२१ मंसिर २०८२ आइतबार
image/svg+xml
अर्थ

वैदेशिक रोजगारीमा गएका १५ सयले ज्यान गुमाए

वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका नेपाली कामदारहरू आर्थिक वर्ष २०८१/८२ मा मात्रै एक हजार पाँच सय १७ जना पुगेका छन्। तीमध्ये वैदेशिक रोजगार बोर्डले एक वर्षमा एक हजार ८६ जनाको शव सम्बन्धित परिवारको घरमै पुर्‍याएको छ ।

आव २०८१/८२ मा हासिल गरिएको उपलब्धि तथा नयाँ कार्यक्रमबारे बिहीबार पत्रकार सम्मेलन गरी बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले आव २०८१/८२ मा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका चार सय ८१ जनाको शव बोर्डले विभिन्न देशबाट नेपाल झिकाएको बताए। ‘विभिन्न कारणले विदेशमा मृत्यु भएका तर शव नेपाल ल्याउन नसकिएका चार सय ८१ जनाको शव त्रिभुवन विमानस्थल ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गरेका छौ भने एक हजार ८६ जनाको शवको ऐम्बुलेन्स भाडा हामीले नै दिएर सम्बन्धित परिवारको घरमै पुर्‍याइदिएका छौ’, उनले भने।

उनका अनुसार बोर्डले सबै मृतकका परिवालाई आर्थिक सहायता प्रदान गर्ने गरेको छ। यसको लागि एक आर्थिक वर्षमा बोर्डले एक अर्ब २३ लाख रूपैयाँ खर्च गरेको छ।

वैदेशिक रोजगारको सिलसिलामा नेपाली कामदारको मृत्यु भए मृतकका परिवारका सदस्य तथा नजिकका हकदारलाई बोर्डले क्षतिपूर्ति दिने गरेको छ।

वैदेशिक रोजगार बोर्डले आव २०८१/८२ मा तीन हजार चार सय ३० विद्यार्थीलाई वैदेशिक रोजगार सन्तति छात्रवृत्ति प्रदान गरेको छ।

पत्रकार सम्मेलनमा गराइएका जानकारी अनुसार बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारबाट फर्केर आफैं रोजगारीमा होमिएका नेपाली नागरिकलाई सम्मान कार्यक्रम राख्ने भएको छ। यसैगरी बोडैले चालु आवमा वैदेशिक रोजगारीको विषयमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार २०८१ फागुनसम्म वैदेशिक रोजगारीमा जान नयाँ श्रम स्वीकृति लिनेको संख्या ६४ लाख ६१ हजार १९ पुगेको छ। यसमध्ये महिला ६.७ प्रतिशत र पुरुष ९३.३ प्रतिशत रहेका छन्। चालु आर्थिक वर्षको फागुनसम्म ४१ हजार ३२० महिला र दुई लाख ७५ हजार सात सय ४३ पुरुष गरी तीन लाख १७ हजार ६३ व्यक्तिले नयाँ श्रम स्वीकृति लिएका छन्।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको फागुनसम्म नवीकरणसहित नयाँ श्रम स्वीकृति लिनेको संख्या पाँच लाख ३४ हजार चार सय ७१ पुगेको छ। यसमध्ये महिला ११.३ प्रतिशत र पुरुष ८८.७ प्रतिशत रहेका छन्।

मन्त्रालयका अनुसार आव २०८१/८२ को फागुनसम्म इपिएस प्रणाली मार्फत् सात हजार ५०९ नेपाली कामदार दक्षिण कोरिया गएका छन्। यस्तो संख्या आर्थिक वर्ष २०८०/८१ मा १० हजार आठ सय ५५ रहेको थियो। सरकारी तहबाट वैदेशिक रोजगारीमा गएका नेपाली आप्रवासी कामदार र तिनका परिवारलाई लक्षित गरी विभिन्न कल्याणकारी कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

चालु आवको फागुनसम्म वैदेशिक रोजगारीको क्रममा शारीरिक रूपमा अंगभंग तथा बिरामी भएका कामदारको संख्या तीन सय १७ पुरुष र १९ महिला गरी तीन सय ३६ पुगेको छ। त्यस्ता कामदारले आर्थिक सहायता बापत १४ करोड ७४ लाख ८८ हजार रूपैयाँ प्राप्त गरेको मन्त्रालयको भनाइ छ।

संघ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा सुरक्षित आप्रवासन कार्यक्रम सञ्चालन भइरहेको छ। यो कार्यक्रम हाल चौथो चरणमा गरी ६८ जिल्लाका दुई सय ६७ स्थानीय तहमा सञ्चालनमा रहेको छ। यस कार्यक्रमबाट २०८१ फागुनसम्म चार लाख ५४ हजार दुई सय ३१ व्यक्तिले वैदेशिक रोजगारी सम्बन्धी सेवा प्राप्त गरेको मन्त्रालयले  जनाएको छ।

प्रकाशित: १६ श्रावण २०८२ ०९:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App