७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

आइसीपी निर्माणमा ढिलाइ

नेपालगन्जमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आइसीपी)। तस्विर: गणेश/नागरिक

आगामी २०८० साल जेठसम्ममा काम सम्पन्न गर्नुपर्ने लक्ष्य तोकिएको नेपालगञ्जमा निर्माणाधीन एकीकृत भन्सार जाँच चौकी (आइसीपी) को काम अझै ४० प्रतिशत बाँकी रहेको पाइएको छ। २०७७ पुसदेखि निर्माणको काम सुरु गरिएको आइसीपीको २२ महिनामा ६० प्रतिशत काम मात्र सम्पन्न भएको छ। तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्न ७ महिनामा बाँकी ४० प्रतिशत काम सक्नुपर्नेछ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा निर्माणाधीन आइसीपीको निर्माणका लागि भारतको राजदीप ब्रिडकोम प्रालिले एक अर्ब ४७ करोड भारतीय रूपैयाँमा ठेक्का पाएको छ। नेपाल र भारत सरकारबीच १७ वर्षअघि भएको सम्झौताअनुसार भारतले उक्त आइसीपीको निर्माण सम्पन्न गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ। नेपालगञ्जसहित विराटनगर, वीरगञ्ज र भैरहवा नाकामा आइसीपी निर्माणका लागि भारत सरकारसँग सन् २००५ मा सहमति भएको थियो। विराटनगर र वीरगञ्जमा भने आइसीपी निर्माण गरी भारतले यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर विजय मण्डलिकले हालसम्म ६० प्रतिशत काम सम्पन्न हुनु राम्रो प्रगति भएको दाबी गरे। निर्माण समयमै सकिनेमा भने निर्माण कम्पनी पनि ढुक्क छैन। मण्डलिकले केही महिना थप लाग्न सक्ने संकेत गरे। सुरुआती चरणमा माटो भर्नुपर्ने भएकोले र कोरोनाका कारण काम प्रभावित भएकाले धेरै समय लागेको उनको भनाइ छ।  

‘अब माटो भर्ने काम लगभग सकिएको छ,’ उनले भने, ‘भवनलगायतका संरचना निर्माण करिब अन्तिम चरणमा पुगिसकेको छ। यस हिसाबले हामी काम समयमै सकिनेमा आशावादी छौं। बढी भयो भने एकदुई महिना थपिन सक्छ।’ मण्डलिकले अबको समय निर्माणका लागि उपयुक्त समय भएकाले द्रुतरूपमा काम हुने दाबी गरेका छन्।  

‘निर्माण सामग्री प्राप्तिमा कुनै समस्या छैन। अन्य कुनै अवरोध पनि छैनन्। अब मौसम पनि राम्रो सुरु भएको छ। त्यस कारण हामीलाई काम गर्न कुनै समस्या छैन,’ उनले भने।  

८७ बिघा जग्गामा आइसीपी निर्माण भइरहेको छ। अहिले डीपीआरमा रहेका भवन तथा सेडहरू निर्माण भइरहेका छन्। आइसीपीबाट मुख्य सडक जोड्ने दुई हजार दुई सय मिटर लम्बाइको लिंकरोड पनि निर्माण भइसकेको छ। अब मुख्य गरी भवनलगायतका संरचना निर्माण गर्न र पार्किङ तथा खुला क्षेत्रको निर्माण कार्य बाँकी छ। आइसीपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रणलगायत कार्यालय रहने छन्। जसले अहिले अव्यवस्थितरूपमा रहेको देशकै व्यस्तमध्येको एक नेपालगञ्ज भन्सारको सेवा सुधार हुने र राजस्व चुहावटमा कमी आउने अपेक्षा गरिएको छ। अहिले भन्सारको व्यवस्थित संरचना नहुँदा नेपालगञ्ज नाका अव्यवस्थित छ। ट्रक, ट्यांकर तथा कन्टेनरलगायतका मालवाहक साधन मुख्य सडकमै रोक्नुपर्ने अवस्था छ।

प्रकाशित: ११ मंसिर २०७९ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App