा रहेको छ। यसै गरी सामसङको ग्यालेक्सी ए २१, ग्यालेक्सी ए २२ लगायतका मोबाइलमा ई–सिमको चल्ने सुविधा रहेको छ।

एनसेलका ग्राहकहरूले एसएमएस मार्फत अनुरोध पठाइ हाल प्रयोग भइरहेको सिमलाई ई–सिममा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ। यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्ने र सिम अपग्रेड गर्न कुनै शुल्क नलाग्ने कम्पनीले जनाएकोे छ।

प्रकाशित: ११ मंसिर २०७९ ०३:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App