प्रदेश नम्बर १ को सरकारका उद्योग, श्रम तथा रोजगार मन्त्री प्रतापप्रकाश हाङगामले अबको समय घरेलु उद्यमका लागि केन्द्रित गर्ने बताएका छन्। आठौं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले आयोजना गरेको कार्यक्रममा बोल्दै हाङ्गामले उद्यम विकास र प्रवर्द्धनका लागि समय खर्चिने बताए।
‘अबको मेरो जीवन राजनीति र घरेलु उद्यममा केन्द्रित रहने छ’ हाङगामले भने। उनले घरेलु उद्यमले आत्मनिर्भर बनाउने कुरामा ढुक्क रहन आग्रह गर्दै उद्यम सृजना मार्फत परनिर्भरता तोड्ने प्रयत्नमा लागि रहेकाहरूलाई तीन तहका सरकारले सहयोग र प्रोत्साहन गर्नुपर्ने बताए।
नेकपा एसका नेता राजेन्द्रकुमार राई नेतृत्वको सरकारमा रहेका सरकारका मन्त्री हाङगामले आफूले सम्हालेको मन्त्रालय नयाँ रहेकाले मन्त्रालय व्यवस्थापन र नीतिगत प्रक्रियामै लामो समय व्यय भएका कारण आफूले अपेक्षा अनुसारको काम गर्न नपाए पनि आगामी पुस्ताले त्यसलाई निरन्तरता दिनुपर्ने समेत बताए। त्यो कार्यमा आफूले सल्लाह र निगारानी दुबै दिने उनको भनाइ थियो।
कार्यक्रममा जिल्ला उद्योग प्रवर्द्धन समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले उद्यम क्षेत्रको चक्रलाई श्रम, सीप र रोजगारीको रूपमा व्याख्या गरेका छन्। उनले घरेलु उद्योगलाई प्रवर्द्धन तथा बजारीकरण गर्न तीनै तहका सरकारको भूमिका हुने औंल्याए।
फुङलिङ नगरप्रमुुख अमिर मादेनले उद्यम र उद्यमीको क्षमता विकास र प्राप्त क्षमताको उचित प्रयोग गर्न प्रविधि हस्तान्तरण तथा उद्यम प्रवर्द्धन र उत्पादित सामग्रीको बजारीकरणमा स्थानीय सरकारले सघाउने विश्वास दिलाए।
घरेलु कार्यालय ताप्लेजुङले आफ्नो भवनका लागि जग्ग दान गर्ने दाताहरूलाई सम्मान समेत गरेको थियो। सम्मानित हुनेहरूमा जग्गादाताहरू क्रमशः सूर्यप्रसाद भट्टराई, धनमाया लिम्बू, हर्कबहादुर विश्वकर्मा र कुमार विश्वकर्मा रहेको घरेलु कार्यालय ताप्लेजुङका प्रमुख युवराज घोर्साईले जानकारी दिए।
प्रकाशित: ११ मंसिर २०७९ ०२:१० आइतबार